२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

भरतपुरमा पर्यटकीय सम्भावनाको खोजी

भरतपुर महानगरपालिकाले महानगरपालिकाले पर्यटनका सम्भावना खोजी गर्न आयोजना गरेको कार्यक्रममा सहभागी। तस्बिरः सविता/नागरिक

चितवन– भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन गुरुयोजना बनाउने तयारीमा महानगरपालिका रहेको छ। महानगरपालिकामा रहेका विभिन्न विशेषता र क्षेत्रलाई समेटेर अध्ययन र छलफल गरेर गुरुयोजना निर्माण गर्न महानगरपालिका जुटेको छ। पर्यटन क्षेत्रलाई पनि गुरुयोजनामा समेट्न महानगरपालिकाले छलफल चलाएको छ।

सोमबार महानगरपालिकामा ‘पर्यटनका सम्भावना र भावी कार्यदिशा’ विषयक कार्यक्रम गरेर महानगरपालिका क्षेत्रभित्र पर्यटकीय सम्भावनाबारे छलफल गरिएको हो। महानगरपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थल, पर्यटन सम्भावना, पर्यटनलाई विस्तार गर्न आवश्यक सुधार र थप गर्नुपर्ने विषयमा छलफल कार्यक्रम गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए। गुरुयोजनाअन्तर्गतका विषयगत योजना तय गरिने तयारी महानगरपालिकाले गरेको उनले जानकारी दिए। 

भरतपुर महानगरमा प्रसिद्ध धार्मिकस्थल देवघाट, गणेशधाम, बागेश्वरी पर्छन्। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका पर्यटकीय क्षेत्र पटिहानी, जगतपुर, मेघौली महानगरपालिकामा रहेका छन्। कसराको गोही प्रजनन् केन्द्र, निकुञ्जभित्र लाग्ने विक्रमबाबा मेला पनि प्रमुख रहेको छ। यस्तै, प्राकृतिक सुन्दरताले भरिएको गोलाघाट, ज्ञानेश्वर, नगर वन, बीसहजारी ताल, बाटुली पोखरी, राइनो ताल, रानीपोखरी पनि यहाँ रहेका छन्। धनगढा मन्दिर, महाबौद्ध गुम्बालगायत धार्मिक स्थलसमेत महानगरपालिकामा पर्छन्। 

ऐतिहासिक दियालो बंगला, चौकीडाँडा, कविलापुरगढीलाई समेत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको पर्यटन विज्ञ विश्व सुवेदी बताउँछन्। नेपालकै पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी, प्रांगारिक कृषि उत्पादक सहकारी, चितवन प्रदर्शनी केन्द्र समेत यहाँ रहेका छन्। यसले ‘एग्रो इको’ पर्यटनलाई समेत बढाउन सकिने सम्भावना रहेको उनले बताए । यसका लागि प्रांगारिक खेतीमा जोड दिनुपर्ने उनको भनाइ छ। 

महानगर क्षेत्रमा जल सफारीमा आधारित पर्यटनलाई पनि अगाडि ल्याउन सकिने प्रशस्त सम्भावना रहेको उनले बताए। ‘देवघाट–नारायणगढ–ज्ञानेश्वरहुँदै गोलाघाटसम्मको जलयात्रालाई प्राथमिकतामा राखेर जलयात्राका विविध क्रियाकलाप गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्छ।’ पर्यटन क्षेत्रको विस्तार गर्न नयाँ गन्तव्यस्थलको पहिचान र प्रवद्र्धन गर्नु आवश्यक रहेको उनले बताए। भरतपुर महानगरमा विमानस्थल, रिङरोड, लिंकरोड, हुलाकी मार्ग, पूर्व¬–पश्चिम मार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका लागि आवश्यक पूर्वाधार उपलब्ध रहेको उनी बताउँछन्।

पर्या–पर्यटन, वन्यजन्तु पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, औद्योगिक पर्यटन आदिको क्रमिक विकास भएको भरतपुर महानगर चीन र भारत जोड्ने ठोरी–केरुङ्ग मार्गको मुख्य केन्द्र पनि भएकाले यहाँ पर्यटकीय संभावना धेरै रहेको उनको भनाई छ।  संभावना धेरै भएर पनि सिमिति पर्यटकिय क्रियाकलाप भएका कारण यसलाई विस्तार गर्न जरुरी रहेको उनले बताए।

भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णु महतो पर्यटनलाई विस्तार गर्न पर्यटकको बसाई लम्ब्याउन ध्यान दिनुपर्ने बताउँछन्। यो सँगै पर्यटकलाई स्थानिय संस्कृति, भेषभुषा, खानपानको स्वाद पस्किनुपर्ने उनले बताए। ‘पर्यटकलाई बयल गाडामा गाउँ घुमाउने भनेर बयल गाडामा घुमाईन्छ’ उनी भन्छन् ।

प्रकाशित: १९ चैत्र २०७५ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App