९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

चार वर्षमा सक्नुपर्नेमा सात वर्ष

काठमाडौं – चार वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना सात वर्षमा मात्रै पूरा हुने भएको छ। यो वा त्यो बहानामा पटकपटक म्याद थपिँदै आएको उक्त आयोजनाबाट वैशाखको दोस्रो साता बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ।

सरकारकै मातहत रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको उक्त आयोजनाको सयम र लागत करिब दोब्बर भएको छ।  २०६८ वैशाखमा निर्माण सुरु भएको उक्त आयोजनको पहिलो युनिटबाट आगामी वैशाख १७ गतेदेखि बिजुली उत्पादन हुने भएको छ।

१२ करोड ५८ लाख डलर कुल लागत अनुमान गरिएको उक्त आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलित ऋणमा निर्माण भइरहेको छ। इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुबा ग्रुप अफ कम्पनिज (सिजिजिसी)स“ग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो।  १७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सिजिजिसीस“ग आठ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। 

विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायत कारणले आयोजनाको निर्माण ढिलो भएपछि म्याद १६ असार २०७३ सम्म थपिएको थियो। भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो। भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको थियो। भूकम्प र पहिरोले बा“ध स्थलको दाया“–वाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो। सरकारले  पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो।  

शुक्रबारबाट आयोजनाको बालुवा थिग्र्याउने पोखरीभन्दा बाहिर रहेका बाँध, त्यहाँ रहेका गेट लगायत संरचनाको परीक्षण भइरहेको प्राधिकरणको भनाइ छ। यो काम ११ चैत्रभित्र सक्ने समय तालिका तय गरिएको छ। त्यसपछि २ वैशाखसम्म बालुवा थिग्र्याउने पोखरी, मुख्य सुरुङ, लगायतका संरचनाको ड्राई तथा बेट टेस्ट गरिने छ। २ वैशाखपछि विद्युत्गृहमा रहेको जेनेरेटर लगायत उपकरण, पानी निकास सुरुङको ड्राई तथा वेट टेस्ट सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरण जडान र परीक्षण गर्ने काम भइरहेको छ,’ जोशीले भने, ‘प्रसारण लाइन पनि १७ वैशाखअगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं।’ 

आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ। मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ। कम्पनीसँग दुई करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। 

‘पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन्, विभिन्न समस्या झैल्दै आएको आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको निरन्तरको प्रयासबाट सम्पन्न हुने अवस्थामा पुगेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यसबाट एकातर्फ काठमाडौं उपत्यकाबाट नजिक रहेकाले यहाँको विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि आयोजनाको योगदान महत्वपूर्ण रहेको छ भने अर्कोतर्फ त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यका ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ।’ 

६० मेगावाटको आयोजनामा ३०–३० मेगावाटका दुईवटा युनिट छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केहीअघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए।

यो आयोजना रसुवा र नुवाकोटमा निर्माण भइरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्रमा विद्युत् उत्पादन सुरु गर्ने निर्णय गरेको हो। 

 

प्रकाशित: ६ चैत्र २०७५ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App