१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

‘विदेशी लगानीकर्ता जलविद्युत आयोजनामा लगानी गर्न लालायित’

काठमाडौं – दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। शुक्रबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गरेका हुन्। सो अवसरमा उपराष्ट्रपति पुनले लगानीमैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार गर्नुपर्ने बताए।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो। एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टलबाट जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिनेछन्। एक्स्पोको अवलोकनका क्रममा उपराष्ट्रपति पुनले सरकार, निजी क्षेत्र तथा विदेशी लगानीकर्ता जलविद्युत् आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छा शक्तिको खाँचो रहेको बताए। ‘हामी बिजुलीमा आत्मनिर्भर छैनौं। अर्बौं रुपैयाँको बिजुली आयात गरिरहेका छौं। सबैभन्दा पहिले हामी ऊर्जामा आत्मनिर्भर हुनुपर्छ,’ उनले भने, ‘आन्तरिक खपत भएपछि बाँकी भएको बिजुली निर्यात गर्ने सम्बन्धमा अहिलेदेखि नै सोच्नुपर्छ।’

विद्युत्को प्रयोगबाट इन्धन आयात विस्थापन गर्दै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने उनको तर्क थियो। ‘भान्छामा ग्यास होइन,  विद्युतीय चुलो बल्नुपर्छ, सडकमा विद्युतीय सवरी साधान चल्नुपर्छ,’ उपराष्ट्रपति पुनले भने। जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पो एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिङ ९० प्रतिशतले घटेकोमा विद्युत् प्राधिकरणको कुशल व्यवस्थापनको तारिफ गरेका थिए। केही उद्योगहरुमा अझै बिद्युत् अभाव रहेको भन्दै उनले केही वर्षमा नै भएको कायापलटबाट उत्साहित बनेको बताए। जलस्रोतमा निजी क्षेत्रको लगानी भिœयाउन सहज वातवरणको आवश्यकता औंल्याएका उनले निजी क्षेत्रको लगानीले मात्रै पनि देशको समृद्धिको सपना साकार पार्न सक्ने दाबी गरे।

नेतृत्व तहमा रहेकाहरुले पटकपटक निजी क्षेत्रसँगको सहकार्यको विषय महŒवपूर्ण रहेको भन्दै भाषण गरे पनि व्यवहारमा त्यस्तो नभएको गोल्छाको भनाइ थियो। ‘निजी क्षेत्रलाई विश्वास गर्ने वातावरण अझै पनि छैन। हाइड्रोपावर क्षेत्रमा भ्याट रिफन्डको व्यवस्था गरिएको छैन। जबकि चुरोट तथा मदिरा उद्योगले यही मुलुकमा भ्याट रिफन्ड पाउँछन्। यस्तो अवस्थामा हाइड्रो प्रोजेक्टमा निजी लगानी कसरी आकर्षित हुन सक्छ ? प्रोत्साहन गर्ने किसिमको वातावरण बन्नु पर्‍यो, लगानी गर्नेहरु पर्खिएर बसेका छन्,’ गोल्छाले भने।

जलविद्युत् आयोजनामा देखिएका स्थानीय सरकारका समस्या समाधान गर्ने सम्बन्धमा पनि पहलकदमी लिन उनले उपराष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराए। तीन दिनसम्म चल्ने एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्ट सप्लायर, लगानीकर्ता, बैंक तथा बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले एक्स्पोमा सहभागी विभिन्न मुलुकका लगानीकर्तालाई नेपालमा लगानी गर्ने उचित समय आएको भन्दै लगानी बढाउन आग्रह गरेका थिए। विश्वमा नेपाल जलस्रोतमा धनी मुलुक भएका कारण नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न उनले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएका थिए। यसका लागि सरकारले नीतिगत व्यवस्था गर्दै नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गराउनुपर्ने उनको भनाइ थियो।

‘जलविद्युत् क्षेत्रको सम्भावनालाई यथाशीघ्र रियलाइज गरौं। यो अरु उद्योगजस्तो नभई धेरै लगानी चाहिने उद्योग हो। सरकारले पनि यस्ता नीति बनाउन जरुरी छ, जुन नीतिमा टेकेर लगानीकर्ताले रिक्स लिन सकौं,’ अध्यक्ष शर्माको भनाइ थियो। कार्यक्रममा ऊर्जा समस्या समाधानमा रचनात्मक भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको छ। सम्मान ग्रहण गर्दै घिसिङले विद्युत्को मागलाई ध्यानमा राखेर काम गरिरहेको बताए। १५ मेगावाट सम्मको ट्रेकर प्रयोग गर्ने पोलिसीले आन्तरिक बजारलाई प्रवद्र्धन गरेको उनको भनाइ छ।

‘अहिले हामी तीन सय युनिट पर क्यापिटामा छौं भने पाँच वर्षभित्र सात सय युनिट, १० वर्षभित्र १५ सय युनिट पर क्यापिटा पुर्‍याउने सरकारको लक्ष्य अनुसार अघि बढिरहेका छौं। यसमा निजी क्षेत्रले दुई सयभन्दा बढी आयोजनाबाट पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम अघि बढेको छ,’ घिसिङले भने।

विद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एन्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिस्पर्धा र जलविद्युत् क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहने आयोजक संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। ‘सरकारको १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोले विभिन्न मुलुकका जलविद्युत् क्षेत्रका सरोकारवालालाई एकै छानामुनि भेला गराएको छ। यसले हामी उत्साहित बनेका छौं,’ उनले भने।

प्रकाशित: ६ माघ २०७५ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App