२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछापुछ्रे, युकेएड सक्षम र हेफर सम्झौता

काठमाडौं – माछापुछ्रे बैंक लिमिटेड, युकेएड सक्षम र हेफर इन्टरनेसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवासम्बन्धी संयुक्त सम्झौता भएको छ। सम्झौता अनुसार तिनै संस्थाले संयुक्त रुपमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकको जीवनस्तर सुधारका लागि सरलीकृत लघुकर्जा दिने छन्।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मा, युकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र हेफरका राष्ट्रिय निर्देशक शुभनारायण महतोेले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा सिइओ शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो सरलीकृत कर्जा दिने बताएका छन्। साथै, बैंकले कुल ४३ सय कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, तीन हजारको संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने बताइएको छ। त्यस्तै, बैंकले नेपालमै पहिलोपटक नौलो कर्जा सेवा ‘किसान क्रेडिट कार्ड’को सेवा प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

सक्षम युकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो। यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ।

हेफर इन्टरनेसनल नेपाल साना किसानको दिगो विकासमा अग्रणी भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रुपमा परिचित छ। हाल हेफरले विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा २२६ महिला उद्यमी सहकारीलाई कर्जा तथा वित्तमा पहुँच बढाउने उद्देश्यका साथ कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: २६ मंसिर २०७५ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App