२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालगन्ज विमानस्थलको स्तरोन्नति सुरु

नेपालगन्ज विमानस्थलमा ठूला जहाजको पार्किङस्थल निर्माण गरिँदै। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज - पश्चिम नेपालको सबैभन्दा बढी चाप हुने नेपालगन्ज विमानस्थलको स्तरोन्नति प्रक्रिया अघि बढेको छ । विमानस्थलमा ठूला जहाजका लागि पार्किङस्थल निर्माणको काम थालिएको हो । यहाँ दुई ठूला जहाजका लागिमात्र पार्किङस्थल छ।

बर्सेनि ठूला जहाजको उडान संख्या बढ्दै जान थालेपछि थप ६ वटा जहाज पार्किङ स्थल निर्माणको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएपछि यो विमानस्थलमा एकैचोटि आठवटा ठूला जहाज पार्किङ गर्न सकिनेछ।

‘अहिले एटिआर–७२ टाइपको ठूला जहाज दुईवटा मात्रै पार्किङ गर्न मिल्छ,’ उनले भने, ‘नयाँ निर्माण भएपछि यो एयरपोर्टमा एकैसाथ आठवटा जहाज पार्किङ गर्न सकिन्छ । भविष्यमा अन्तर्राष्ट्रिय उडानका लागि पनि धेरै राम्रो हुन्छ।’

नेपालगन्ज–काठमाडौं रुटमा अचेल ठूला जहाजको चाप अत्यधिक बढेका कारण विमानस्थलको स्तरोन्नति गरी पार्किङस्थल बढाउनुपरेको ठाकुरले प्रस्ट्याए। अचेल निजी र सरकारी गरी विभिन्न पाँचवटा हवाई कम्पनीले ठूला जहाजबाट नेपालगन्ज–काठमाडौं रुटमा दैनिक रुपमा उडान भर्छन्।

ठाकुरका अनुसार श्री एयरले दैनिक तीन, बुद्ध र यतिले २–२ तथा सौर्य र नेपाल एयरलाइन्सले १–१ वटा उडान भर्ने गरेका छन् । ठूला जहाज र यात्रुको चाप बढे पनि नेपालगन्ज विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन।

अहिलेसम्म दशकौंअघिको संरचना अनुसार विमानस्थल सञ्चालनमा छ। विमानस्थलमा नयाँ पार्किङस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेर पनि ठेकेदारले काम सुरु गरिसकेको छ । उक्त योजनाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बिहीबार शिलान्यास गरेका छन् । मन्त्री अधिकारीले तोकिएकै समयभित्र गुणस्तरीय काम हुनेमा आफू आशावादी रहेको बताए। विमानस्थलको काम एकदमै संवेदनशील भएको बताउँदै काममा विलम्ब नगर्न पनि उनले आग्रह गरे।

स्तरोन्नतिको लागि कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले २८ करोड ५३ लाखमा २०७५ असोज १५ गते ठेक्का सम्झौता गरेको हो। विमानस्थलको जहाज पार्किङस्थल निर्माण सम्पन्न गर्न १८ महिना समय दिइएको योजनाका इन्जिनियर योगेन्द्र शर्माले जानकारी दिए।

उनका अनुसार ठेकेदारले विमानस्थलको दक्षिणपश्चिम क्षेत्रमा तीन सय २० मिटर लम्बाइ र १९ मिटर चौडाइमा कालोपत्रे तथा तीन सय २० मिटर लम्बाइ र ६४ मिटर चौडाइमा ढलान गर्नुपर्नेछ । ठेकेदार कम्पनीका अध्यक्ष पूर्णबहादुर तामाङले तोकिएको समयअघि नै काम सम्पन्न गर्ने दाबी गरे । ‘सम्झौतालगत्तै काम सुरु गरिसकेका छौं; अहिले माटो कटान र पटान भइरहेको छ,’ उनले भने, ‘आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने हाम्रो लक्ष्य छ।’

ठूला जहाज पार्किङस्थलको क्षमता बढाएसँगै विमानस्थलको स्तरोन्नति स्वरुप आधुनिक टर्मिनल भवन पनि बनाउने योजना रहेको प्रमुख ठाकुरले बताए । ‘टर्मिनल भवन बनाउने योजना पनि छ, यसको लागि अध्ययन भइरहेको छ,’ उनले भने।

प्रकाशित: १६ कार्तिक २०७५ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App