२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अण्डाको मूल्य निर्धारण गर्ने निकाय नहुँदा समस्या

चितवन - उद्यमी व्यवसायीले विश्व अण्डा दिवस चितवनमा पनि मनाएका छन् । मुलुकमा कुुखुरापालनमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । नेपाल अण्डा उत्पादक संघ, केन्द्रीय समितिका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार ७० अर्ब लगानीमध्ये ५० प्रतिशत लेयर्स कखुरापालनमा छ । लेयर्स कुखुरा करिब ३५ लाखको संख्यामा पालिएका छन् । दैनिक करिब ३० लाख गोटा अण्डा उत्पादन भइरहेको अध्यक्ष कँडेल बताउँछन्।

‘व्यावसायिक कृषकको वृद्धिले देशका अरु स्थानमा पनि कुखुरापालन विस्तार भइरहेको छ,’ उनी भन्छन्, ‘दाङसहितका पहाडी जिल्लामा कुखुरापालन विस्तार भइरहेको छ ।’ चितवनमा दैनिक ११ लाख हाराहारी अण्डा उत्पादन भएको अध्यक्ष कँडेलले जानकारी दिए । लेयर्स चल्ला उत्पादन हेर्दा चितवनले ८० प्रतिशत हिस्सा ओगटेको छ।

उत्पादन राम्रो भए पनि  किसानले उत्पादन गरे अनुसार लागत मूल्य नपाउने समस्या रहेको उनी बताउँछन् । अण्डाको स्थिर मूल्य नहुँदा कुखुरापालन गरेर अण्डा उत्पादन गर्ने किसानलाई लागत मूल्य पाउन समेत अप्ठेरो हुने गरेको छ । समयसापेक्ष मूल्य कायम गरिए पनि व्यवसायीले अण्डा नउठाउँदा किसान कम मूल्यमा बेच्न बाध्य हुने गरेको उनको भनाइ छ । अहिले अण्डा उत्पादक संघले अण्डाको दर तोक्ने गर्छ । ‘संघले बजारको अध्ययन गरेर मूल्य तोक्छ,’ उनी भन्छन्, ‘रकम वृद्धि हुँदा व्यवसायीले किसानको अण्डा नउठाइदिने समस्या हुन्छ।’

लामो समय स्टोर गरेर राख्न नसकिने भएकाले अण्डा उठाउने व्यवसायीले भनेको मूल्यमा बेच्नु किसानको बाध्यता भएको उनले बताए । संघले तोकेको दररेट निरन्तर घटबढ हुन्छ । समग्रमा हेर्दा किसानले लागत अनुसारको मूल्य पाउन नसकिराखेको अध्यक्ष कँडेलले बताए । मूल्य निर्धारण गर्ने निकाय नभएकाले सरकारी निकायबाट मूल्य निर्धारण गरिदिने नीतिगत व्यवस्था गरिनुपर्ने उनी बताउँछन्।

देशभर करिब २५ सय किसानले लेयर्स कुखुरा पालेका छन् । चितवनमा करिब आठ सयले लेयर्स कुखुरा पालेको उनले जानकारी दिए । उत्पादन गरिएको अण्डाको ७० प्रतिशत बजार काठमाडौं केन्द्रित छ । विश्व अण्डा दिवसको अवसरमा अण्डा उत्पादक संघले भरतपुर अस्पतालका बिरामी, कुरुवा र भरतपुर कारागारमा रहेका कैदी बन्दीलाई अण्डा वितरण गरेको छ।

अण्डा पौष्टिक र स्वास्थ्यवद्र्धक खानेकुरा भएको भरतपुर अस्पतालका फिजिसियन कन्सल्ट्यान्ट डा. भोजराज अधिकारी बताउँछन् । मानिसको शरीरलाई अत्यावश्यक कार्बोहाइड्रेड, प्रोटिन र फ्याट सबै आवश्यक मात्रामा अण्डामा हुने उनले बताए । ‘सबै चिज एकै ठाउँमा भएको सानो आकारको खानेकुरा अण्डा हो,’ उनी भन्छन्, ‘६० देखि ८० ग्रामको अण्डा दैनिक खानु शरीर स्वस्थ राख्नु हो।’

अण्डामा शरीर बनाउन आवश्यक पर्ने प्रोटिन हुने उनी बताउँछन् । मानिसको स्वास्थ्यको हिसाबले अरु विकल्प नभएको रिफरेन्स प्रोटिनका रुपमा अण्डा मात्र रहेको उनले जानकारी दिए । शरीरलाई दैनिक ३०० एमजी कोलस्ट्रोल चाहिनेमा अण्डामा मात्रै २०० एमजी हुने भएकाले पनि उपयुक्त रहेको उनले बताए । ‘अण्डाको पँहेलो भाग पनि खान हुन्छ, हालै चीनमा गरिएको अध्ययनमा अण्डाको पहेँलो भागमा पाइने कोलिन दाभदायक प्रमाणित भएको छ।’

गर्भवती, बच्चा भएका महिलालाई प्रोटिनको लागि पनि अण्डा खुवाउनुपर्ने उनको सुझाव छ । घाउ चाँडो निको बनाउने काम पनि अण्डामा पाइने प्रोटिनले गर्छ । सेलेनियम, जिन, कपर जस्ता माइक्रो न्युट्रिसन पनि अण्डामा हुने फिजिसियन कन्सल्ट्यान्ट डा. अधिकारीले बताए ।  पाँच वर्षभन्दा कम उमेरका बच्चामा भने केहीलाई अण्डाले एलर्जी गराउन सक्ने उनले बताए । बच्चालाई अण्डा खुवाउँदा त्यसको एलर्जी आएको हो कि होइन भनेर ध्यान दिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: २८ आश्विन २०७५ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App