२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजबाट दसैंका नोट साटिने

काठमाडौं - विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आज (आइतबार) बाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो।

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए।

५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ पाउने।

राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । पोहोर झैं यस वर्ष पनि केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था मिलाएको छ।

त्यसैगरी, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ । सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीनवटा बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको निरौलाले बताए । भीड कम होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

यस वर्ष राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ । साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । ती ठाउँबाट पनि अधिकतम प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था गरिएको छ।

दसैंमा संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा नयाँ नोट साटने व्यवस्था मिलाइएको छ । मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट समेत नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट साट्न पाइनेछ । राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ।

विगतमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट नयाँ नोट साटेर ग्राहकलाई वितरण गरेका थिए । यसपटक पनि त्यस्तो व्यवस्था गर्ने एक बैंकरले जानकारी दिए।

दसैंमा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई मात्र नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएबापत अतिरिक्त आम्दानी हुँदैन तर उनीहरुले सुमधुर सम्बन्धका लागि नयाँ नोट साटिदिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन्।

नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: २१ आश्विन २०७५ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App