पाँचथर - पहाडको ‘कालो सुन’ भनेर परिचय बनाएको नगदेबाली अलैंचीको नयाँ उत्पादन सुरु भएको छ। तर राम्रो मूल्य पर्खिदै बसेका किसानले अझैसम्म गत वर्ष उत्पादन गरेको अलैंची बिक्री गरेका छैनन्। राम्रो मूल्य कुर्दाकुर्दै नयाँ उत्पादनको सिजन सुरु भएकाले किसान निराश हुँदै गएका छन्।
‘मूल्यले गर्दा हामी किसानहरु निराश बन्दै गएका छौं। पोहोरकै अलैंची भाँउ कुर्दाकुर्दै घरमै थन्किएको छ,’ फालेलुङ गाउँपालिकाका अलैंची किसान पदम रिजालले भने, ‘प्रतिमन (४० केजी) एक लाख २० हजारमा बेचेको अलैंची अहिले २५ हजारमा झरेको छ।’ उत्साहका साथ गरिएको खेतीबाट प्राप्त उत्पादनले मूल्य नपाउँदा समस्या भएको उनको भनाइ छ। ‘हाम्रो क्षेत्रमा परिवार चलाउने, नानीहरु पढाउने माध्यम नै यही हो,’ उनी भन्छन्, ‘अरु खेती छाडेर अलैंची खेतीतिर मात्र लागेकाहरु पनि धेरै छौं। पछिल्ला वर्ष अलैंचीको मूल्यमा आएको घटबढले समस्या पारेको छ।’
रिजालले भने जस्तै निराशा प्रदेश १ का पहाडी जिल्लाका अलैंची किसानमा पनि छ। नेपालमा उत्पादनको हिसाबले महत्वपूर्ण मानिने प्रदेश १ का जिल्लाका किसान मूल्यको मारमा परेको बताउँछन्। नेपालबाट निर्यात हुने प्रमुख कृषि उपजमा अलैंची पर्छ भने यहाँको मुख्य नगदेबालीको रुपमा समेत रहेको छ। केही दिन अलैंचीको मूल्यमा सुधार हुने संकेत देखिएको भनेर प्रचार गरिए पनि त्यस्तो हुन सकेन। नेपाली अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालका अनुसार शुक्रबार प्रतिमन २६ देखि ३० हजार रुपैयाँमा बिक्री भएको छ । केही दिनअघि ३४ हजार प्रतिमन अलैंची बिक्री भएको थियो । फेरि अलैंचीको मूल्य घटेको छ । अघिल्लो सिजनको सुरुवातमा प्रतिमन ४४ हजार मूल्यसम्ममा अलैंचीको कारोबार भएको थियो। केही वर्षअघि अलैंचीको मूल्य प्रतिमन एक लाख २० हजारसम्म पुगेको थियो । अघिल्लो सिजनदेखि अलैंचीको मूल्यमा स्वाट्टै गिरावट भएको छ। पाँचथर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका नेपालले भने, ‘भारतीय बजारले मूल्य निर्धारण गर्छ। यो पल्टअलैंचीको मूल्य यस्तै होला जस्तो छ।’
केही दिन मूल्य बढ्न खोजेपछि पुनः घटेको छ। मूल्य बढ्छ कि भन्ने आश हुँदाहुदै फेरि घटेको कृषक रिजाल बताउँछन् । कमाइ हुने आशाको बालीबाट निरास हुनु परेको उनले बताए । यसले युवा पुस्तालाई समेत कृषि पेसाबाट विस्थापित गर्दै छ। बिचौलियाको समेत मार परेकाले सिधै बजारसँग किसानको सम्बन्ध स्थापना गर्नका लागि पहल आवश्यक रहेको उनले बताए।
कृषि विकास मन्त्रालयको तथ्यांक हेर्ने हो भने नेपालको १२ हजार पाँच सय आठ हेक्टरबाट अलैंची उत्पादन भइरहेको छ । ६ हजार पाँच सय २१ मेट्रिक टन अलैंची उत्पादन हुने तथ्यांक रहेको छ। अलैंची विकास आयोजना फिक्कलका प्रमुख पदम अधिकारीका अनुसार सबैभन्दा धेरै अलैंची ताप्लेजुङमा हुन्छ । क्रमशः संखुवासभा, पाँचथर, इलाममा धेरै अलैंची उत्पादन हुन्छ । ताप्लेजुङमा चार हजार एक सय ५०, संखुवासभामा दुई हजार दुई सय, पाँचथरमा एक हजार सात सय ३७ हेक्टर र इलाममा एक हजार दुई सय हेक्टरमा अलैंची उत्पादन हुने तथ्यांक रहेको छ । प्रदेश १ का भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम लगायत जिल्लामा अलैंची खेतीमा किसान लागेका छन् । देशभरका ५१ जिल्लामा अलैंची खेती हुने गरेको अधिकारी बताउँछन् । ‘अलैंची खेतीमा विस्तार भइरहेको छ। पूर्वबाट पश्चिम क्षेत्र खेती विस्तार भएको पाइन्छ । केही वर्ष रोग किराले सताएपछि पछिल्ला वर्षहरुमा उत्पादन वृद्धि हुने संकेत छ । तर मूल्य नहुँदा किसानमा निरासा छाएको छ,’ अधिकारीले भने।
न्यूनतम सामथ्र्य मूल्य निर्धारण नहुँदा समस्या हुने गरेको किसान बताउँछन्। उत्पादन किसानले गर्ने, भाउ व्यापारीले निर्धारण गर्ने हुँदा समस्या भएको भन्दै किसानले पटक–पटक आयोजना हुने कार्यशालामा उठाउने गरेका छन् । प्रतिमन ५० हजारदेखि माथि अलैंची बिक्री हुनसके किसान समस्यामा नपर्ने बताउने गरिएको छ । विगतमा अलैंची खेतीले किसान र व्यापारीले ठूलो प्रगति गरेका थिए । खेतहरु मासेर अलैंची खेती गरेको पाइन्छ । पहाडको ओसिलो, खोल्साखोल्सी जग्गामा अलैंची खेती हुने गर्छ । अलैंचीको पुरानो झ्याङबाट बिरुवा निकालेर तथा नर्सरीबाट बिरुवा उत्पादन हुन्छ। समुद्र सतहदेखि दुई हजार एक सय मिटरसम्म अलैंची खेती हुुुने गरेको कृषि प्राविधिक अम्बिका लुइँटेल बताउँछन्। उनका अनुसार रामशाही, गोलशाही, डम्बरशाही, चिवे, साउनेलगायत जातका अलैंची खेती हुने गरेको छ।
मूल्यमा निरन्तर गिरावट हुने गरेकाले सरकारले तेस्रो मुलुकमा बजार खोजी दिनुपर्ने किसानको माग रहेको छ। अलैंचीलाई नै मुख्य आधार बनाउने धेरै भएकाले मूल्यको निरन्तर घटबडले समस्या पार्ने गरेको याङवरक गाउँपालिकाका कृषक तेजु राईले बताए । वैकल्पिक बजार खोज्नुपर्ने उनीहरुको माग छ। भदौको पहिलोसाता देखि उचाईअनुसार कार्तिकसम्म अलैंची टिप्ने काम हुन्छ।
प्रकाशित: १७ भाद्र २०७५ ०६:०८ आइतबार