४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

वित्तीय साक्षरता कक्षापछि तरकारी खेतीमा संलग्न दिक्तेल आचार्य टोलकी मुना बास्तोला। तस्बिर : दमन/नागरिक

खोटाङ - विदेश पुगेका छोराले पसिना बगाएर जोगाएको पैसा पठाउँथे। तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी गीता आचार्यलाई विदेशबाट आउने रेमिटेन्स उत्पादनमूलक काममा लगाउने वित्तीय ज्ञानको अभाव थियो। योजनावद्ध खर्च गर्ने र बचत गर्ने ज्ञानको अभावमा हात परेको रेमिटेन्स घरखर्चमै सकिन्थ्यो। तर, गाउँमै सञ्चालन भएको २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी हुने अवसर पाएपछि भने छोराले पठाएको रेमिटेन्स उचित क्षेत्रमा लगानी गर्ने क्षमता विकास भएको गीताले बताइन्। वित्तीय साक्षरताकै ज्ञानका कारण गीताले हाल रेमिटेन्स जोगाएर तरकारी खेती लगाएकी छन्। उत्पादित तरकारी दिक्तेलमै लाग्ने साप्ताहिक हाटमा बिक्री गर्ने गरिएको गीता बताउँछिन्। ‘विदेशबाट आउने पैसालाई बचत गर्दै आयआर्जनका क्षेत्रमा खर्च गरेर दिगो आम्दानीको सोतकारुपमा सदुपयोग गर्ने सीप सिक्यौं,’ उनले भनिन्, ‘पहिला घरबाट पैसा लिएर बजार जान्थ्यौं, अहिले सागसब्जी बिक्री गरेर बजारबाट पैसा लिएर आउँछौं।’

वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि विदेशबाट हात परेको विप्रेषणको आम्दानी र खर्चको हिसाब राख्ने, बचत गर्ने तथा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने उपायबारे जानकारी भएको दिक्तेल आचार्य टोलकी रेनुका आचार्यले बताइन्। ‘पहिला लुटो ल्यायो भुटो खायो गथ्र्यौं, अहिले श्रीमानले विदेशबाट पठाएको पैसालाई बचत गर्ने बानीको विकास भएको छ। तरकारी खेती, खसी बाख्रापालन सुरु गरेका छौं।’

गाउँमा वित्तीय साक्षरता कक्षा चलाइएपछि वैदेशिक रोजगारीमा संलग्न आचार्य टोलका २६ परिवारले रेमिटेन्सलाई किराना पसल, तरकारी खेती, कुखुरा, बाख्रापालनलगायत उत्पादनमूलक काममा लगाउन थालेका छन्। बचत, ऋण, बजेट, आम्दानी, खर्च एवं विप्रेषणका विषयमा जानकारी भएपछि अधिकांश महिला गोलभेंडा, सिमी, बोडी, काँक्रा, फर्सी, खुर्सानीलगायत कृषिजन्य खेतीबाट गाउँमै स्वरोजगार बनेका छन्। साउदीमा श्रीमानले कमाएको थोरै रकमको लगानीमा स्थानीय दिपा आचार्यले बेमौसमी मुला खेतीबाट मात्रै ४५ हजार आम्दानी गरेको बताइन् । वर्ष दिनदेखि दुबईमा श्रीमान टिकाराम रिजालले पसिना बगाइरहेका बेला गाउँमा श्रीमती अनिता रिजाल टनेलभित्र गोलभेंडा, सिमी, फर्सीलगायत खेतीमा रमाइरहेकी छन्। विदेशबाट आउने रकमको उचित क्षेत्रमा प्रयोग हुन नसक्दा निम्तिइरहेका पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्यालाई ध्यानमा राखेर सुरक्षित आप्रवासन परियोजना र बालसेवा समाज नेपालको सहकार्यमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो । वित्तीय साक्षरता कक्षापछि उनीहरुले विदेशबाट भित्रिएको रेमिटेन्स र अन्य स्रोतबाट आएको रकमको दैनिक हिसाब–किताब पासबुकमै लेखेर राख्न थालेका छन्।

वैदेशिक रोजगारमा संलग्न महिलालाई आत्मनिर्भर बन्ने उपाय, परिवार व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण, बजेटको परिचय, विप्रेषणको परिचय, बचतको उपाय र तरिका, व्यावसायिक योजना, आर्थिक समृद्धि प्राप्तिका लागि वित्तीय अनुशासनलगायत विषयमा जानकारी गराइएको साक्षरता कक्षाका सहजकर्ता मिनप्रसाद आचार्यले बताए। ‘वैदेशिक रोजगारीमा संलग्न परिवारलाई बचत, ऋण, बजेट, आम्दानी, खर्च एवं विप्रेषणबारे जानकारी दिइएको छ,’ आचार्यले भने, ‘हात परेको विप्रेषणलाई संरक्षण एवं त्यसलाई उत्पादनमूलक लगानीमा प्रयोग गर्ने ज्ञान सबैमा हुन जरुरी छ।’

प्रकाशित: १७ भाद्र २०७५ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App