२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

गाँठो फुकाउने उपयुक्त अवसर

काठमाडौं – बिमस्टेक सम्मेलन भारत सरकारको अवरोधले डेढ वर्षदेखि रोकिएका नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ताव राख्ने उपयुक्त अवसर भएको व्यवसायीले बताएका छन्।  

भारतीय प्रधानमन्त्री मोदी बुधबार बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउँदै छन् । यही अवसरलाई छोपेर प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास बुलेट सञ्चालनका लागि वार्ता गर्नुपर्ने व्यवसायीको आग्रह छ। 

बिमस्टेक सम्मेलन यस्तो वार्ताका लागि उपयुक्त थलो होइन । तर, यही अवसर छोपेर प्रधानमन्त्री ओलीले मोदीसँग कुरा गरे निष्कर्ष निस्कन सक्नेमा व्यवसायी आशावादी छन् । बुलेट खरिदमा नेपाली व्यवसायीको अर्बौं रुपैयाँ लगानी परेको छ । यसैले पनि प्रधानमन्त्री ओलीले यो मौकालाई सदुपयोग गर्नुपर्ने व्यवसायीको आग्रह छ।

नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार यसअघि पनि दुई देशका प्रधानमन्त्रीबीचको छलफलमा ग्यास बुलेटको विषय प्रवेश भएको थियो । अहिले भारतीय प्रधानमन्त्रीको नेपाल आगमनका बेला ओलीले कुरा राख्ने उपयुक्त अवसर हुन सक्छ। 

उनका अनुसार यसै साता ग्यास उद्योगीले प्रधानमन्त्री ओलीलाई भेटेर बुलेट सञ्चालनको वातावरण मिलाउन आग्रह पनि गरेका छन् । अहिले नेपाल र भारतका प्रधानमन्त्रीबीच दुईपक्षीय भेटवार्ता हुन्छ । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको विषयमा सम्झौता हुँदैछ । ‘दुवै देशका प्रधानमन्त्री यो विषयमा जानकार हुनुहुन्छ,’ भण्डारीले भने, ‘दुई पक्षको भेटमा छलफल होस् भन्ने हाम्रो अपेक्षा हो।’

बुलेट सञ्चालनको विषय दुई सरकारबीच प्रवेश गरेकाले आफ्नो तहमा नभएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘सरकारको उच्च तहमा पटक–पटक छलफल भएको छ,’ उनले भने।

अहिलेसम्म भारतीय ग्यास बुलेटले खाना पकाउने ग्यास ढुवानी गर्दै आएकोमा भारतीय परनिर्भरता हटाउन सरकारले नेपाली बुलेट सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारकै निर्णय अनुसार नेपाल आयल निगमले सात सय ७५ बुलेट सञ्चालनको लागि अनुमति दिएको थियो । बुलेट आयातमा सरकारले ६६ प्रतिशत भन्सार छुट दिएपछि उद्योगीले नेपाली नम्बर प्लेटका बुलेट खरिद गरेका थिए।

बुलेट खरिद गरे पनि भारतीय पक्षले एक्प्लोसिभ सर्टिफिकेट नदिएको कारण सञ्चालनमा आउन सकेका छैनन् । नेपालको सबै कानुनी प्रक्रिया पुर्याएर भारतीय दूतावासको समेत सिफारिसमा अनुमति माग गरे पनि सर्टिफिकेट नदिएर भारतीय पक्षले अड्काएको छ । यसअघि प्रधानमन्त्री केपी ओली र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला समेत यो विषयमा छलफल भए पनि गाँठो फुकेको छैन।

बुलेट खरिदमा ग्यास उद्योगीको अर्बौं रुपैयाँ लगानी भइसकेकाले बैंकको व्याज तिर्न कठिन भएको ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए । ‘पटक–पटक प्रधानमन्त्रीलाई पनि आग्रह गरेका छौं,’ घिमिरेले भने, ‘विभिन्न बहाना बनाएर अनुमति रोकिएको छ।’ 

व्यवसायीले आयल निगमबाट सात सय ७५ बुलेट सञ्चालनको लागि अनुमति पाएकोमा ५३ वटा बुलेट तयार भइसकेको घिमिरले बताए । सहारा, एभरेस्ट, सुगम, गृहलक्ष्मी, मेची, कन्काई, पराजुली लगायत ग्यास कम्पनीले बुलेट तयार गरिसकेको उनले बताए । ‘चार सय नौ गाडी सिप्रदीसँग बुक भएको छ,’ घिमिरेले भने।

‘एक्स्प्लोसिभ’ प्रमाणीकरण भएपछिमात्र आइओसीका रिफाइनरीमा पेट्रोलियम पदार्थ र एलपिजी ग्यासको लोड दिने कानुनी प्रावधान छ । नेपालमा ग्यास ढुवानी गरिरहेका भारतीय ट्रान्सपोर्टरको दबाबमा भारतीय अधिकारीले प्रमाणित रोकेका हुन् । करिब ६ सय ग्यास बुलेटले भारतका विभिन्न रिफाइनरीबाट ग्यास ढुवानी गरेर वार्षिक करिब दुई अर्ब रुपैयाँभन्दा धेरै लैजाने गरेका छन्। 

नेपाली बुलेटले ढुवानी गर्न सुरु भएपछि उनीको व्यवसाय गुम्ने भएपछि सरकारी अधिकारीलाई प्रभावमा पारेर रोकेको नेपाली पक्षको बुझाइ छ । ढुवानी अनुमतिको लागि आयल निगमसहित आपूर्ति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारतको सम्बन्धित निकायलाई पटक–पटक पत्राचार गरिसकेको छ । ग्यास बुलेट भारतकै मापदण्ड अनुसार भारतीय कम्पनीले नै तयार गरेका हुन् । ‘भारतकै स्ट्यान्डर्ड अनुसार भारतीय लाइसेन्सहोल्डर कम्पनीले बुलेट बनाएको हो,’ पूर्वअध्यक्ष घिमिरेले भने, ‘नेपाली बुलेट रोक्नुपर्ने कुनै कारण छैन ।’  भारतीय अधिकारीले हुन्छ भन्दै विभिन्न बहाना बनाएर झुलाइरहेका छन् । ‘प्राविधिक विषय भन्दै अड्काइरहेको छन्,’ घिमिरेले भने । करोडौं लगानी गरेका बुलेटले ढुवानीको लागि अनुमति नपाउँदा व्यवसायी अन्योलमा छन्।

एक्प्लोसिभ प्रमाण पत्र ग्यास बुलेटमात्र नभएर पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरले पनि लिनुपर्छ । डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकरले सोही प्रावधान अनुसार ‘एक्स्प्लोसिभ’ प्रमाणित’ अनुमति लिएर ढुवानी गरिरहेका छन् । एक पटक अनुमति लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ।

भारतका पारदीप, हल्दिया, बरौनी, पानीपथलगायत रिफाइनरीबाट ग्यास ल्याउने गरेको छ । नेपालमा मासिक करिब ३० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । हरेक वर्ष ग्यासको खपत १८ देखि २० प्रतिशत वृद्धि हुँदै गएको निगमले जनाएको छ । ग्यास ढुवानीमा नेपाली बुलेट नहुँदा भारतीय ट्रान्सपोर्टरले समय–समयमा दुख दिने गरेका छन् । ४२ वर्ष अघिदेखि ग्यास प्रयोग गर्न थालेको भए पनि अहिलेसम्म भारतीय बुलेटलेनै ढुवानीगर्दै आएका थिए। 

प्रकाशित: १३ भाद्र २०७५ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App