१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बर्सेनि अर्बौं लगानी, प्रतिफल निराशाजनक

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको हेड वक्र्स र दायाँ मुल नहर । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज - सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो ।

२०६३ सालबाट बाँकेमा निर्माण कार्य सुरु भएको आयोजना दु्रत गतिले अघि बढेको भए, दुई वर्षअघि नै किसानको खेतबारीमा सिँचाइ सुविधा पुग्थ्यो । सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समयसम्म रह्यो । यसले गर्दा सिक्टाले लक्ष्य अनुसार प्रतिफल प्राप्त गर्न सकेको छैन।

राष्ट्रिय गौरवको यो आयोजनालाई सबै पक्षबाट निर्माण सुरु नगर्दा समयमा आयोजना सम्पन्न हुन नसकेको हो । हेड वक्स्, मूल नहरसँगै शाखा र प्रशाखा नहरहरु र पानी बढी हुँदा फ्याँक्ने नहरहरुको निर्माण एक साथ सुरु गरेको भए अहिलेसम्म किसानका खेत–खेतमा सिँचाइ पुग्ने थियो । आयोजनाको जिम्मा लिएका अधिकारीले सिँचाइको हेडवक्र्स र मूल नहर बन्दासमेत शाखा र प्रशाखा नहर बनाउन सुरु गरेका छैनन् । सरकारी अधिकारीको यो लापरबाहीले किसानले सिँचाइ नपाएका मात्र होइनन् सरकारको लगानी पनि बढिरहेको छ।

२०६३ सालमा निर्माण सुरु भएको आयोजनाको ४२.२५० किलोमिटर पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमी पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ । सुरुको लक्ष्य अनुसार झन्डै १२ अर्ब रुपैयाँ लागतमा आयोजना सम्पन्न हुने अनुमान थियो।

तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७६-७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने अठोट लिएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । आयोजना सम्पन्न हुने समय आउन करिब एक वर्ष बाँकी रहँदा सिक्टाको काम करिब ६० प्रतिशत मात्रै सम्पन्न भएको कार्यालयले जनाएको छ ।सिक्टामा लागेको लगानी करिब १५ अर्ब पुगिसक्दा पनि अहिलेसम्म प्रतिफल प्राप्त भएको छैन । आयोजना कार्यालय मूल नहर निर्माणको काममै अल्झिरहेको छ । आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम अन्योलमा छ।

दुई वर्षअघि हेडवक्र्समा जडान भएको गेट सिँचाइ कार्यका लागि अहिलेसम्म उपयोगमा आउन सकेको छैन । सिक्टामा सरकारले गरेको लगानी अनुसार प्रतिफल दिन नसकेको बाँकेका किसान बताउँछन् । खजुरा गाउँपालिका वडा नम्बर–२ का किसान गेहेन्द्र धितालले बर्षौंदेखि सिक्टाको काम लम्बिदै जाँदा अन्योल छाएको बताए । ‘सिँचाइ सुविधा नहुँदा हाम्रा खेतबारी बाँझै छन्,’ उनले भने ‘सिक्टाको पानी अहिलेसम्म किसानको खेतबारीमा पुगेको छैन, पानी आउला भनेर विश्वास लाग्न पनि छाडिसक्यो ।’ परीक्षण गर्ने क्रममै नहर भत्किन थालेपछि सिक्टा सिँचाइ आयोजना दिर्घकालसम्म टिक्नेमा धितालको शंका छ । आयोजना कार्यालयका अनुसार पश्चिम मूल नहरमा बन्ने सातवटा शाखा नहर निर्माणको काम अलपत्र अवस्थामा छन् । सिधनिया शाखा नहर निर्माणको काम दुई वर्षदेखि अलपत्र छ।

ठेकेदारले उक्त शाखामा ८० प्रतिशत काम सम्पन्न गरिसकेको कर्मचारीको दाबी छ । यस्तै पर्सेनीपुर, गहावा, अक्कल घरुवा र पेडारी शाखा निर्माणका लागि हालै ठेक्का सम्झौता गरिएको छ । पश्चिम मूल नहरको गुरुवा गाउँ र थपुवा गाउँ नहर निर्माणका लागि ठेक्का सम्झौता नै भएको छैन । २०२० सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको डुडुवा नहरलाई सिक्टाको शाखाको रुपमा मिलाउने आयोजना कार्यालयको सोच छ । मूल नहर र शाखा नहर निर्माणमै आयोजना कार्यालय अल्झिएपछि उपशाखा नहर बन्ने त झन् अनिश्चित जस्तै देखिएको छ।

आठ हजार चार सय ५५ क्युमेक्स क्षमताको हेड वक्र्समा कुल १८ वटा गेट दुई वर्षअघि जडान गरिएको छ । सिक्टाको कुल ४२.२५० किलोमिटर पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि परीक्षण गर्दा पटक–पटक भत्किन थालेको छ । उक्त नहरको हेड वक्र्सदेखि १७.७ किलोमिटरसम्मको पहिलो खण्ड मात्र हस्तान्तरण प्रक्रियामा आएको कार्यालयले जनाएको छ।

पटक–पटक भत्किने गरेको मूल नहरको १७.७ किलोमिटरदेखि ३५ किलोमिटरसम्मको दोस्रो खण्ड विवादित बन्न पुगेको छ । गत वर्ष २०७४ साउन १० मा ठेकेदार ‘कुमार कालिका जेभी’सँग सम्झौता भएको पूर्वी (बायाँ) मूल नहरको काम निकै सुस्त गतिमा चलिरहेको छ । २०७६ कात्तिक २५ गतेसम्म सम्पन्न गर्ने गरी तीन अर्ब चार करोड रुपैयाँमा ठेक्का दिइएको पूर्वी नहरमा ठेकेदारले हालसम्म ३९ करोड रुपैयाँ पेस्की लगिसक्दा तीन किलोमिटरसम्म ट्र्याक खन्ने काम मात्र गरेको आयोजना कार्यालयले जनाएको छ।

सिक्टामा चलेको कामको गतिप्रति आयोजनाका अधिकारी नै सन्तुष्ट छैनन् । आयोजना निर्देशक रमेश बस्नेत ठेक्का पट्टा व्यवस्थापन प्रक्रियाले गर्दा कतिपय काम ढिलो भएको बताउँछन् । ‘पूर्वी नहरकै कुरा गर्ने हो भने तीन वर्षअघि ठेक्का सम्झौता हुनुपर्ने थियो,’ उनले भने ‘ठेक्का सम्झौतामा धेरैका दबाब र इच्छा जोडिएका हुन्छन् ।’

राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगीले सिक्टाबाट अहिलेसम्म प्रतिफल आउन नसक्नुको मुख्य दोषी राजनीतिक दल, सिँचाइ मन्त्रालय र विभागका ठूला कर्मचारी भएको बताए । ‘सरकार फेरिनेबित्तिकै मन्त्रीले आयोजना निर्देशक फेर्ने प्रवृत्ति सिक्टामा छ,’ उनले भने ‘ठेकेदार र माथिका कर्मचारीले आयोजनालाई आफ्नो अनुकूल लम्ब्याउने काम गरेका कारण किसानको खेतमा पानी पुग्न सकेन ।’ सिक्टामा चाइना कम्पनीले निर्माण गरेको हेड वर्क्समा मात्र गुणस्तरिय काम भएको डाँगीले बताए । ‘नेपालका ठेकेदारले गरेको भए हेडवक्र्स पनि बिगार्ने रहेछन्, धन्न चाइना कम्पनीले ठेक्का लिएर राम्रो काम ग¥यो,’ उनले भने ‘सिक्टामाथि किसान भर पर्ने काम मात्रै भयो, निगरानी नबढाउनु हाम्रो पनि कमजोरी भएको छ ।’


 

 

 

 

प्रकाशित: १६ श्रावण २०७५ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App