५ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

‘डल्लो बजेट’ विवादास्पद

धनगढी - प्रदेश सरकारले आर्थिक वर्ष ०७५-७६ का लागि ल्याएको बजेटमा करिब पाँच अर्ब बराबर रहेको डल्लो बजेट विवादास्पद बनेको छ।

संसदबाट बजेट पारित गराएर मन्त्रिपरिषद् निर्णयबाट कार्यक्रम र योजना बनाएर खर्चिने गरी डल्लो बजेट राखिएकोमा व्यापक आलोचना भएको हो।

विपक्षी दलका सासंदले बजेटमा डल्लो बजेट राख्नु नीति, बिधि र प्रक्रियाविपरित भएको भनेर विरोध गरेका छन् । ‘कुनै उद्देश्य नभएको र स्पष्ट नभएको डल्लो बजेट राख्न पाइँदैन,’ कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘बजेटमा राखिएको डल्लो बजेट विधि र नीतिविपरित छ ।’ संसारका कुनै पनि बजेटमा डल्लो बजेट राख्ने प्रावधान नभएको उनको भनाइ छ ।

कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले विधिको धज्जी उडाउने गरी ‘डल्लो बजेट’ राखिएको बताए । ‘आफैं धामी, आफैं झाक्री भनेझै आफैं योजना बनाउने, आफैं बजेट बनाउने, आफैं विधि बनाउने र आफैं कार्यान्वयन गर्ने कुरा सैद्धान्तिक र नीतिगत रुपमा स्विकार्य हुन सक्दैन,’ उनले भने ।समाजिक विकास मन्त्रालय, भूमि, कृषि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयमा बढी डल्लो बजेट राखिएको सासंदहरुको आरोप छ ।

‘कुनै शीर्षक, योजना र कार्यक्रम नछुट्याई नौ जिल्लामा कार्यक्रम गरिने छ,’ सासंद डिल्लीराज पन्तले भने, ‘८८ स्थानीय तहमा काम गरिने छ ।’ असार १ गुत गरेको २५ अर्ब ६ करोड ५६ लाख बजेटमा करिब पाँच अर्ब बजेटपछि मन्त्रिपरिषद्ले योजना बनाउने गरी डल्लो राखिएको उनको भनाइ छ । ‘झन्डै पाँच अर्ब बजेट डल्लो राखिएको छ । संसदमा प्रस्तुत नगरी मन्त्रिपरिषद्ले निर्णय गरेर यो बजेट खर्चने प्रदेश सरकारको शैलीप्रति हाम्रो विरोध हो,’ उनले भने ।

यो बजेट दुरुपयोग हुने सासंदहरुको आशंका छ । सत्तापक्षकै सासंदहरुको पनि यो बजेटमा विरोध र असन्तुष्टी रहेको छ । बजेटमा ठूलो हिस्सा पाँच अर्ब बजेट डल्लो राखिएकामा सत्ता पक्षका सासंदले पनि विरोध गरेका छन् । डल्लो बजेट दुरुपयोग हुनेमा सत्तापक्षकै सासंदहरुको आशंका छ ।

बजेटप्रति तीव्र असन्तुष्टी जनाउँदै सत्तापक्षका सासंदहरुले गत बिहीबारको प्रदेश सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिएनन् । सत्ता पक्षकै सासंदले मुख्यमन्त्री, मन्त्री र सभामुखलाई समेत भेटेर असन्तुष्टी जनाएका छन् । सत्तापक्षका सासंदको तीव्र असन्तुष्टी र विरोध भएकाले नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले सत्तापक्षको संसदीय दलको बैठकमा उपस्थित भएर सासंदलाई मनाउने प्रयास गरेका थिए।

आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले कानुनसम्मत र विधि अनरुप नै आफूले बजेट ल्याएको बताएका छन् । उनले प्रतिपक्षको माग बमोजिम बजेटमा फेरबदल नहुने उनको भनाइ छ ।

बजेट जनताको चाहना र आर्थिक विकास र समृद्धि ल्याउने गरी ल्याइएको उनको जिकिर छ । डल्लो बजेट डिपिआर गरेर प्रदेश गौरवका योजनामा लगाइने उनले बताए । ‘बजेट कार्यान्वयनन हुनुभन्दा अघि नै पारदर्शी रुपमा कार्यक्रम पुस्तिका बनाएर डल्लो बजेटका योजना र कार्यक्रम सार्वजनिक गरिने छन्,’ उनले भने । बजेट दुरुपयोग हुने शंका उपशंका नगर्न उनले सासंदहरुलाई आग्रह गरे।

प्रकाशित: १३ असार २०७५ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App