५ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

बूढानीलकण्ठको बजेट ७५ करोड

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले आइतबार आयोजित नगरसभामा आव २०७५÷७६ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । उनले कुल ५३ करोड ४० लाख ५८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

तर, उक्त बजेटमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम र सामाजिक सुरक्षा भत्ता समावेश नरहेको उनले बताए । ‘सशर्त अनुदान, सामाजिक सुरक्षा भत्ता र एलइसिडिपीसमेत जोड्दा कुल बजेट ७५ करोड १४ लाख ४० हजार रुपैयाँ पुग्छ,’ नगरप्रमुख खरेलले भने ।

सशर्त अनुदानको रकम र सामाजिक सुरक्षा भत्ताबाहेकको बजेटमध्ये चालुतर्फ १३ करोड ३५ लाख १४ हजार रुपैयाँ र पुँजीगततर्फ ४० करोड पाँच लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ । बजेटमा प्रत्येक वडालाई दुई करोड रुपैयाँका योजना तथा कार्यक्रमको लागि अधिकार प्रत्यायोजन गरिएको छ । नगरपालिका भव निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान राजस्व बाँडफाँडलाई बजेटको मूख्य स्रोतको रुपमा राखेको छ । वित्तीय समानीकरण अनुदानतर्फ २५ करोड ६४ लाख ७७ हजार र राजस्व बाँडफाँडबाट १० करोड ७५ लाख ८१ हजार रुपैयाँ संघीय सरकारमार्फत प्राप्त हुने बजेटमा उल्लेख छ । नगरपालिकाले आन्तरिक स्रोतबाट १७ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ ।

संघीय सरकारबाट सशर्त अनुदानवापत नगरपालिकालाई आगामी आवका लागि १५ करोड ३८ लाख रुपैयाँ उपलब्ध गराएको छ । यो रकम संघीय सरकारले तोकेको कार्यक्रमवाहेक अन्यमा नगरपालिकाले खर्च गर्न पाउँदैन । त्यस्तै, प्रदेश सरकारबाट पाँच करोड पाँच लाख ४३ हजार रुपैयाँ प्राप्त हुने नगरपालिकाको बजेटमा उल्लेख छ।

चालु आवमा नगरपालिकाको बजेट ७३ करोड ४३ लाख ३० हजार रुपैयाँ थियो । यसमध्ये जेठ मसान्तसम्म ४४ करोड २८ लाख ९५ हजार रुपैयाँ मात्र खर्च भएको जनाएको छ । नगरपालिकाले हालसम्म पुँजीगततर्फ ५० प्रतिशत मात्र खर्च गरेको छ । आर्थिक वर्ष सकिन एकम महिना बाँकी हुँदा पुँजीगततर्फ छुट्याइएको ५५ करोड ४३ लाख ३० हजार रुपैयाँमध्ये २८ करोड ४९ लाख २४ हजार रुपैयाँ मात्र खर्च भएको नगरपालिककाले जनाएको छ।

प्रकाशित: ११ असार २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App