काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निगमले पनि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई÷दुई रुपैयाँ मूल्य घटाएको हो। घटेको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। यसअघि निगमले पेट्रोल प्रति लिटर एक सय १३ र डिजेल, मट्टीतेल लिटरको ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने थपघट नगरिएको गोइतले बताए। पछिल्लो मूल्य अनुसार निगमलाई पाक्षिक रुपमा ७ करोड ८६ लाख रुपैयाँ घाटा रहेको छ।
प्रकाशित: ३ असार २०७५ १३:२८ आइतबार