६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

चर्को हवाई भाडा: सरकार आक्रोशित, २४ घण्टे अल्टिमेटम !

‘त्रिभुवन विमानस्थल आंशिक बन्द, मनोमानी पुरै खुला’

.

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्।

विमानस्थल बन्दको बहाना पारेर चर्को टिकट मूल्य बढाउने अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई मन्त्री पाण्डेले निर्देशन दिएका हुन्।

मन्त्री पाण्डेले हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीलाई उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएको मन्त्रालयले बताएको छ।

नागरिकले हवाई भाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै मन्त्री पाण्डेले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई निर्देशन दिएको हो।

यसैक्रममा हवाई कम्पनीसँगको छलफलमा मन्त्रालयका सचिव डा. गणेश पाण्डेय खरो उत्रिएका छन्। उनले हवाई कम्पनीलाई सम्झौता अनुसार टिकट मूल्य लागू नगरे नियमन गर्न सरकार कठोर हुने बताए। उनले हवाई कम्पनीले सम्झौता अनुसार टिकट मूल्य लागु नगरे सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आव्हान गर्ने चेतावनी समेत दिए।

हवाई भाडावृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरेका थिए। गत कात्तिक २४ भएको उक्त छलफलमा सरकार र सबै वायुसेवा प्रदायक सञ्चालकहरूले आफ्नो क्षेत्रगत मूल्य दायरा र औसत मूल्य घोषणा गरी सार्वजनिक गर्ने सहमति भएको थियो।

सहमतिमा भोल्युममा प्रतिबन्ध, उचित सेवा शुल्कमा सम्झौता जस्ता उपायहरू अपनाउन ट्राभल एजेन्सीसँग आवश्यक व्यवस्था भएको साथै बजेट वाहकले आफ्नो टिकट बिक्रीका लागि ‘टाइम विफोर अराइभल’ अभ्यास गर्न रोक्ने सहमति भएको थियो।

यसरी सहमति हुँदै गर्दा अहिलेसम्म पनि यसको कार्यान्वयन भएको देखिँदैन। अहिले एकातर्फ टिकट पाउन कठिन छ भने अर्कोतर्फ पाएको टिकट पनि यात्रुले एकदमै चर्को मूल्यमा किन्नुपर्ने बाध्यता सिर्जना भएको छ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रण सम्बन्धी पाँच बुँदे सहमति कार्यान्वयन नगरेको बताए। उनले अहिले हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने दाबी गरे।

पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्न बाध्य हुने बताएका छन्। यसैक्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले दैनिक १० घण्टा बन्द छ। विमानस्थलको स्तरोन्नतिका लागि बिहीबारदेखि दैनिक १४ घण्टा मात्र उडान गरेर विस्तारको काम भइरहेको छ। प्राधिकरणका अनुसार हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलबाट पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार हुनेछ। स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन्।

सरकारले नागरिककै सेवा भनेर वायुसेवा कम्पनीलाई सहुलियत दिएका बताएका छन्। तर, वायुसेवा कम्पनीले राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरी सरकारलाई समेत चुनौती दिएको मन्त्रीको बुझाई छ।

वायुसेवा कम्पनीलाई दिएको सहुलियतको उपहास भएको उल्लेख गर्दै मन्त्री पाण्डेले हवाई कम्पनीले राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरी गैरजिम्मेवारीपन देखाएको बताए। उनले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गरेको ठम्याउँदै यस विषयले आफू दुःखी भएको बताए। यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएसँगै अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको छ। विमानस्थल ट्याक्सी वे विस्तारका लागि गत शुक्रबार रातीदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि सबैजसो अन्तर्राष्ट्रिय हवाईसेवा प्रदायक कम्पनीले अत्यधिक चर्को भाडा असुल्न थालेका हुन्। हवाई कम्पनीले अहिले चार गुणा चर्को मूल्यमा टिकट बिक्री गरिरहेको यात्रुहरुको गुनासो छ।

प्रकाशित: ५ मंसिर २०८१ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App