३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

महिलाद्वारा सञ्चालित डेरी उद्योगमा मासिक १० लाख कारोबार

फाइल तस्वीर

तनहुँको देवघाट गाउँपालिका– ५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ। डेरी उद्योगमा संकलन भएको दुग्धजन्य पदार्थ बिक्री वितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो।

डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरू आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक संगीता ओझाले जानकारी दिइन्। सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरू दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट पनि बिक्री वितरण गरिने ओझाले बताइन्।

उनका अनुसार डेरी उद्योगमार्फत मासिक १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ। सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरूको बजारीकरणमा हेफर इन्टरनेसनल नेपालले सहयोग गर्दै आएको छ।

देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध संकलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपानलन, तरकारीखेती तथा सामूहिक रूपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ।

उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध संकलन हुँदै आएको छ। संकलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिए।

उनका अनुसार दूधबाट दुग्धजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवालगायत उत्पादन हुँदै आएको छ। सहकारीमा हाल सात सय ९४ जना सेयर सदस्य रहेका छन्।

सहकारीमा देवघाटको वडा नं १, ४ र ५ का महिला सदस्य छन्। सेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन्। सेयर सदस्यहरूले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दुग्धजन्य वस्तु उत्पादन गरी बिक्री गर्दै आइएको छ। उत्पादित दुग्धजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैंडाकोटलगायत बजारमा डेरी पसलमार्फत बिक्री गर्दै आएको छ।

अध्यक्ष पन्तले भने, ‘बचत संकलन तथा ऋण लगानीमार्फत शेयर सदस्यलाई व्यवसायमा सघाउने तथा उनीहरूको आर्थिक अवस्था सुधार्ने सहकारीको उद्देश्य हो। पछिल्लो समय सहकारीका सदस्य मिलेर समूह बनाएर सामूहिक रूपमा अदुवा र बेसारखेती गरेका छन्।’ –रासस

प्रकाशित: ३ कार्तिक २०८१ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App