२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटकीय पदमार्गः वर्षायाम भएपनि पाहुनालाई समस्या छैन

अन्नपूर्ण आधारशिविर । फाइल तस्बिरः नागरिक

मनसुन सुरु हुनु अघिसम्म पर्यटकीय गाउँ घान्द्रुकमा आन्तरिक र बाह्य पाहुनाको भीडभाड थियो। सहरमा गर्मी भएको बहानामा गाउँ उक्लिने पाहुनाको कारण घान्द्रुक जस्ता ग्रामिण पर्यटकीय क्षेत्र चलायमान थिए। पाहुनाको भीडभाडले गर्दा व्यावसायीलाई पनि व्यस्त बनाएको थियो।  

तर, अहिले त्यही पर्यटकीय गाउँ घान्द्रुक सुनसान छ। व्यावसायीले होटल र रेस्टुरेन्ट त खुला राखेका छन्, तर, ती होटलमा बस्न र रेस्टुरेन्टमा खान पुग्ने पर्याप्त पाहुना छैनन्। निकै नै कम संख्यामा पाहुना पर्यटकीय गाउँ उक्लिएको स्थानीय व्यावसायीको भनाई छ। ‘साच्चै अफसिजन लागेको छ। यो बेला निकै नै कम संख्यामा मात्र पाहुना आएका छन्। पदयात्रा क्षेत्र सुनसान जस्तै बनेको छ,’ घान्द्रुकका पर्यटन व्यावसायी किसम गुरुङले भने।  

व्यावसायी गुरुङका अनुसार पर्यटन क्षेत्र सेप्टेम्बरमा सुरु हुने पर्यटकीय सिजनको पर्खाइमा छ। ‘सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। त्यसपछि बल्ल पाहुना आउँछन्। पाहुना नभएपनि यतिबेला व्यावसाय भने बन्द छैनन्। गएका जो केही पाहुनाले खान र बस्ने सेवा पाउँछन्। अरुबेलाको तुलनामा यतिखेर पाहुनाको संख्या कम भएको मात्र हो,’ उनले भने, ‘मनसुनमा रमाउने थोरै पाहुना यो बेला आएका छन, त्यो संख्या निकै नै कम छ।’ मनसुनको बेला पर्यटकीय गतिविधि कम हुने उनले बताए।  

वर्षा लाग्न थालेसँगै पदयात्रा क्षेत्रमा पाहुना कम हुन थाल्छन। घान्द्रुक अन्नपूर्ण आधारशिविर पदमार्गको प्रवेशद्वार पनि हो। घान्द्रुकमा मात्र नभई माथिका अरु पर्यटकीय गाउँमा पनि निकै नै कम आकारमा पाहुना रहेको उनीहरुको भनाई छ। ‘यो बेला पाहुना नै नभएका होईनन। तर, अरुबेला जस्तो धेरै छैनन्। निकै नै कम संख्यामा पाहुना आएका छन,’ अन्नपूर्ण आधारशिविर (एबिसी) का पर्यटन व्यावसायी जगन गुरुङ भन्छन्, ‘जेठपछि पाहुना घट्न थालेका हुन्। अहिले केही मात्र कम भएका हुन्। तर पाहुना आगमन शुन्यमा नै झरेको भने छैन।’

मनसुनको समय भएपनि यो बेला अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रामा बाढी पहिरोले अवरोध भने गरेको छैन। तरपनि पाहुना आउने समय कम भएको उनले बताए। ‘वर्षायाम भएपनि फाट्टफुट्ट पाहुना आएका छन्। केही विदेशी र अरु आन्तरिक पाहुना छन। पदमार्गमा यो पटक बाढी पहिरोले खासै अवरोध ल्याएको छैन। बरु पोखरासम्मकै आउने पाहुना कम छन,’ उनले भने, ‘अब आउने सिजन राम्रो हुने अपेक्षा छ।’ 

अफसिजन भएपनि एबिसी र पदमार्गका सबै जसो होटल खुला रहेको उनले बताए। ‘दशक अघिसम्म यो बेला केही समय पदमार्गका होटल पूर्णरुपमा बन्द हुन्थे। तर, अहिले होटल बन्द छैनन्। पाहुना कम हुँदा चलहपहल घटेको मात्र हो,’ उनले भने, ‘वर्षायाम भएपनि पुगेका पाहुनालाई खान र बस्नको समस्या हुँदैन्।’  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार मनसुनमा रमाउने गरि विदेशी पाहुना पनि आउँछन। तर, त्यो सख्या निकै नै कम हुन्छ। पन्थीका अनुसार अहिले पनि एबिसी सहित घान्द्रुक, मनाङ, मुस्ताङ र मर्दी हिमालको पदयात्रा क्षेत्रमा पाहुना छन्। केही विदेशी र आन्तरिक पाहुना अहिले पदयात्रामा रहेको उनले सुनाए।

‘हुन त यो बेला पर्यटन क्षेत्रमा अफसिजन हो। तरपनि सिमित पाहुना छन्। आकार कम भएपनि पदमार्गमा पाहुना आगमन शुन्य भने छैन,’ पन्थीले भने, ‘अफसिजन भन्दैमा पाहुनाविहीन हुने भन्ने हुँदैन। धेरै र थोरै पाहुना भन्ने मात्र हो, अहिलेको समय नै कम पाहुना हुने बेला हो।’

पन्थीका अनुसार मनसुनमा रमाउने चाहना भएका पाहुना पनि हुन्छन्। ती पाहुना लामो भन्दा छोटो दूरीको पदयात्रामा जान रुचाउँछन्। किनभने लामो दूरीको पदयात्रामा बाढीपहिरोको त्रास पनि हुने गर्छ । ‘यो बेला धेरैतिर बाढी पहिरोको त्रास छ। केही ठाउँमा क्षति पनि भएको छ। त्यसैले मनसुनको सिजनमा पदयात्रामा उत्तिसारो भीडभाड त हुँदैन, तर, शुन्य नै भन्ने हुँदैन,’ उनले भने, ‘मनसुनी पाहुना अहिले केही छन्।’

अध्यक्ष पन्थीका अनुसार पाहुना नभएपनि पदयात्रा क्षेत्रका पूर्वाधार भने सुचारु छन्। पदमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट सबै खुला रहेको उनले सुनाए। ‘खान र बस्नको समस्या छैन, सबैतिरका होटल खुला छन, पाहुना कम भएका हुन्,’ उनले भने, ‘अहिले मुख्य सहरमा पनि पर्याप्त पाहुना छैनन। पदमार्गमा त झनै हुने कुरै भएन। सिजन अनुसारको पाहुना आगमन हुने बेला हो। सिजनको जस्तो चहलपहल त यो बेला हुँदै हुँदैन।’

प्रकाशित: ६ श्रावण २०८१ १५:५३ आइतबार

अफसिजन पर्यटकीय पदमार्ग