२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लक्ष्यको ६० प्रतिशत पनि उठेन विराटनगर भन्सारको राजस्व

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८०-८१ मा लक्ष्यको ६० प्रतिशत पनि राजस्व असुली गर्न नसकेको तथ्यांक सार्वजनिक गरेको छ । भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०८०-०८१ मा विराटनगर भन्सार कार्यालयले ५९.७३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।  

आर्थिक वर्ष ०८०-०८१ का लागि विराटनगर भन्सार कार्यालयले ५० अर्ब ८१ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, विराटनगर भन्सार कार्यालयले ३० अर्ब ३५ करोड १५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयको लक्ष्य अघिल्लो आर्थिक वर्षको तुलनामा १० अर्बले घटाइएको थियो । तर, घटाइएको लक्ष्य अनुसार पनि विराटनगर भन्सार कार्यालयले राजस्व संकलन गर्न नसकेको तथ्यांकले देखाएको छ ।  

त्यसो त आर्थिक वर्ष ०७९-०८० को तुलनामा कुल राजस्व संकलन पनि करिब ३ अर्बले गिरावट आएको छ । आर्थिक वर्ष ०७९-०८०मा विराटनगर भन्सार कार्यालयले ३३ अर्ब १३ कोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८०-०८१ को कुनै पनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको देखिएको छ । विराटनगर भन्सार कार्यालयले साउन महिनामा सबै भन्दा बढी लक्ष्यको ८१.५७ प्रतिशत राजस्व संकलन गरेको देखिएको छ । सबैभन्दा कम कार्तिक महिनामा लक्ष्यको ४७.८१ प्रतिशत राजस्व संकलन गरेको छ ।  

तथ्यांक अनुसार विराटनगर भन्सार कार्यालयले साउन महिनामा ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ असुली गरेको थियो । भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो । जुन लक्ष्यको ५६.८१ प्रतिशत हो ।  

असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो  । जुन लक्ष्यकोे ६०.१४ प्रतिशत हो । कात्तिक महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब २२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ  । जुन ४७.८१ प्रतिशत हो ।  

मंसिर महिनाका लागि ४ अर्ब २५ करोड ११ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४५ करोड ३ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ । जुन लक्ष्यको ५७.६४ प्रतिशत मात्रै हो । पुस महिनाका लागि ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको विराटनगर भन्सारले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ । जुन लक्ष्यको ५५.५७ प्रतिशत हो । 

माघ महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब ३ करोड २२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा २ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ  । जुन लक्ष्यको ६०.८५ प्रतिशत हो ।  

फागुन महिनामा ४ अर्ब ४० करोड ३५ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ७७ करोढ ४४ लाख रुपैयाँ राजस्व असुली गरेको छ । जुन ६३.०१ प्रतिशत हो । चैत महिनाका लागि ४ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा २ अर्ब २९ करोड रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयले लक्ष्यको ५६.९८ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । 

यस्तै वैशाख महिनामा विराटनगर भन्सार कार्यालयले ४ अर्ब २१ करोड ७ लाख रुपैयाँ लक्ष लिएकोमा २ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ मात्रै असुली गरेको छ । जुन लक्षयको ५५ .५४ प्रतिशत हो । जेठ महिनाका लागि विराटनगर भन्सार कार्यालयले ४ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएकोमा २ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ राजस्व असुली गरेको छ । जुन लक्ष्यको ६३.३८ प्रतिशत हो । 

असार महिनामा विराटनगर भन्सार कार्यालयले ४ अर्ब २५ करोड ७५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा २ अर्ब ५६ करोड ५४ लाख रुपैयाँमात्रै असुली गरेको छ । जुन लक्ष्यको ६०.२६ प्रतिशत मात्रै हो । आर्थिक मन्दीका कारण आन्तरिक बजारमा माग घटेपछि आयातमा गिरावट हुँदा राजस्व घटेको कार्यालयले दाबी गर्दै आएको छ ।  

प्रकाशित: ४ श्रावण २०८१ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App