२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

४९ दिनदेखि अनसनमा सहकारी पीडित

निक्षेप फिर्ता गर्न माग गर्दै रिले अनसन बस्दै आएका सहकारी पीडितहरूले झरीको बेलामा पनि अनसनलाई निरन्तरता दिएका छन्।

सरकारसँग भएका सझौता पालना हुनुपर्ने, बचतकर्ताहरूको बचत फिर्ता पाउनुपर्ने लगायतका माग राख्दै ४९ दिन अगाडिदेखि सुरु भएको अनसन अहिले पनि जारी रहेको हो।

निरन्तर झरी भइरहे पनि आफूहरूको अनसन काठमाडौंको शान्ति वाटिकामा जारी रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव केसीले बताए।

सामान्य टेन्टभित्र रुझ्दैरुझ्दै अनसनलाई निरन्तरता दिए पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गरे। ‘अहिले झमझम पानी परिरहेको छ, हामी भने रुझेरै भए पनि अनसनमा बसिरहेका छौँ तर सरकारले कुनै वास्ता गरेको छैन, सरकार साह्रै निर्दयी भयो’, अध्यक्ष केसीले भने। १९ जना सहकारी पीडितहरूले झरीका बीच पनि अनसनमा सहभागिता जनाएका छन्।

सहकारी पीडितहरूले आफैंले जम्मा गरेको रकम पाउन पनि यति धेरै संघर्ष गर्नुपर्ने अवस्था आउनु आफैंमा विडम्बनापूर्ण रहेको उनले बताए।

पहिलो चरणमा ६३ दिन आन्दोलन भएपछि सरकारले सम्झौता गरेको थियो। त्यो सम्झौता कार्यान्वयन नभएपछि उनीहरूले दोस्रो चरणको आन्दोलन गरेका थिए। दोस्रो चरणमा पनि एक महिने रिले अनसन र आठ दिन अध्यक्ष केसीको आमरण अनसनपछि सरकारले फेरि सम्झौता गरेको थियो। दुवै चरणका सम्झौता कार्यान्वयन नभएकाले अहिले फेरि आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

सहकारी पीडितहरूले पटक पटक धर्ना, जुलुस, र्‍याली, विरोधसभा जस्ता धेरै आन्दोलनका कार्यक्रम गरेपनि सरकारले भने वेवास्ता गरेको उनीहरूको गुनासो छ।

प्रकाशित: २८ असार २०८१ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App