१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नागढुंगा सुरुङमार्ग निर्माणमा ढिलाइ

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ। निर्माणको सुरुवाती समयमा कोरोना महामारी र त्यसपछि निरन्तर स्थानीयको अवरोधका कारण आयोजना थप एक वर्ष लम्बिने भएको हो।

कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्गमध्ये अब नौ मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। हालसम्म दुई हजार ६ सय ७९ मिटर टनेल खनिसकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द दमरुले जानकारी दिए।

आगामी २०८१ वैशाखभित्र खन्न बाँकी नौ मिटर खनेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य रहेको उनले बताए। ‘अब मुख्य सुरुङतर्फ नौ मिटर खन्न बाँकी छ। वैशाखभित्र मुख्य सुरुङमार्गको ब्रेकथ्रु गर्ने लक्ष्य लिएका छौं’ उनले भने, ‘कहिले कोरोना महामारी र पछिल्लो पटक त्यहाँका स्थानीयले लगातार अवरोध गर्दा आयोजना प्रभावित बन्यो।’

मुख्य सुरुङ खनिसकेपछि पनि आयोजनाका अन्तिम चरणका काम सम्पन्न गर्न एक वर्ष लाग्ने उनको भनाइ छ। ‘सुरुङमार्ग खन्ने काम सकिए पनि आयोजना भित्र लाइनिङ गर्ने, उपकरण जडान र फिनिसिङका कामहरू बाँकी छन्, ती काम सकेर यातायात चलाउन अझै एक वर्ष लाग्छ’, उनले भने। यसअघि २०८० साउन २१मा आयोजनाको आकस्मिक(रेस्क्यु) सुरुङमार्गको ब्रेक थ्रु भएको थियो।

गत फागुन ६ मा धादिङतर्फका स्थानीयले मुआब्जा, खानेपानीको व्यवस्था र सिँचाइ लगायतका माग राखेर आयोजनामा अवरोध गर्दै आएका थिए। एक महिना लामो अवरोधपछि गत चैत ८ गतेबाट आयोजना निर्माण कार्य पुनः अघि बढेको छ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सुरुङमार्ग निर्माणको काम पुनः अघि बढेको हो। यता, सुरुङमार्ग आयोजनाको काठमाडौंतर्फको काममा पनिस्थानीयले अवरोध सिर्जना गर्दै आएका थिए।

४२ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी जापानी ठेकेदार हाज्मा एन्दो जेभीले वि.सं. २०७६ कात्तिक २६ गतेदेखि निर्माण सुरु गरेको थियो।  

प्रकाशित: १५ चैत्र २०८० ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App