१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

अध्यक्ष राई र नेतृ कार्की मन्त्री किराँतीसँगको छलफल गर्दै। तस्बिर : महेश्वर

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ। साकेला गाउँपालिकाले अघि बढाएको पर्यटकीय योजना दकार्यान्वयन गर्न मन्त्री सुदन किरातीले प्रतिबद्धता जनाएका हुन्।

तावाभञ्ज्याङमा तावाताल र विभिन्न जातजाति तथा समुदायको साँस्कृतिक बस्ती, धार्मिक पार्कलगायत पर्यटकीय संरचना निर्माण गर्ने योजना गाउँपालिकाले अघि बढाएको छ। त्यहाँ पर्यटकीय पूर्वाधार निर्माण गर्न माग गर्दै बिहीबार मन्त्रालय पुगेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईसहितको टोलीलाई मन्त्री किरातीले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। टोलीलाई मन्त्री किराँतीले पर्यटन पूर्वाधार निर्माणमा आवश्यक बजेट र प्राविधिक सहयोग गर्न मन्त्रालयको तर्फबाट प्रतिबद्धता जनाएका छन्।  

संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य समिता कार्की (अस्मिता) र छिमेकी जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईसमेत सहभागी टोलीसँग मन्त्री किरातीले प्रस्तावित तावाताल र तावाभञ्ज्याङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा लागीहाल्ने बताएको मन्त्रीलाई उधृत गर्दै टोलीले जनाएको छ।  

किराँतीले निर्माणाधीन पर्यटन पूर्वाधार कार्य तत्काल अघि बढाउन आवश्यक बजेट र प्रक्रिया सुरु गर्ने वचन दिएको पनि अध्यक्ष राईले बताए। तावाभञ्ज्याङलाई आकर्षक पर्यटकीयस्थल बनाउने उदेश्यले तावाताल निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २ करोड बजेटको सुनिश्चित गरेको थियो। पर्यटन मन्त्रालयबाट आउने सो बजेटबाट ताल बनाउन नमिल्ने कानुनी अड्चन आएपछि योजना अघि बढ्न सकेको छैन।

सो रकम शीर्षकान्तर गरेर पर्यटन पूर्वाधार निर्माण गर्न मन्त्रालयलाई गाउँपालिकाले आग्रह गर्दै विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) पनि तयार गरिसकेको अध्यक्ष राईले बताए। डिपिआर अनुसार बहुवर्षीय योजनाका रूपमा काम गर्न ६ करोड लागतको पर्यटन पूर्वाधार बनाउनुपर्ने छ, तर हालसम्म प्रक्रिया अघि नबढेकाले मन्त्रालय गुहार्नुपरेको हो।  

मन्त्रालयले चाँडै ठेक्का आह्वान गरेर अघि बढेन पर्यटनमन्त्री किराँतीसँग टोलीले आग्रह गरेको छ। टोलीको मागअनुसार मन्त्री किरातीले सक्दो छिटो प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्। किराँतीले पर्यटनको ढोका खोल्ने चावी (सूत्र) को तयार गरिरहेको पनि बताएका छन्। उनका अनुसार पर्यटन विकासमा मुख्यतः तीनवटा ढोका संस्कृति (कल्चर), प्रकृति (नेचर) र साहसिक (एडभञ्चर) रहने भन्दै ती ढोका खोल्ने चाबी के–के हुन् भनेर अध्ययन भइरहेको छ।  

ती ढोका खोल्न सके समृद्धिको गन्तव्यको ढोका खुल्ने उनी बताउँछन्। हाम्रो देश बहुसाँस्कृतिक, बहुधार्मिक र बहुजातीय समाज भएकाले संस्कार, संस्कृति र बहुपक्षलाई ब्रान्डिङ गर्न सके मात्र पनि पर्यटनको विकास हुने र त्यसले समृद्धिको गन्तव्यमा छिटै पुर्‍याउने विश्वास किरातीको छ।

माओवादी केन्द्रीय सदस्य अस्मिताले समग्र समाज, जिल्ला र देशलाई फाइदा पुग्ने काममा सबै पक्षबाट सहयोग हुनुपर्ने बताउँदै पर्यटन विकास समृद्धिको प्रमुख आयाम हुने भएकाले मन्त्रालयले सक्दो सहयोग गर्न सुझाइन्। उनले पूर्वाग्रही ढंगबाट कुनै पनि योजना अघि बढ्न नसक्ने भन्दै समन्वयकारी भूमिका निभाउँदै मन्त्रालयले सबैलाई समान व्यवहार गर्न पनि मन्त्री किरातीलाई आग्रह गरेकी छिन्।  

अध्यक्ष राईले तावाभञ्ज्याङ क्षेत्रलाई साकेलाको मात्र नभएर खोटाङ र भोजपुरकै ‘पर्यटकीय हब’ का रूपमा विकास गर्ने योजना अनुसार अघि बढिरहेको बताएका छन्। उनले विगतको सरकारले सुरु गरेका कतिपय विकास निर्माण कार्यलाई निरन्तर अघि बढाउन हालको स्थानीय सरकार प्रयत्नशील रहेको भन्दै तावाताल निर्माण कार्य प्राथमिकतामा राखेर अघि बढेको बताए। तावाभञ्ज्याङस्थित सहिद पार्कको संरक्षण गर्दै तत्कालीन माओवादीको १० वर्षे जनयुद्ध झल्कने संरचना तयार गरिरहेको बताए।

मुन्धुम ट्रेलसँग जोडिएको सहिद पार्कको विकाससँगै ट्रेलको संरक्षण गर्न सके पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले पूर्वाधार निर्माणका लागि आवश्यक बजेट मन्त्रालयले व्यवस्था गरिदिन पनि अध्यक्ष राईले आग्रह गरे। ‘तावाभञ्ज्याङमा पर्यटन संरचना निर्माण गर्न सकेमा साकेला मात्र नभएर समग्र खोटाङ र छिमेकी भोजपुरको पर्यटनलाई पनि जोड्न सकिन्छ’, अध्यक्ष राईले भने, ‘यसले मुन्धुम ट्रललाई पनि संरक्षण र विकास गर्नमा महत्वपूर्ण योगदान पुग्ने भएकाले मन्त्रालयको विशेष ध्यानाकर्षण होस्।’

प्रकाशित: १८ फाल्गुन २०८० १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App