coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

ओभरलोड गरी क्लिंकर बोकेको टिप्पर । तस्बिर : अजित-नागरिक

विराटनगर - सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

असोजको अन्तिम साता आएको बाढीको धक्काले बथनाहाको मीरगञ्ज पुल धसिएको थियो । भारत र तेस्रो मुलुकबाट सामान आयात–निर्यात हुने विराटनगर नाकाका लागि यो पुल ‘लाइफलाइन’ नै हो । बाढीको धक्काले क्षतिग्रस्त मीरगञ्ज पुल नेपाली आयात–निर्यातकर्ताको निरन्तर दबाबपछि भारतीय पक्षले सामान्य मर्मत गरेर कात्तिकदेखि २० टन क्षमताका मालवाहक गाडी मात्रै निकासी–पैठारीका लागि अनुमति दिएको थियो ।

२० टन क्षमता बढीको मालवाहक गाडी ६ महिनादेखि भीमनगर–भन्टाबारी रि–रूट गरेर आयात–निर्यात भइरहेको छ । क्षतिग्रस्त पुलका कारण मालवाहक गाडी रि–रूट गर्दा करिब एक सय २० किलोमिटर बढी बाटो घुमाउरो र एउटा गाडीमा करिब ५० हजार रुपैयाँ बढी नोक्सानी भइरहेको नेपाली आयात–निर्यातकर्ताको भनाइ छ ।

भारतीय रेल्वेको र्याकबाट बथनाहामा अनलोड हुने क्लिंकर विराटनगर नाकाबाट नेपाल आयात भइरहेको छ । यसअघि, वीरगञ्ज भन्सारबाट आयात हुने क्लिंकर रक्सौलमा अवरोध गरेपछि विराटनगर नाकाबाट नेपाल भित्रिरहेको छ । क्लिंकर सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ हो । रेल्वेको ¥याकले बथनाहामा अनलोड गर्ने क्लिंकर र विराटनगर भन्सार नाकाको बीचमै मीरगञ्जको त्यो क्षतिग्रस्त पुल अवस्थित छ ।

ट्रेडिङबाट विराटनगरका व्यवसायी आशिष जाटियाले आयात गरेको क्लिंकर बोकेका चारवटा टिप्पर ट्रक व्यवसायी संघले मोरङको टंकिसिनुवारीको पेट्रोल पम्प अगाडिबाट नियन्त्रणमा लिएको हो । २८ टनमात्र बोक्नुपर्ने ती चारवटै १८ चक्के टिप्परले दुईसय ४० टन क्लिंकर बोकेका छन् । हरेक टिप्परमा डेढ फिट बढीको डाली बनाएर एउटामा कम्तीमा ६० टन क्लिंकर रहेको विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देलले दाबी गरे । रि–रूट भएर नआएका क्लिंकर बोकेको ती चारवटै ओभरलोड टिप्पर मीरगञ्ज पुलबाटै नेपाल आएको सिग्देलको भनाइ छ । ‘पुलमा पैसा खुवाएर २० टन क्षमताभन्दा बढीको मालवाहक गाडी पनि आइरहेको सूचना हामीले पाएका थियौं,’ सिग्देलले भने, ‘यी चारवटै टिप्पर पनि मीरगञ्ज पुलबाटै आएको रहेछ ।’

जोगवनीको प्लेटफर्म र गोदाम साँगुरो भएकाले भारतीय रेल्वेले क्लिंकर बथनाहामै अनलोड गर्छन् । ‘गाडीको क्षमता हेरेर पुलमा पाँच सयदेखि दुई हजार रुपैयाँसम्म असुली गरेर गाडी छाडिरहेको छ,’ विराटनगर भन्सारका एक एजेन्टले भने, ‘पैसा तिर्नेले जतिसुकै लोड लिएर सीधै मीरगञ्ज हुँदै आउने, पैसा नतिर्नेलाई एक सय २० किलोमिटर घुम्नुपर्ने समस्या छ ।’

ट्रक व्यवसायी संघले नियन्त्रणमा लिएका क्लिंकर बोकेका चारवटै टिप्पर मोरङको निमुवा प्रहरी चौकीमा बुझाइएको छ । टिप्परका चालकले जोगवनीबाट क्लिंकर नेपाल ल्याएको दाबी गरेका छन् । बथनाहाबाट २० टनभन्दा कम क्षमताका गाडीमा क्लिंकर जोगवनी ल्याई त्यहाँबाट टिप्परमा लोड गरेर यहाँ ल्याएको चालकको भनाइ छ ।

ओभरलोडका कारण नियन्त्रणमा लिइएका चारवटै टिप्परमा रहेको क्लिंकर मोरङको नेमुवास्थित इस्टर्न कसमस सिमेन्ट प्रालिका लागि व्यवसायी जाटियाले आयात गरेको हो । ‘ट्रेडिङमा आयात गरिने सामान आयातकर्ताले आफ्नो फर्ममा अनलोड गरेर मात्रै उद्योगलाई बेच्न पाउँछ,’ ट्रक व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष बिनोद खड्काले भने, ‘सीधै उद्योगमै लगेर अनलोड गर्न पाइँदैन ।’
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका प्रमुख एसपी राजकुमार लम्सालले ओभरलोड गरी क्लिंकर बोकेका चारवटै टिप्परलाई कारबाही गर्न यातायात कार्यालयलाई पत्र काटिसकेको जानकारी दिए ।

यातायातले सडकको भार क्षमताभन्दा बढी रहेको क्लिंकरको तौलको हिसाबले जरिवाना गर्ने भएको छ । तर, ट्रक व्यवसायी संघले ओभरलोडको जरिवाना गरेपनि बढी रहेको क्लिंकर अनलोड गरेर मात्रै सम्बन्धित ठाउँमा लैजानु पर्ने अडानमा छन् । ‘धेरै उद्योगले ओभरलोड सामान ल्याउँछन्,’ ट्रक व्यवसायी संघका अध्यक्ष सिग्देलले भने, ‘यो विषयमा प्रहरीका एआइजी पशुपति उपाध्याय र मोरङका सिडिओ रामप्रसाद आचार्यलाई जानकारी गराएका छौं ।’

भारतको मुम्बई र कोलकत्ता पोर्टबाट आउने मालवाहक गाडी नेपाल भित्रिएपछि १५ किलोमिटरसम्म मात्रै जानुपर्ने गृह मन्त्रालय र ट्रक व्यवसायीबीच सहमति भएको छ । रेल्वे यार्डबाट आउने समान बोकेको गाडी नेपालको नजिकको औद्योगिक करिडोरसम्म लैजान पाउने नियम छ । तर, सिग्देलका अनुसार मुम्बई र कोलकोत्ता पोर्टबाट मालवस्तु बोकेर आउने गाडी १५ किलोमिटरभन्दा टाढासम्म जाने गरेका छन् ।

नेपालका आयात–निर्यातकर्ताले क्षतिग्रस्त मीरगञ्ज पुल पूर्ण क्षमतामा सञ्चालनमा नल्याएर भारतीय पक्षले ‘अघोषित नाकाबन्दी’ गरेको आरोप लगाएका छन् । वाणिज्य मन्त्री मीनकुमार विश्वकर्मासँग भेटेंरै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले मीरगञ्ज पुल निर्माणमा भारतीय पक्षले ढिलाइ गरेर आयात–निर्यातलाई प्रभावित बनाएको गुनासो गरे ।

 

 

प्रकाशित: २४ माघ २०७४ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App