२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिटिक्क लेकसाइड

पोखरा आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण सहर हो। तालै तालको सहर पोखरालाई कुमारी हिमाल माछापुच्छ्रे र अन्नपूर्ण हिम शृंखलाले थप मन्त्रमुग्ध बनाएको छ।

सुन्दर पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल प्रकृतिको अनुपम उपहार हो। यसको किनारमा रहेको लेकसाइड पर्यटक बस्ने प्रमुख थलो हो।

यही लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा बिहीबारदेखि पाँच दिने पोखरा सडक महोत्सव आयोजना हुँदैछ। पोखराको शहीदचोकदेखि खहरेसम्मको क्षेत्रमा ‘सडकमै खाऔं, सडकमैं नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने महोत्सवका लागि लेकसाइडलाई दुलहीझैं सिँगारिएको छ।

महोत्सवस्थल साढे तीन किलोमिटर क्षेत्रमा ध्वजापताका राखेर सजाइएको छ भने सो क्षेत्रका सडकलाई सरसफाइ गरेर कालो, सेतो र पहेँलो रङले पोतिएको छ।

महोत्सवस्थल वरपर बत्तीले झिलिमिली पारेर उज्यालो बनाइएको छ। साढे तीन किलोमिटर क्षेत्रमा नै विभिन्न रंगीविरंगी बत्तीले सडक झलमल्ल पारिएको हो। यसले पर्यटकलाई थप रौनकता प्रदान गर्ने अपेक्षा आयोजकको छ।

महोत्सवको प्रमुख कार्यक्रम स्थल कोमागाने पार्कलाई सजाएर झकिझकाउ बनाइएको छ। जहाँ मुख्य मञ्च बनाइएको छ र यसलाई आकर्षक ढंगले सजाइएको छ। यही ठाउँमा दिउँसो दोहोरी, अपराह्न पप तथा आधुनिक सांगीतिक प्रस्तुति र साँझमा दैनिक कन्सर्ट हुनेछन्।

मञ्चको अग्रभागमा दर्शक बस्ने चौर छ भने त्यसको पूर्वतर्फ नेवार, गुरुङ, मगर, दुरा लगायतका विभिन्न जातिको पहिचान झल्किने सांस्कृतिक तथा ऐतिहासिक घर, गोठ, पिङ लगायत बनाएर आकर्षक बनाइएको छ।

मुख्य कार्यक्रम स्थलबाहेक अम्बोट, गौरीघाट, हल्लनचोक र हल्लनचोकदेखि खहरे पुग्नुभन्दा अगाडिको क्षेत्रमा गरेर थप चार ठाउँमा पनि मञ्च बनाइको छ। त्यहाँपनि सांस्कृतिक कार्यक्रमदेखि मिनी कन्सर्टसम्म हुने जनाइएको छ।

दुलहीझैं सिँगार्ने क्रममा लेकसाइड प्रवेश क्षेत्रमा तीन वटा स्वागतद्वार निर्माण गरिएका छन्। लेकसाइड प्रवेश गर्ने पूर्वोत्तर क्षेत्रको जरेबर, दक्षिण पश्चिमी क्षेत्रको बुलौंदी र उत्तरी क्षेत्रको गैह्राको चौतारामा आकर्षक स्वागतद्वार निर्माण गरिएको छ। त्यसबाहेक पोखरा प्रवेश नाकाहरू पूर्वको पोखरा विमानस्थल अगाडिको औद्योगिक क्षेत्र, दक्षिणको बिरौटा र उत्तर पश्चिमको हरिचोकमा ठूला स्वागतद्वार निर्माण गरेर सजाइएको रेवान पोखराका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विश्वराज पौडेलले जानकारी दिए।

महोत्सवस्थल क्षेत्रका हरेक होटल तथा रेष्टुरेन्टहरूलाई पनि सिँगारिएको छ। सञ्चालकहरू आफैंले आआफ्ना होटल तथा रेष्टुरेन्टहरूमा रङरोगन गर्नुका साथै साइनबोर्ड पनि चम्काएर राखेका छन्। उनीहरूले आफ्नो होटल तथा रेष्टुरेन्ट वरपर सरसफाइ गर्नेदेखि सजावटसम्म गरेर आकर्षक बनाएका छन्।

त्यति मात्र होइन उनीहरूले होटल तथा रेष्टुरेन्टको अग्रभागमा किचन निकालेर त्यहीं बस्ने, खाने र रमाउने वातावरण बनाएका छन्।

प्रकाशित: १२ पुस २०८० ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App