५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आधुनिक खेती प्रणालीले बढ्याे अलैँची उत्पादन

आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन।  

सूर्योदय नगरपालिका १ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ। सबै खर्च कटाएर वार्षिक आठ-दश लाख बचत हुन्छ’, उनले भने। अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो। एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए।

उनका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो। ‘पोहोर एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएको थियो‘, उनले भने, ‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ।’ गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले बताए।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो। विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाखसम्म पनि पुग्यो।

आवश्यक तालिम र विज्ञको सल्लाह लिएर यहाँका किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन्। ‘पाखामा गाडेर मात्र नहुँदोरहेछ, स्याहार गर्न र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ‘, किसान शेरेङले भने, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो।’ उनले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताएका छन्।

अलैँची विकास केन्द्रका ततकालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पु¥याएको उनले बताए। ‘मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ, पोखरा, स्याङजापट्टि पनि आपूर्ति भएको छ‘, उनी भन्छन्, ‘मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आउँदो साल बृहत् गर्नु छ।’

प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ। अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो। किसानले अलैँचीका लागि संघसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो।

अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन्। घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरुको भनाइ छ। दशकअघिको खेती प्रविधि सम्झँदै माइजोगमाईका अधिकारीले भने, ‘त्योबेला अलैँची त दुःख नगरी फल्दोरहेछ, जबर्जस्ती आम्दानी लिएछौँ।’ सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उनले बताए।

पोहोरभन्दा झन्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताए। ‘गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो, यस वर्ष राम्रो अलैँची प्रतिमन ८० हजारसम्म बिक्री भइरहेको छ।’ उनका अनुसार जिल्लामा विगतमा जस्तै सबैतिर अलैँची खेती भने छैन। किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल घटेको छ। जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

६ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माइजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएकोे छ। अलैँची खेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ। –रासस

प्रकाशित: ११ पुस २०८० ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App