शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग गरेका छन्। सहकारीको नाममा रहेको सम्पत्ती वचतकर्ताहरुबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ती भएको भन्दै उनीहरुले लिलामीबाट रोक्न माग गरेका हुन्।
समस्याग्रस्तमा सूचिकृत उक्त संस्थाले वभिन्न १३ वटा बैंकबाट करिव ७ अर्ब रुपैयाँ ऋण लिएको छ। संस्थाको नामको सम्पत्ती धितोमा राखी बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरुले धमाधम लिलामीको प्रकियामा अगाडी बढाउने तयारी गरेका छन्। सहकारीको सम्पती लिलामी हुने भएपछि वचतकर्ताहरु तानवमा छन्।
उनीहरु बैंकले लिलाम गर्न लागेको सम्पत्ती वचतकर्ताहरुको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पतीलाई कुनै व्यापारी प्रतिष्ठानहरुले किन्ने र वचत रकम फिर्ता गरिदनुपर्ने माग राखेका छन्। बैंकले सबै सम्पत्ती लिलामी गरेर आफूहरुको लगानी नउठ्ने भन्दै उनीहरु चिन्तित छन्। यस्तै चल्दा चल्दैको उद्योगहरु बन्द भएको भन्दै उक्त उद्योग सञ्चालनमा ल्याई वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सुझाव दिएका छन्।
सहकारी ऐनको व्यवस्थाअनुसार सहकारीमार्फत किनेका सबै सम्पत्ती वचतकर्ताहरुको हुने भन्दै बैंक, सहकारी र सरकारी माफियाहरु मिलेर लिलामी गरी वचतकर्तारुहको रकम डुबाउन खोजिएको ओरोप समेत लगाएका छन्।
सहकारीले देशभरका करिव दुईलाख वचतकर्ताको १० अर्ब रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरु थुनामा छन्। गीता शर्मा सञ्चालक शर्माकी श्रीमती हुन्। वचतकर्ताहले आफूहरुको लगानी फिर्ता नहुने हो भने थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
उक्त सहकारीले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रेदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको छ । सहकारीले गोर्खा टी एण्ड कफी, गोर्खा टोब्याको, गोर्खा बेभरेज, उपकार ब्राण्डका घिउ, अचार, पानी, तुल्सी ब्राण्डका कम्पनी, चक्लेट कम्पनी, देशभर सञ्चालित २३ वटा गाडेन मार्ट लगायतमा लगानी गरेका छन् ।
यस्तै काठमाडौं, भक्तपुर, ललितपुर चितवन र मकवानपुर लगायत ठाउँमा दुई सय विगा भन्दा धेरै जग्गा खरिद गरेको छ। सरकारीको नाममा करिव ५ सय वटा सवारीसाधन पनि छन्। सरकारले गत भदौदेखि उक्त सहकारीलाई समस्याग्रस्तमा राखेसँगै हाल सबै कम्पनी प्रायः बन्द अवस्थामा छन् भने सहकारीको नामको सम्पत्ती बैंकले रोक्का राखेको छ। वचतकर्ताहरुको रकम हिनामिना गरेको सहकारीका पूर्वअध्यक्ष एवं सञ्चालक केदारनाथ शर्माले भारतको राजस्थानमा नेपाः शिखर इण्डिया नामक कम्पनीमा लगानी गरेको आरोप पनि छ।
प्रकाशित: ९ पुस २०८० ०३:५७ सोमबार