१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रमा अधिकांश सूचक सुधारोन्मुख: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल नभएपनि अहिले क्रमश: सुधारोन्मुख भएको दावी गरेका छन्। 

अर्थमन्त्री महतले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विगतमा भन्दा अर्थतन्त्रमा धेरै सुधार भएको बताएका हुन्। ‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्,’ उनले भने, ‘कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयात तर्फ उच्च कर्जा प्रवाह भएको थियो।

विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, व्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको  थियो भने घर जग्गा र शेयर कारोवारमा ठूलो गिरावट आएको उनको भनाइ छ।

अर्थमन्त्री महतले  आफूले अर्थमन्त्रालयको जिम्मेवारी लिने क्रममा सार्वजनिक खर्च तर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र संभावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको दावी गरे।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत आर्थिक सुधार  र बजेट प्रणाली सुधारमा विषयमा क्रमशः काम गर्दै आइरहेको दावी गरे। ‘सरकारी खर्च तर्फ वित्त अनुशासनलाई जोड दिइएको छ। 

स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको छ। जसमा चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको छ’ अर्थमन्त्री महतले भने  ‘यस व्यवस्थाले आयोजनाको प्राथमिकिकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ। त्यसैगरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ।’

अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएका बताए। उनले हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्त्वपूर्ण परिवर्तन भएको छ।

‘यस अवधिमा पुँजीगत खर्च तर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको छ। त्यसै गरी भन्सार महसुल तर्फ करीब १३ प्रतिशतले बढेको छ। मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र  समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ,’ उनले भने‘ वित्तीय क्षेत्र तर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरिएको छ,’ उनले भने।

२०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको छ। निक्षेप तर्फ २०७९/८० को पहिलो चार महिनामा रु ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा  २४४ अब रुपैयाँ पुगेको छ। 

‘मौद्रिक  नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको  सकारात्मक प्रभाव क्रमशः  आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ,’ उनले भने  ‘घरजग्गा र शेयर कारोवार बढ्न शुरु भएको छ।’

प्रकाशित: २७ मंसिर २०८० ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App