१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नीतिगत भ्रष्टाचार रोक्न माग

‘मुलुकको वर्तमान अवस्था र अबको निकास’ अन्तरसंवादमा धारणा राख्दै पूर्व अर्थमन्त्री युवराज खतिवडा र कांग्रेस नेता मिनेन्द्र रिजाल। तस्बिर : चुमन/नागरिक

नीतिगत भ्रष्टाचार रोक्न मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्। मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको ‘मुलुकको वर्तमान अवस्था र अबको निकास’ विषयक अन्तरसंवाद कार्यक्रममा उद्योगी व्यवसायीले नीतिगत भ्रष्टाचार रोक्न माग गरेका हुन्।

उद्योगी शंकरलाल अग्रवालले नीतिगत भ्रष्टाचार रहेसम्म आर्थिक विकास संभव नरहेको बताए। उनले नेपालका उद्योगीहरूले यतिवेला अपेक्षा गर्ने आधारसमेत नदेखिएको धारणा राखे। उत्पादन गर्नेभन्दा उपभोक्तालाई महँगीको मारमा पार्ने सरकारी नीतिले अर्थतन्त्रमा चौतर्फी समस्या देखिएको उनको भनाइ छ। ‘उत्पादन बढाउने, माग सिर्जना गर्ने भन्दा उपोभोक्तलाई महँगीमा पार्ने सरकारी नीतिले चौतर्फी समस्या निम्त्याइरहेको छ।’

अग्रवालले राजनीतिक र व्यक्तिगत स्वार्थका आधारमा नीति निर्माण गर्ने प्रवृत्तिले नेपालको अर्थतन्त्र थिलथिलो बनाइसकेकाले अब यस्तो प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए।

उद्योगी खेमचन्द्र जैनले नीतिगत भ्रष्टाचार नहटेसम्म आर्थिक क्षेत्रको विकास संभव नहुने बताए। ऋण लिएर देश चलाउने प्रवृत्तिले विदशेबाट लिने ऋणभन्दा तिर्नुपर्ने ब्याज बढी हुने अवस्थामा पुगेको जैनको भनाइ छ। उनले प्राप्त हुने वैदेशिक ऋणभन्दा लिएको कुल ऋणको तिर्नुपर्ने ब्याज बढी हुने अवस्था आइसकेका कारण समयमै सचेत नभए संकट निम्तिने बताए।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगी व्यवसायीलाई कस्ने र थुन्ने सरकारको नीतिले अर्थतन्त्रमा सुधार नआउने बताए। उनले कुरा सुन्नेभन्दा थुन्ने र उद्योगी व्यवसायीलाई विभिन्न कानून देखाएर तर्साउने प्रवृत्तिले समस्याको समाधान नहुने धारणा राखे।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले चर्को ब्याजदरको समस्या बिस्तारै हल हुने क्रममा देखिएको धारणा राखे। ब्याजदर घट्दै गएर अर्थतन्त्र चलायमान बन्दै जाने अवस्था सिर्जना हुँदै गएको बताए। राजनीतिक तजबिजीको आधारमा आर्थिक नीतिहरू बनाउँदा अर्थतन्त्रमा समस्या देखिने गरेको बताए।

खतिवडाले विगतमा राजनीतिक तजबिजीकै आधारमा सामान आयातको कोटा तोकिँदा समग्र अर्थतन्त्रमा नै शिथिलता देखिएको बताए। वस्तु आयातमा १० प्रतिशतको मार्जिनलाई एकैपटक सय प्रतिशत पु¥याउनु गलत भएको बताए।

खतिवडाले भने ‘सामान आयातमा १० प्रतिशत मार्जिनको नीतिलाई राजनीतिक तजबिजीको आधारमा एकै पटक सय प्रतिशत पुर्‍याउनु गलत भयो।’ खतिवडाले उत्पादनमा प्रोत्साहनको नीति ठीक रहे पनि निर्यातमा प्रोत्साहनको नीति विभेदरहित बनाउनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपालको अर्थतन्त्रको चरित्र फेरिएको बताए। उनले उपभोग गर्न सक्ने तर उत्पादन गर्न नसक्ने अवस्थाले अर्थतन्त्रमा समस्या निम्त्याएको धारणा राखे।

प्रकाशित: १८ मंसिर २०८० ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App