१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन हप्तामा २ हजार रुपैयाँ बढ्यो

काठमाडौं– पछिल्लो तीन हप्तादेखि सुनको भाउ उकालो लागिरहेको छ । मंसिर अन्तिम हप्तासम्म घट्दो क्रममा रहेको सुन पछिल्लो तीन हप्तामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अभिलेख अनुसार शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सयमा कारोबार भएको छ । पुस २ गते ५४ हजार ३ सयमा कारोबार भएको सुन त्यसपछिका तीन हप्तामा २ हजार रुपैयाँले बढेको हो ।

बिहीबार ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एकै दिन ५ सय रुपैयाँले बढेको थियो । महासंघका अनुसार अमेरिकी डलर कमजोर भएकाले सनुको भाउ वृद्धि हुँदै गएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पनि बढेकोले सुनको भाउ वृद्धिमा योगदान पुगेको महासंघले जनाएको छ ।
सन् २०१८ सुरु भएपछि कारोबार बढ्न सक्ने अनुमान गरेकोले पनि सुनको भाउ बढ्न गएको बताइन्छ । पुसको १ गते सुनको मूल्य पछिल्लो चार महिनाकै सस्तो बिन्दुमा पुगेको थियो ।

चाँदीको मूल्य भने यो गत हप्ताभर परिवर्तन भएन । गत हप्ता चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । भदौमा सुनको मूल्य एक वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । भदौमा अधिकतम ५७ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । अमेरिका र उत्तर कोरियाबीच विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेकाले सो महिना नेपालमा पनि मूल्य उच्च बिन्दुमा पुगेको थियो ।

नेपाली बजारमा हालसम्म सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँसम्म पुगेको तथ्यांक छ । २०६९ सालमा प्रतितोला ६३ हजार पुगेको सुन त्यसपछि ४८ हजार रुपैयाँसम्म झरेको थियो ।

 

प्रकाशित: २३ पुस २०७४ ०१:५० आइतबार

हप्तामा रुपैयाँ बढ्यो