७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै

पोखरा पृथ्वीचोकस्थित सेती नदी पुलमा निर्माण गरिन लागेको पुलको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि थप दुई वटा पुल निर्माण सुरु भएको छ। 

पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा पृथ्वी राजमार्ग बिस्तारसँगै पुल पनि बनाउन थालिएको हो।

पोखरा महानगरपालिका–९ र १० जोड्ने सो पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरे। पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सडकसँगै पुल निर्माण गरिन लागेको हो।

पृथ्वीचोकस्थित सेती नदीमा हाल रहेको पुलको दायाँ र बायाँ दुबैतर्फ एक/एक वटा गरेर दुई वटा पुल निर्माण गरिनेछ। एसियाली विकास बैंकको सहयोगमा १ अर्ब १५ करोड रुपैयाँको लागतमा बन्ने यो पुल एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गर्नेछ।

पुल २०८२ साल भदौ २५ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भई निर्माण सुरु गरिएको निर्माण कम्पनी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कनट्र्याक्ट म्यानेजर सुदर्शन देवकोटाले जानकारी दिए।

पुलको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुल समयमै बनाउन निर्माण कम्पनीलाई निर्देशन दिए। 

‘निर्माणमा ढिलाइ, गुणस्तरमा समस्या, पेमेन्टमा ढिलाइ लगायतका समस्या देखिने गरेका छन्,’ उनले भने, ‘तर कम्तीमा सेती नदी पुल निर्माणमा त्यस्तो नहोस्।’ 

पुल निर्माणका लागि आवश्यक सबै सहयोग सरकारको तर्फबाट हुने भन्दै तर गुणस्तर कायम गर्न र समयमै सक्ने बारेमा निर्माण कम्पनीलाई ध्यान दिन उनको आग्रह थियो।

कास्की क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले निर्माणका क्रममा आउने बाधा अवरोध फुकाउन सबै एकजुट हुनुपर्ने बताइन्। 

उनले भनिन्, ‘निर्माणका क्रममा अवरोध आउन सक्छन्। त्यसैले जनता र राज्यबीच देखिने अवरोध हटाउन राज्यका निकाय, जनप्रतिनिधि र स्थानियबीच सहकार्य गरौं।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणमा स्थानीयको तर्फबाट बाधा, अवरोध आउन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘पुल निर्माणमा हामी सघाउँछौं,’ उनले भने, ‘घण्टा, मिनेट र सेकेण्ड पनि अवरोध हुन दिदैनौं।’

एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रतिनिधि आर्नव ह्याकमेनले नेपालको विकास र समृद्धिका लागि एडिबीले नेपालमा १ अर्ब डलर बराबरको भौतिक पूर्वाधारका काम गरिरहेको बताए। 

‘हामीले नेपालको विकासमा धेरै नै सहयोग गरिरहेका छौं,’ उनले भने, ‘तर यो पर्याप्त छैन। यहाँको आर्थिक अवस्थाका कारण पूर्वाधार निर्माणमा हामीले अझै थप्नुपर्छ।’ 

विकास र समृद्धिको आधार भनेको सडक र पुल नै भएकाले त्यसका लागि भौतिक पूर्वाधार थप्नुपर्ने उनको भनाई थियो।

पुल निर्माण कम्पनी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कनट्र्याक्ट म्यानेजर सुदर्शन देवकोटाले समयमै पुल निर्माणको काम सक्नका लागि सरकार र स्थानीय दुवैको सहयोग आवश्यक पर्ने बताए।

‘निर्माण स्थलमा नर्सरी र घर भएकाले यो चाँडो हटाई दिनुपर्छ,’ उनले भने ।

पुल निर्माण भएमा हाल हुँदै आएको ट्राफिक जाम हटाउन सहज हुने सरोकारवालाको भनाई छ। किनकि नेपालका अधिकांश ठाउँबाट पोखरा भित्रिने र बाहिरिने सवारी साधन यही पुलबाट आवतजावत हुने भएकाले यहाँ अत्यधिक ट्राफिक जाम हुने गरेको छ। 

नजिकै पोखरा रंगशालापनि भएकाले खेल सञ्चालनको बेलामा त झन् ट्राफिक जामले समस्या हुने गरेको छ। पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा यी यावत समस्या समाधान हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०८० ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App