जुम्ला तिला गाउँपालिका ३ पाडालुम्सेरा गाउँ नजिकै कर्णाली रागमार्गको छेउमै आठ वटा प्लाष्टिकका टनेल छन्। १५ रोपनीमा बनाइएका विभिन्न टनेलभित्र तरकारी खेती गरिएको छ। त्यहाँका कुनै टनेलमा लटरम्म टमाटर फलेका छन् भने कुनैमा रहर लाग्दो गरेर तितेकरेला, भेन्टा फलेर झुण्डिएका छन्।
यसरी व्यावसायिक तवरले तरकारी खेती गर्ने युवा तातोपानी १ का ३२ वर्षीय परानबहादुर धराला हुन्। उनी तातोपानीका बासिन्दा भए पनि तिलाको जग्गा वार्षिक रूपमा ९५ हजार रूपैयाँमा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्।
धराला भन्छन्, ‘नजिकैबाट तिला नदी बगेर जाने भएकाले तरकारी खेतीको लागि यो जमिन छनोट गरिएको हो। यसले सिँचाइ गर्न सहज भइरहेको छ।’
तरकारी खेतीबाट उनले वर्षमा पाँच लाख रूपैयाँ कमाउने गरेका छन्। तरकारी किन्न बारीमै पुगेकी विष्णु बुढा उनले तरकारी उत्पादन गर्न गरिरहेको मेहनत देखेर चकित भइन्। बुढाले एक सय ५० रूपैयाँ प्रतिकिलोमा तितेकरेला ल्याइन।
उनले भनिन्, ‘बेरोजगार हरेक युवा परानबहादुरको बाटोमा लाग्न सके जुम्लालाई आर्थिक रूपमा बलियो बनाउन धेरै दिन लाग्दैन।’
परानबहादुरको तरकारी कालीकोटको नाग्म, जुम्लाकोे सीता बजार, त्रिबेणी, कुडारी, तातोपानी, लाम्रा र सदरमुकाम खलंगाका बजारहरूमा खपत हुने गरेको छ।
२०६९ सालदेखि तरकारी खेती थालेका परानबहादुर त्यसअघि भेडा लिएर पाटनतिरै बस्थे, भेडापालनमा धेरै दुःख फाइदा भने कम हुने देखेपछि उनी तरकारी खेतीमा होमिएका हुन्। २०७४ सालदेखि तरकारी उत्पादन फार्म खोलेर खेती गरिरहेका परानले नयाँनयाँ तरकारीको बिउ लगाएर अनुसन्धान समेत गरिरहेका छन्।
आर्थिक अभावका कारण धरालाले औपचारिक शिक्षा लिन पाएका छैनन्। सानैदेखि भेडी गोठालो लागेकाले पढ्न नपाउनुको दुःख उनले राम्ररी बुझेका छन्। उनको फार्ममा टमाटर, तितेकरेला, अकवरे खोर्सानी, भान्टा (बैगुन) र काँक्रालगायतका तरकारी लगाइएको छ।
टमाटर प्रतिकिलो एक सय, तितेकरेला एक सय ५०, अकबरे खुर्सानी तीन सय रूपैयाँ प्रतिकेजीमा बेचिरहेका छन्। भेडा गोठालो लागेका परानबहादुर पैसो कमाउने बाटो खोजिरहेका थिए। एक दिन सदरमुकाम खलंगा पुगे र त्यहाँ निकै राम्रोसँग तरकारी बिक्री भइरहेको देखे। उनले तरकारीमै भविष्य रहेको ठम्याई जग्गा भाडामा लिएर व्यावसायिक खेती प्रारम्भ गरे। उनले झण्डै ५० देखि ६० हजार रकमले तरकारी खेती थालेका थिए।
नयाँ परिचय ‘तरकारी भाइ’
धरालाले जुम्लामा तरकारीको बजार छैन, कुहिएर खेर जान्छ भन्ने भ्रम चिर्दै जति धेरै उत्पादन गर्न सक्यो उति धेरै बजारमा लान सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। अहिले धरालाको परिचय नै नयाँ बनेको छ। अधिकांश व्यापारीले उनलाई ‘तरकारी भाइ’ भन्ने गर्छन्। उनको तरकारीबारीसँगै सडक जोडिएको छ।
तरकारी लिन अधिकांशले गाडी लिएर जाने गरेका छन्। कालिकोटको नाग्म बजारदेखि जुम्ला सदरमुकाम खलंगासम्मको बजार उनैले धानेका छन्। ‘ठूलो देशसँग तुलना त गर्न सकिन्न तर यति दुःख गर्ने हो भने खाडी जानै पर्दैन’, उनले थपे।
उनको तरकारी खेतीको चर्चा जिल्लाभर चुलिएको छ। तातोपानी ३ का रामकृष्ण चौलागाईं तरकारी खेतीमा परानबहादुरको भविष्य जोडिएको बताउँछन्। उनको दुःख र मिहेनत सबै युवाहरूको प्रेरणा बनिरहेको छ।
तातोपानी गाउँपालिकाले पनि तरकारी खेती गर्नेको पहिलो सूचीमा परानबहादुरकै नाम राखेको छ तर परानबहादुरले अहिलेसम्म सरकारी अनुदान लिएका छैनन्। उनी पहुँचविहीन भएकाले अनुदानको पछि लाग्दैनन्। वर्षभरि तरकारी उत्पादन गरेको कमाइ अर्को वर्ष तरकारी खेतीमै लगानी गर्छन्।
परानबहादुरले भने, सरकारी अनुदान हाम्रो लागि आएको होइन। पहुँचवाला, नेता र मन्त्रीका आसेपासेको रोजीरोटीको लागि मात्र उपयोग भइरहेको बताउने धराला भन्छन्, ‘अनुदानको आश समेत गरिँदैन।’
प्रकाशित: २४ कार्तिक २०८० ०२:०२ शुक्रबार