सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्। सरकारले गत जेठमै राजपत्रमा न्यूनतम ज्याला दैनिक पाँच सय रूपैयाँ तोकेको थियो। तीन महिना बितिसक्दा पनि आफूहरूले सरकारले तोकेको ज्याला नपाएपछि आन्दोलन गर्न बाध्य भएको मजदुरहरूले जनाएका छन्।
‘दैनिक आठ घण्टा काम गरेबापत नेपाल सरकारले तोकिसकेको पाँच सय रूपैयाँ दिन पनि कम्पनीले बेवास्ता गरिरहेको छ’ श्रमिक संघ स्वतन्त्र चिया मजदुर संघका अध्यक्ष बालगोविन्द मुण्डाले भने। उनका अनुसार मजदुरहरूले पटक पटक माग गर्दा पनि कम्पनीले बेवास्ता गर्दै आएको छ। दैनिक आठ घण्टा काममा खटिने मजदुरको सेवा सुविधाको लागि कम्पनीले उचित ध्यान दिनुको सट्टा उल्टो चालबाजी गर्दै आएको उनीहरूको गुनासो छ।
सरकार मातहत रहेको बगान सुवास संघाईलाई ५० वर्षका लागि भाडामा दिने सम्झौता गरिएपछि विभिन्न चालबाजी हुँदै आएको मजदुरहरूले बताए।
पहिला एक सय ५६ जना स्थायी मजदुर रहेकोमा घट्दै गएर ३३ जनामा सीमित भएका छन्। त्यसपछि कम्पनीले नयाँ मजदुरलाई स्थायी गरेको छैन।
स्थायी प्रक्रियालाई स्थगित गर्न अस्थायीलाई ६ महिना नपुग्दै कामबाट निकाला गर्ने र पछि तिनै मजदुर भर्ना गर्ने तरिका अपनाएको उनीहरूको आरोप छ। जम्मा ३३ जना स्थायी कर्मचारी रहेको बगानमा दुई सय जना अस्थायी मजदुर छन्।
अस्थायी मजदुरहरू हड्तालमा उत्रिएपछि ३३ जना स्थायी कर्मचारीका भरमा बगानको काम गराइ राखिएको छ। कम मजदुरको भर पर्दा बगानको चियाका मुना छिप्पिइसकेको मजदुरहरूले बताए।
अत्यन्त कम ज्यालाको भरमा दैनिकी धान्नै सकस परेपछि कति मजदुरहरू स्थायी जागिर छोडेर विदेशिएको र कतिपय वस्तीमा काम खोज्न गइसकेको चिया मजदुर राजन सुन्दासले बताए। कम्पनीको अहिलेको व्यवस्थाले सकस झेलिरहेको उनले सुनाए। सुन्दास बगानका पुराना मजदुर हुन्।
दैनिक चार सय ३५ रूपैयाँका दरले मासिक ११ हजार तीन सय १० रूपैयाँ हुन्छ। बिदाका दिनहरूको ज्याला पनि पाइँदैन। बीचमा अति आवश्यक बिदा वा बिरामी बिदा लिनुपर्यो भने मासिक १० हजार रूपैयाँ भन्दा कम रूपैयाँ मात्र हात पर्छ।
मासिक आम्दानीले मजदुरहरूलाई दाल चामल किन्नसमेत हम्मेहम्मे परेको सुन्दासले बताए। ‘तेलको मूल्य तीन सय नाघेको छ, चामल, तरकारीको मूल्य उत्तिकै महँगो छ, कसरी थाम्नु?’ उनले भने।
स्थायी मजदुर हुनुको पीडा झन् अप्ठेरो रहेको श्रमिक संघ स्वतन्त्र चिया चिया मजदुरका अध्यक्ष मुण्डाले सुनाए। अहिलेको सेवा सुविधाले स्थायी मजदुर मर्कामा परेको उनले सुनाए।
सीमित सञ्चय कोषबाहेक तलब सुविधा अस्थायी मजदुर सरह नै भएको र लामो समय काम गरेबापत पाउने ग्रेड तलब लगायतका सुविधा समेत नपाएको उनले बताए। उनका अनुसार न तलबले दैनिकी चलाउन सकिएको छ न बाहिर गएर अन्य काम गर्ने स्थिति नै रहेको हुँदा स्थायी मजदुर बधुँवा सरह बनेको उनले बताए। मुण्डाले यो कम्पनीमा चिया टिप्न थालेको ४३ वर्ष भइसकेको छ। यो अवधिमा उनको सञ्चय कोेष डेढ लाख रूपैयाँ मात्र जम्मा भएको छ।
यो सञ्चय कोष लिन चिया बगानमा बसेको टहरा नै छोडेर जान कम्पनीले अड्डी कसेको उनले सुनाए। कम्पनीले दिएको बाँसको खम्बाको घर हावा आउँदा उडाउने भएपछि उनको परिवारले अन्य आयश्रोत जुटाएर केही बलियो घर बनाएको हो।
जीवनभर बगानको लागि काम गरेपछि उनको कतै जग्गा जमिन छैन। कम्पनीले उठेर जा भनेको अवस्थामा घरबास बन्ने अवस्था छैन। यस्तो समस्या मुण्डा जस्तै अन्य स्थायी मजदुरको पनि छ। ‘स्थायी मजदुर भनेर गर्व गर्नु धिक्कार छ, बरु अस्थायी मजदुर काम छोडेर विदेश जान सक्छन्, स्थायी कर्मचारी भनेर बगान कुर्दा जिन्दगी सकियो’, उनले भने।
सरकार मातहत रहँदाका अन्य सुविधा संघाइले बगान लिएपछि कटौती भएको उनीहरूको गुनासो छ। मजदुरका लागि दिइने मासिक चिया पत्ती, हातमा लगाउने पन्जा, बुट, टोपी जस्ता सुरक्षाका सामग्रीहरू समेत कटौती गरेको उनले सुनाए। कम्पनीले न घामबाट ओत लाग्ने क्याप दिएको छ, न छाता नै। ‘अस्थायी मजदुरले सुरक्षा सामग्री विनै काम गर्ने गरेका छन्’ उनले भने।
एक महिनासम्म पनि हड्ताल सम्बोधन नगरेको विषयमा चिलिमे चिया बगानका व्यवस्थापक लोकनाथ दंगालले कम्पनीमा सरकारले तोकेको ज्याला दिन सक्ने स्थिति नरहेको बताए। कतिपय बगानमा पाँच सय ज्याला दिन थालिसकिएको भए पनि कतिपयमा लागु हुनै नसकेको उनले बताए।
‘पाँच सय रूपैयाँ दिएर कम्पनीलाई पोसाउँदैन, हामी केही गर्न सक्दैनौं’, उनले भने। संघाईले पचास वर्षको लागि टोक्ला चिया बगान, सोक्तिम, चिलिमेकोट, बाह्रदेशी, इलाम, वर्ने लगायतका चियाबगान सञ्चालन गर्दै आएको छ।
प्रकाशित: १७ कार्तिक २०८० ००:५४ शुक्रबार