१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

युरोपमा नेपाली चियाको माग उच्च

इलामको माइपोखरीस्थित जस्बिरले चिया प्रशोधन उद्योगमा प्रशोधनका लागि हरियो पत्ती ट्रफमा राख्दै शरद सुब्बा । तस्बिर : भीम

इलाम – भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरूमै पुगेर आउँदो वर्षका लागिसमेत तयारी चिया ‘बुक’ गरेका हुन्। 

विश्वमै प्रख्यात दार्जिलिङको चिया खरिद गर्न नसकेपछि यो वर्ष पनि उताका व्यवसायीले नेपालमा उत्पादित उच्च गुणस्तरको अर्गानिक चिया खरिद गरेका थिए । गत चैतमा सुरु हरियो चिया टिप्ने सिजन सकिन केही दिन मात्र बाँकी छ । चिया टिपाइ मैजारो हुन लाग्दा जर्मनीको टी स्वेड्नर कम्पनीबाट आएको १० व्यापारीको टोली करिब तीन साता नेपालका अर्गानिक चिया उद्योग चहारेर शनिबार फर्केको छ । चिया व्यापारमा विश्वमै चर्चित जर्मन व्यापारी थोमस होल्जको नेतृत्वमा आएको टोलीले इलामको सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेट, साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, धनकुटाको गुराँसे चिया उद्योगलगायतको निरीक्षण गरेको थियो। 

करिब डेढ साता इलाममै बिताएको टोलीले आउँदो सन् २०१८ का लागि ठूलो परिमाणको अर्गानिक तयारी चिया नेपालबाटै लैजाने भएको गोर्खा टीका सञ्चालक उदय चापागाईंले बताए । ‘दार्जिलिङजस्तै हावापानीमा रहेको इलामसहितका पहाडी जिल्लाको अर्गानिक चिया विदेशी व्यापारीको रोजाइमा परेको छ,’ उनले भने, ‘आउँदो वर्षका लागि हाम्रो उत्पादनले नधान्ने परिमाणको चिया माग गरेर उनीहरू फर्किएका छन् ।’ गोर्खाल्यान्ड आन्दोलनका कारण चियाको मुख्य सिजनमा दार्जिलिङ एक सय चार दिन बन्द भएको थियो । त्यसबेला नेपालको अर्गानिक अर्थाेडक्स चिया, जर्मनी, अमेरिका, जापान, चीन, अस्ट्रियालगायत देशमा उच्च माग भएको थियो। 

हिमालयन सांग्रिलाका सञ्चालक कमल मैनालीले दार्जिलिङ बन्द भएका बेला यहाँको चियाको माग मात्र होइन, मूल्यसमेत बढी पाएको बताए । ‘चियाको माग र मूल्य गत वर्षहरू भन्दा बढी भएकैले यो वर्ष किसानले समेत हरियो पत्तीमा प्रतिकिलो १७ रुपैयाँ बढी मूल्य पाए,’ उनले भने, ‘दार्जिलिङको चिया जान नसकेपछि तेस्रो मुलुकबाट नेपालमा चियाको माग धेरै आयो ।’ मैनालीले उताका व्यापारीले आउँदो वर्षका लागिसमेत चिया माग गरेको बताए । ‘दार्जिलिङको चियाले विश्वमा जसरी बजार पाइरहेको थियो, त्यो चिया बन्द भएपछि व्यापारीले आउँदो वर्षलाई समेत तयारी चिया यहीँ बुक गरेका छन् ।’ उनले चिया उत्पादन मौसममा भर पर्ने भएकाले आउँदो वर्षलाई यति नै परिमाणको चिया दिन सकिन्छ भन्ने निश्चित नभएको बताए । उद्योगमा यो वर्ष एक लाख किलो तयारी अर्गानिक चिया उत्पादन भएको छ । गत वर्षभन्दा उत्पादन घटेको मैनालीले बताए। 

दार्जिलिङभन्दा नेपाली चिया ‘योङ बुस’बाट उत्पादन हुने भएकाले तेस्रो मुलुकका व्यापारीले यहाँको चियामा बढी चासो देखाउने गरेको व्यापारीको अनुभव छ । ‘हिमालको सामु रहेर पहाडी हावापानीमा हुर्केको नेपाली चिया दार्जिलिङभन्दा राम्रो गुणस्तरको रहेकोसमेत व्यापारीले बताएका छन्,’ उद्योगी चापागाईंले सुनाए, ‘आउँदो वर्ष नेपालको चिया बढीभन्दा बढी लैजाने उनीहरूको उद्देश्य रहेछ ।’ तर, तेस्रो मुलुकका व्यापारीले यहाँको प्रमाणित अर्गानिक चिया मात्रै व्यापारका लागि लैजानेछन्। 

दार्जिलिङ बन्द भएका बेला नेपाली चिया अहिलेसम्म नेपालको चिया नपुगेका देशमा समेत पुगेको व्यवसायी बताउँछन् । ‘दार्जिलिङको आन्दोलन केही मत्थर भए पनि स्थायी समाधान नभएकाले विश्वका चिया व्यापारी झस्किएका छन्,’ चापागाईं भन्छन्, ‘उही गुणस्तरको चिया नेपालमा पाइने भएकाले उता आउने व्यापारीले समेत यताकै चियामा चासो देखाएका छन् ।’ गोर्खा टीमा यो वर्ष ५० हजार किलो तयारी चिया उत्पादन भएको छ । अबको करिब दुई सातामा थप १० हजार किलो उत्पादन हुने अनुमान उनको छ । गतवर्ष ७६ हजार किलो चिया उत्पादन भएको उद्योगमा बढी वर्षा र हुस्सुले यो वर्ष उत्पादन घटेको हो ।

विशेष गुणस्तरको नेपाली अर्थाेडक्स अर्गानिक चिया नियमित रूपमा खरिद गर्ने तेस्रो मुलुकका व्यापारीले पनि यो वर्ष माग बढाएको साना उद्योगीले बताएका छन् । गत वर्ष तीन हजार र यो वर्ष पाँच हजार किलो तयारी अर्गानिक चिया उत्पादन गरेको माइपोखरी चिया उद्योगमा चीनलगायत देशबाट ५० हजार हाराहारी किलो तयारी चियाको माग आएको छ । तर, मागअनुसार परिमाण नै पुर्‍याउन नसकेको उद्योग सञ्चालक शरद सुब्बाले बताए । ‘स्पेसल (ह्वाइट र गोल्डेन) चियाको माग यो वर्ष धेरै (दुई हजार तीन सय किलो) आयो,’ उनले भने, ‘मागको आधा पनि चिया बनाउन सकेका छैनौं । आउँदो वर्षको माग धान्न पनि उस्तै गाह्रो छ।’ 

सुब्बाको उद्योगमा ३५ प्रकारको तयारी चिया उत्पादन भइरहेको छ । यो उद्योगले सुनकेसरी, कोठीडाँडा ब्युटी र ऐंसेलुखर्कका नाममा यहाँको चिया तेस्रो मुलुक बिक्री गर्छ । यहाँको चिया बढीजसो नेदरल्यान्डको तातोपानी टी कम्पनीले खरिद गरिरहेको उनले बताए । ‘उच्च गुणस्तरको चिया तेस्रो मुलुकमा प्रतिकिलो सय युरोसम्ममा बिक्री हुने गरेको छ,’ उनले सुनाए।

पाँचथरको कञ्चनजंघका टी प्रोड्युसर्स प्रालिले यो वर्ष पनि गत वर्षकै हाराहारीमा ४० हजार किलो तयारी अर्गानिक चिया उत्पादन ग¥यो । उद्योगका प्रबन्धक निरानन्द आचार्यका अनुसार नियमित चिया लैजाने व्यापारीकै माग धान्न बर्सेनि हम्मे परेको छ । ‘विशेष गुणस्तरको चियाको माग जहिले पनि धेरै नै हुन्छ,’ उनले भने, ‘तर, गुणस्तर र परिमाणको अनुपात मिलाउन सक्नुपर्छ ।’ कहिलेकहीँ उच्च गुणस्तर (पहिलो टिपाइ)को चियाको परिमाण नपुग्दा दोस्रो, तेस्रो टिपाइको चिया मिसाएर दिनुपर्ने भयो भने त्यसको गुणस्तर घट्ने उनले सुनाए । ‘मागको परिमाण र गुणस्तर पु¥याउने हो भने तेस्रो मुलुकमा नेपाली चियाले राम्रो मूल्य पाउने छ,’ उनले भने।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा आर्थिक वर्ष ०७२/७३ मा दुई करोड ४२ लाख ६३ हजार सात सय ४४ किलो तयारी चिया उत्पादन भएको छ । त्यसमध्ये ५८ लाख एक हजार तीन सय १२ किलो अर्थाेडक्स र एक करोड ८४ लाख ६२ हजार तीन सय ३२ किलो सिटिसी चिया उत्पादन भएको बोर्डको तथ्यांक छ । उद्योगीका अनुसार अर्थाेडक्समध्ये पनि बर्सेनि करिब तीन लाख किलो चिया मात्रै अर्गानिक छ । त्यस आवमा नेपालले १३ हजार दुई सय ८९ मेट्रिक टन चिया विदेश निर्यात गरी दुई अर्ब ४० करोड ११ लाख नौ हजार रुपैयाँ भित्र्याएको तथ्यांक बोर्डको छ। 

प्रकाशित: १४ कार्तिक २०७४ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App