१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भूमिकर बढी लिएको विरोधमा तालाबन्दी

मालपोत कार्यालयले भूमि कर बढी लिएको बिरोधमा वडा कार्यालयमा तालाबन्दी गरिँदै। तस्बिर: नागरिक

मालपोत कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रका जग्गाको भूमि कर तोकिएको मापदण्डभन्दा बढी लिएको बिरोधमा वडा नम्बर २ को कार्यालयमा मंगलबार स्थानीयले तालाबन्दी गरेका छन्। जग्गा व्यवसायीसँगै स्थानीय युवाले वडा कार्यालयमा दुई घण्टासम्म तालाबन्दी गरेका हुन्।

तोकिएकोभन्दा बढी भूमि कर लिएको हुँदा समायोजन गर्न दबाब दिँदै वडा कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म तालाबन्दी गरिएको हो। तालाबन्दीका कारण दुई घण्टासम्म सेवा ठप्प हुन पुग्यो। जग्गा व्यवसायीसँगै स्थानीय युवाले तोकिए अनुसारको भूमि कायम नभएसम्म चरणबद्ध आन्दोलन गर्ने जनाएका छन्।

वडाअध्यक्ष माधव कोइरालाका अनुसार मालपोत कार्यालयले भूमिको बढी मूल्याङ्कन गरेर वडाले सिफारिस दिँदा बढी कर लिने र कम्ती मूल्याङ्कन गरेर सिफारिस दिँदा मालपोतकै मापदण्ड बमोजिम लिने गरेको खुलेको छ।

‘कतिपयले बढी मूल्याङ्कन गरेर सिफारिस गरिदिनु भन्ने माग आउने गरेको हुँदा इटहरी उपमहानगरपालिकाले राजमार्ग छेउछाउ र भित्री जग्गाका अलग अलग मूल्याङ्कन गर्न थालेको छ,’ उनले भने।

राजमार्ग छेउको जग्गाको मूल्याङ्कन मालपोतले तोकेको भन्दा बढी छ। यसरी बढी मूल्याङ्कनको सिफारिस गरेर पठाउँदा बढी राजस्व लिएको भन्ने गुनासो आएपछि असन्तुष्ट समूहले तालाबन्दी गरेको वडाध्यक्ष कोइरालाले बताए। बढी कर लिएको विषयबारे नगरप्रमुख हेमकर्ण पौडेललाई जानकारी गराइ समस्या समाधान गर्न आग्रह गरिएको कोइरालाले बताए।

यसैबीच, इटहरी नगरसभाले पास गरेको आर्थिक ऐन २०८०÷८१ अनुसार इटहरीको बजार क्षेत्रसँगै ग्रामीणक्षेत्रको जग्गाको कर बढाएकोमा पनि विभिन्न समूहले आन्दोलन जारी नै राखेका छन्। कर समायोजन र पुनरावलोकन गर्न इटहरी उपमहानगरपालिकाले समिति गठन गरेर सो समितिले प्रतिवेदन पनि बुझाइसकेको छ। वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा वडाध्यक्षहरू दिवस पोखरेल, रतन कार्की र प्रभातकुमार आचार्य रहेको समिति गठन गरिएको थियो।

त्यस्तै नेपाल सरकारका पूर्व उपसचिव गणेशप्रसाद दाहाल र कर तथा राजस्व सम्बन्धी विज्ञ पोषराज नेपाललाई पनि सदस्य चयन गरिएको थियो। कर समायोजन तथा पुनरावलोकन समितिका संयोजक सुवेदीले कर घटाउन सिफारिस गरेर प्रतिवेदन बुझाइ सकेको बताए। उपमहानगरपालिकाले भने अहिलेसम्म के गर्ने भनेर टुंगो लगाउन सकेको छैन्।  

प्रकाशित: २१ आश्विन २०८० ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App