२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

फाइल तस्वीर

वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भएको छ। कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो। आयोजनाका अनुसार भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण  भइरहेको छ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध लगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युत्गृहलगायतका संरचनाहरू निर्माणाधीन छन्। आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको बताए। उनले आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ।

‘नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत किमले भने।

आयोजना निर्माणमा हाल करिब एक हजारश्रमिक परिचालित छन्। त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन्। आयोजना निर्माण अवधि (५ वर्ष)मा सात सयदेखि एक हजार जनासम्म नेपाली श्रमिकले दैनिक रूपमा रोजगारी पाउने छन्। आयोजना सञ्चालन अवधि (३० वर्ष) मा ७०–८० जनाले रोजगारी पाउने छन्।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ। आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ।

आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। कुल अनुमानितलागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षा याममा उत्पादन हुने छ। उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ। कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ।

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ।

आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ। आयोजनाको निर्माण २०८३ सालको मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ। गत भदौ २६ गते ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमबीच आयोजनाको शिलान्यास समेत गरेका थिए।

प्रकाशित: २ आश्विन २०८० ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App