१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मासुजन्य खाद्यमा एन्टिबायोटिक प्रयोगप्रति अन्तर्राष्ट्रिय चासो

ठूला खाद्य कम्पनीहरूलाई लगानीकर्ताले एन्टिबायोटिक औषधि प्रयोग गरिएका मासुजन्य खाद्यान्न रोक्न दबाब दिन थालेका छन्। यस्तो दबाब खास गरी कुखुरा र जनावरको मासु उत्पादकहरूमा बढेको फाइनान्सियल टाइम्सले जनाएको हो।

रोग नलागोस् भनेर ठूला उत्पादकहरूले विभिन्न जनावरलाई उत्पादनको ७० प्रतिशतसम्म एन्टिबायोटिक खुवाउने गर्छन्। यति धेरै एन्टिबायोटिकको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै त्यसलाई रोक्न अभियानकर्मीहरूले लगानीकर्तामाथि चर्को दबाब दिन थालेका हुन्।

पशुलाई दिइने अत्यधिक एन्टिबायोटिक औषधिले संसारकै स्वास्थ्य र जलवायु संकट बढाएको अभियानकर्मीहरूको दाबी छ। पशुहरूमा प्रयोग गरिने अत्यधिक एन्टिबायोटिकका कारण संसारभर वार्षिक ५० लाख सर्वसाधारणको मृत्यु हुने गरेको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, यसले सर्वसाधारणमा संसारभर सय ट्रिलियन (दश खर्ब) डलरको आर्थिक भार थपिरहेको छ। पछिल्लो समय अभियानकर्मीहरूले यस मामिलामा कडा नीति अपनाउन सरकारहरूलाई दबाब दिइरहेका छन्।

यो दबाब समूह सरकारभन्दा पनि शक्तिशाली हुँदै आएको देखिएको छ। लगानीकर्ताहरूको समूहमा यतिबेला ३७० जना आबद्ध छन् भने उनीहरूको कुल लगानी ७१ ट्रिलियन (सात सय दश खर्ब) डलर रहेको छ।

यिनै लगानीकर्ताहरूको समूह द सेयरहोल्डर कमन्सले ठूला व्यवसायीहरूलाई दबाब दिने उद्देश्यले विभिन्न समयमा एन्टिबायोटिक प्रयोगलाई सीमित उपयोगका लागि दबाब दिएका हुन्। लगानीकर्ताले यसअघि छोटो अवधिको नाफामा जोड दिएकाले एन्टिबायोटिकको प्रयोग व्यापक रूपमा बढेको बताएका छन्।

गएको महिना अमेरिकामा बढी एन्टिबायोटिक प्रयोग हुने खाद्यान्न बेच्ने समूहहरू केएफसी, पिज्जा हट, बर्गर किङ लगायतका १२ ब्रान्ड तथा रेस्टुराँ समूह पर्छन्। तिनलाई बढी एन्टिबायोटिक प्रयोग गरिएका खाद्यान्न बिक्री नगर्न दबाब दिइएको थियो। यी कम्पनीहरूमा १५.२ ट्रिलियन (एक सय बाउन्न खर्ब) लगानी गर्ने लगानीकर्ताहरूले त्यस्तो दबाब दिएका थिए। त्यस्तो दबाब दिइए लगत्तै म्याक्डोनाल्डले आफूले प्रयोग गर्ने प्रोटिनजन्य मासुमा एन्टिबायोटिकको उपयोग कम हुने वातावरणका लागि कदम चाल्ने बताएको छ।

७२६ बिलियन डलर लगानी हेरिरहेको कम्पनी स्रोडरकी व्यवस्थापक केटी फ्रेम भन्छिन्, ‘लगानी उद्योगले यी गतिविधिलाई नियालेर हेरिरहेको हुनाले अबका केही वर्षमा एन्टिबायोटिकको प्रयोग निकै कम हुने विश्वास गर्न सकिन्छ किनभने लगानीकर्ताहरूको समूह आफैं यसमा गम्भीर हुन थालेको छ।’

त्यसो त यस कार्यका विरोधीहरू भने मानिसहरूमा बढ्दो एन्टिबायोटिकजन्य रोग र मृत्युको मूल कारण मासुजन्य पदार्थमा प्रयोग गरिने अत्यधिक एन्टिबायोटिककै प्रयोग हो भन्ने मान्न तयार छैनन्। यही एउटा कारणले मान्छेमा रोग लाग्ने र मर्ने कुरा विश्वसनीय नभएको राबोबैंकस्थित पशुजन्य प्रोटिनकी अध्येता इभा गोसिक बताउँछिन्। यसको विविध कारणहरूको खोजी हुनुपर्ने उनको तर्क छ।

प्रकाशित: १० भाद्र २०८० ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App