३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकीका यातायात मन्त्री भन्छन्- मन्त्री पद गए जाओस्, ट्याक्सीमा मिटर लागु गरेरै छाड्छु

मिटरमा नचले कारवाही गरिने

पोखरामा ट्याक्सीको मिटर जाँच गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली। तस्बिरः नागरिक

पोखरामा ट्याक्सीमा यात्रा गर्ने यात्रुले ठगिएको गुनासो बारम्बार गर्छन्। ट्याक्सी मिटरमा नचल्दा ठगिने गरेको यात्रुको दोहोरिने गुनासो हो। उसो त पोखरामा ट्याक्सीको दादागिरी अचाक्लि रहेको पनि उत्तिकै गुनासो छ।

ट्याक्सीले नजिकको दुरीमा जान नमान्ने, जानै परे महंगो भाडा लिने, मिटरमा जान नमान्ने जस्ता समस्या छन। अरु त अरु पोखराको मध्य बजारबाट समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको भाडा चर्को लिएको भन्दै आलोचना हुने गरेको छ।

तर, अब भने यात्रु ठगिनबाट जोगिने भएका छन्। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सीमा मिटर अनिवार्य गरेसँगै यात्रु ठगिन नपर्ने सरोकारवालाको भनाई छ। यो नियम भदौ १ गतेबाटै शुरु भएको गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली मगरले बताए।  

‘पोखरामा ट्याक्सीमा मिटर अनिवार्य गरिएको छ। अब पोखरा क्षेत्रमा ट्याक्सीले मिटरमा उठे बराबरको मात्र भाडा लिन पाउँछ’ उनले भने। पोखरामा ट्याक्सीमा मिटर चलाउन अनिवार्य गरिएको पहिलोपटक भने होईन। यसअघि २०७५ र २०७७ सालमा पनि मिटरमा ट्याक्सी चलाउने निर्णय भएको थियो। तर प्रभावकारी कार्यान्वयन नै नभई रोकिने गरेको थियो। अहिले तेश्रोपटक ट्याक्सीमा मिटर अनिवार्य गरिएको छ तर कार्यान्वयन हुनेमा आशंका रहेको पोखरेलीको भनाई छ।

तर मन्त्री जुग्जाली भने यसपटकको निर्णय कार्यान्वयन हुने दाबी गर्छन्। ‘यसअघिको निर्णय किन कार्यान्वयन भएन मलाई थाहा भएनm तर यस पटकको निर्णय कुनैपनि हालतमा लागु हुन्छ,’ उनले भने, ‘म मन्त्री भएपनि कास्की बाहिरको प्रतिनिधि हुँ। मलाई दवाब वा प्रभावमा पार्ने प्रयास नगरे हुन्छ । यो निर्णय कार्यान्वयनमा आशंका नगरे हुन्छ । प्रभावमा पार्न त खोजिरहेका छन् तर म पर्दिन, दबाबमा निर्णय फेरिदैन।’ 

आफ्नै पार्टीको नेताबाट दबाब आएपनि केहि फरक नपर्ने उनले बताए। ‘बरु मेरो मन्त्री पद गए जाओस्, ट्याक्सीमा मिटर लागु भएरै छाड्छु’ उनले भने। यातायात व्यवस्था कार्यालय कास्कीले गत साउन ३० गते सार्वजनिक सूचना जारी गरेर भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न भनेको थियो। सोहि सूचनामा मिटरमा बिलनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न पनि भनेको थियो।

कार्यालयले ट्याक्सीमा विलिङ सहितको मिटर जडान र सो अनुसारको भाडा नलिए कारवाही गर्ने चेतावनी दिएको छ। मन्त्री जुग्जालीले पनि ट्याक्सीले मिटर नचलाई यात्रुलाई ठगेको पाईए कारवाही हुने बताए। तर त्यसका लागि यात्रुले गुनासो गर्नुपर्ने उनको भनाई छ। ‘ट्याक्सी भनेको कन्ट्याक्टमा चल्ने हो,’ उनले भने, ‘सहमतिमा मागेजति भाडा यात्रुले दिन्छ भने हामीलाई टाउको दुःखाई हुँदैन। तर गुनासो आयो भने त्यो ट्याक्सीलाई कारवाही हुन्छ।’ उनले अटेर गर्ने ट्याक्सीलाई ५ हजारदेखि माथि जरिवाना हुने बताए।

पोखरेली ट्याक्सी सञ्चालक समितिका अध्यक्ष प्रकाशमान तिवारी भने आफूहरु ट्याक्सी मिटरमा चलाउन तयार रहेको तर भाडादर वैज्ञानिक र स्वचालित हुनुपर्ने बताउँछन्। वैज्ञानिक भाडादर र त्यो भाडादर स्वचालित नभए अहिलेको निर्णय पनि कार्यान्वयनमा समस्या आउने उनले बताए। अहिलेको भाडादर तेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ हुदाँको हो,’ उनले भने, ‘अहिले १७९ रुपैयाँ पुग्दा त्यहि भाडादरमा ट्याक्सी चलाउन सकिदैन। त्यसैले पहिले वैज्ञानिक भाडादर कायम गरेर त्यसपछि तेलको मूल्य बढ्दा भाडादर पनि स्वतः बढ्ने र घट्दा स्वतः घट्नेगरी स्वचालित बनाउनुप¥यो।’

 मन्त्री जुग्जालीले वैज्ञानिक भाडादर कायम गर्ने र त्यसलाई स्वचालित बनाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि एक महिनाको समय मागेपछि आफूहरु ट्याक्सी मिटरमा चलाउन तयार भएको तिवारीको दाबी छ। ‘अन्यथा यथास्थितिमा मिटरमा ट्याक्सी चलाउन सक्दैनौं,’ उनले भने।

पोखरामा ट्याक्सीको भाडा १५ किलोमिटर भित्र यात्रा गर्दा सुरुआती दुईसय मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रति दुईसय मिटर बराबर १० रुपैयाँले बढ्दै जानेगरी भाडादर कायम गरिएको छ। त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७.५० रुपैयाँका दरले भाडा कायम गरिएको छ।ट्याक्सी मिटरमा चले नचलेको अनुगमन गर्न एक सयन्त्र बनाईने मन्त्री जुग्जालीले बताए। उक्त संयन्त्रले ट्याक्सीको नियमित मिटर चेकजाँच गर्ने उनको भनाई छ।

प्रकाशित: ५ भाद्र २०८० ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App