७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टको विद्युत जोडियोः ६ महिनाभित्र बक्यौता बुझाउने शर्त

उदयपुर सिमेन्ट बचाउ खवरदारी समितिले जारी राखेको धर्नामा सहभागी स्थानीयहरु। तस्विरः महेश्वर

करोडौँ बक्यौता महसुल नबुझाएको भन्दै सातादिन अघि काटिएको उदयपुृर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको विद्युत लाईन पुनः जडान भएको छ।तत्काललाई बक्यौता रकममध्ये डेढकरोड बुझाएर बाँकी महसुल ६ महिनाभित्र चुक्ता गरिसक्ने शर्तमा विद्युत पुनजडान भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र उदयपुरले जनाएको छ।

वितरण केन्द्र प्रमुख विजयबाबु खत्रीले डेढकरोड रकम अहिले बुझाएको र बाँकी महसुल किस्ताबन्दीको रुपमा ६ महिनाभित्र बुझाईसक्ने शर्त राख्दै उद्योग मन्त्रालयले पत्राचार गरेपछि लाईन पुनः जडान गरिदिएको बताए। ‘अहिलेलाई केही रकम प्राप्त भएको र बाँकी ६ महिनाभित्र किस्ताबन्दी दरमा चुक्ता गरिदिने वा सरकारले नीतिगत निर्णय गरेर समाधान गर्ने भन्ने पत्र आयो’ खत्रीले भने ‘उद्योग मन्त्रालयबाट आएको पत्र अनुसार प्राधिकरणको संघीय कार्यालयको समन्वयमै बत्ती पुनः जडान गरिएको हो।

वैशाख ३१ गते विहान ११ः०० बजे विद्युत काटिदिएको थियो। केन्द्र प्रमुख खत्रीका अन्सार उद्योगले विद्युत महसुलवापत ३६ करोड ३५ हजार ७ सय ७१ रुपैँया महसुल प्राधिकरणलाई बुझाउन बाँकी छ। जसमा ०७७ असारसम्मको ‘डेडिकेटेड’वापतको महसुल नै ११ करोड ५४ लाख ७१ हजार ५ सय ८२ रुपैँया बाँकी छ। लोडसेडिङको अवधिमा उद्योग तथा कलकारखाना निरन्तर सुचारु गर्न सरकारले विशेष व्यवस्था गरेर उपलब्ध गराएको विद्युत सेवा डेडिकेटेड लाईन भएको प्राधिकरणको भनाई छ।

त्यस्तै डेडिकेटेडबाहेकको रकम मात्र उद्योगले प्राधिकरणलाई २४ करोड ४५ लाख ६४ हजार ८९ रुपैँया ९४ पैसा महसुल बुझाउन बाँकी छ। जुन बक्यौता ०७७ साउनदेखि ०८० वैशाखसम्मको हो। यसरी उद्योगबाट आउनुपर्ने महसुल ठूलो आकारमा बक्यौता देखिएपछि प्रदेश कार्यालय र संघकै निर्देशन र समन्वयमा केन्द्रले लाईन काट्न्ु परेको हो। सरकारी स्वामित्वको उद्योग भएकाले मन्त्रालयको आग्रहमा लाईन पुनः जडान गरिएको तर, शर्त बमोजिम किस्ता नआए पुनः लाईन काट्नुपर्ने अवस्था आउने खत्रीले बताए।  

लाईन काटिएपछि उद्योग परिसर पूर्णरुपमा अन्धकारमय हुन पुगेको थियो। उद्योगको प्लाण्ट, प्रशासनिक भवन, त्यहाँ कार्यरत ३ सय बढी कर्मचारी मजदुर विद्युत अभावमा प्रभावित हुँदै आएका थिए। मध्ये गर्मीको याम, सिमेन्ट उत्पादन रोकिएको भए पनि मौज्दात सिमेन्ट विक्री वितरण तथा क्लिंकर व्यवस्थापनलगायत अन्य दैनिक कामकाज गर्न विद्यु्त अभावले समस्या पैदा भएको थियो। उद्योग परिसरभरी लाईन काटिएको हुनाले प्लाण्ट मात्र नभएर कर्मचतारी आवास क्षेत्र (क्वाटर)समेत अन्धकार हुन पुग्दा दिनभर काम गर्ने कर्मचारी तथा मजदुरहरु राति परिवारसँग खान बस्न आवास पनि अन्धकारको कहर काट्नु् परेको थियो। लाईन काटिएपछि उद्योग परिसरकै कक्षा १२ सम्मको उदयसी बोर्डिङ स्कुलको पठनपाठन र दैनिक कामकाजसमेत प्रभावित भएको थियो।  

लाईन काट्नुअघिदेखि नै उद्योग टाट पल्टाएको भन्दै महाप्रवन्धक (जिएम) गोपीकृष्ण न्यौपानेले राजीनामा दिनुपर्ने, उद्योगलाई बचाउन सबै लागी पर्नुपर्नेलगायत १० बुँदे माग राख्दै स्थानीय उद्योग प्रदुषण प्रभावितक्षेत्रबासीको जमातले थालेको धर्ना कार्यक्रम जारी छ। वैशाख अन्तिम सातादेखि उद्योग प्रवेशद्वार अगाडि सुरु भएको धर्ना कार्यक्रम निरन्तर चलिरहेको र त्यसमा मजदुर कर्मचारीले पनि साथ दिदै आएका छन्। ३१ गते सम्पन्न भेलाले प्रदुषण प्रभावित क्षेत्रका राधारमण खतिवडाको संयोजकत्वमा २७ सदस्यीय ‘उद्योग बचाउ खवरदारी समिति’ गठन गरेर धर्ना कार्यक्रम भईरहेको छ।  

प्रदुषण प्रभावित समितिका सचिव तथा त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रबेश खड्काले विभिन्न मागमध्ये विद्युत पुनः जडान पनि एक भएको र सो माग शुक्रबार पुरा भएको बताए। उनले जेठ १ गतेदेखि सुरु धर्ना कार्यक्रमसँगै उद्योगमन्त्री, प्रमुख जिल्ला अधिकारी, उद्योग महाप्रवन्धक, सञ्चालक समिति अध्यक्षलगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै उद्योग तत्काल सुचारु गर्दै राज्यको सम्पत्तिको बचाउ तथा श्रमिक मजदुरको न्यूनतम मागहरु पुरा गर्न समितिले खवरदारी गर्दै आएको बताए।  

प्रकाशित: ७ जेष्ठ २०८० ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App