१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

भुक्तानी नपाउँदा ठेकेदार काम छाड्ने तरखरमा

मदन भण्डारी लोकमार्ग

लोकमार्गको खैराहा खोलामा निर्माणाधीन पुल।तस्बिर: महेश्वर-नागरिक

पूर्वमा झापाको बाहुनडाँडा पश्चिममा डढेलधुराको रूपाल जोड्ने निर्माणाधीन राष्ट्रिय महत्वको ‘मदन भण्डारी लोकमार्ग’को काम बजेट अभावमा प्रभावित भएको छ। लोकमार्गको उदयपुर खण्डका विभिन्न दर्जन पुलको काम सकिने अवस्थामा पुगे पनि भुक्तानी गर्न नसक्दा ठेकेदारले काम छाड्नुपर्ने अवस्था सिर्जना भएको हो।  

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा इस्टिमेटमा नपरी छुट्न गएका उदयपुर–सिन्धुली खण्डका दर्जन खोला खहरेमा पछि थप गरेर पुल बनाउने काम भइरहेको छ। १२ वटा खोलाका सबै पुलहरू चालु वर्षभित्रै सम्पन्न गर्नेगरी काम भइरहे पनि समयमा भुक्तानी नपाएपछि निर्माण कार्य प्रभावित भएको ठेकेदार कम्पनीका प्रतिनिधिहरूले बताउँछन्। ५ वटा पुलको प्याकेज ठेक्का लिएको लुम्बिनी-खानी-समानान्तर जेबीले कटारी नगरपालिका–७ स्थित धप्पर खोलाको बाहेक अन्य पुलहरू बनाइसके पनि भुक्तानी पाएको छैन। धप्परमा डिजाइन बदल्नु परेकाले काम ढिला सुरु भएर भर्खर पिल्लर फाउन्डेसनको काम गरिरहेकामा भुक्तानी नपाएपछि काम रोक्नुपर्ने अवस्था सिर्जना भएको छ। निर्माण कम्पनी प्रतिनिधि शंकर राउतले धप्परबाहेक पुलको काम गरेको ७ करोड रूपैयाँ भुक्तानी लिन बाँकी रहेको भन्दै पैसा नपाएसम्म काम अघि बढाउन नसक्ने बताए।  

‘हामीले लिएका पाँचवटा पुलको प्याकेजमध्ये कटारीकै रातु खोला र सिन्धुलीतर्फका ३ वटा गरी ४ पुल बनाइसकेका छौं,’राउतले दुखेसो गरे, ‘तर भुक्तानी नपाएकाले थप काम गर्न ज्याला दिने, सामान किन्नेसम्म पैसा नभएपछि काम छाड्नुपर्ने अवस्था आएको छ।’ राउतले कामको रनिङ बिल बुझाएको महिनौं बितिसके पनि भुक्तानी पाउन नसकेपछि बाँकी काम गर्न समस्या परेको बताए। अहिले पनि भुक्तानी पाए धप्परको पुल आउँदो असारभित्र स्ल्याब ढलान गरिसक्ने योजना छ तर पैसै नपाएका कारण काम गर्न नसक्ने स्थिति भएको राउत बताउँछन्।  

अर्को ठेकेदार कम्पनी जेडआइइसी-शर्मा-लामा जेबीलाई पनि त्यस्तै समस्या छ। ४ वटा पुलको प्याकेज ठेक्का लिएको जेबीका परियोजना प्रबन्धक (पिएम) द्रोणराज आचार्यले काम सकेको पैसा साढे ३ करोड भुक्तानी लिन नपाएको गुनासो गरे। आचार्यका अनुसार जेबीले चौदण्डीगढी नगरपालिका–९ को खैराहा, त्रियुगा नगरपालिका–१३ को असारी र कटारी नगरपालिका–७ का अर्ने तथा उदयपुरगढी गाउँपालिका–६ को मौवासी खोलामा पुल बनाउने ठेक्का लिएको छ। जसमध्ये खैराहाबाहेकका पुल बनिसकेर एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको छ। जेबीबाट लिएर आशीर्वाद निर्माण सेवाले गरिरहेको काम अन्तिम चरणमा पुगे पनि समयमा भुक्तानी नपाएपछि काम सरासर गर्न नसक्ने अवस्था आउन लागेको आचार्यले बताए।

लोकमार्ग आयोजना कार्यालय गाईघाटले पनि भुक्तानी दिन नसकेको स्विकारेको छ। आयोजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले काम गरेको बिल प्राप्त भए पनि बजेट अभावमा झन्डै ३-४ महिनादेखि भुक्तानी गर्न बाँकी रहेको बताए। उनका अनुसार ६ करोड ५० लाखभन्दा बढीको बिल कार्यालयमा पेस भइसके पनि बजेट अभवामा भुक्तानी हुन सकिरहेको छैन। पेस भएको बिलभन्दा बढी १५ करोड हाराहारीको काम सकिएको र पछिल्लो पटक भइरहेको कामको थप १० करोड हाराहारी भुक्तानी दिनुपर्ने आँकलन खकुरेलले गरेका छन्। उनका अनुसार लगभग ३१ करोड बढी भुक्तानी गर्न बाँकी रहेको कार्यालयसँग हाल बजेट भने शून्य अवस्था छ। ‘पहिल्यै ठेक्का लागेको काम धमाधम भइरहेको छ, धेरै पुल बनिसकेर पहुँचमार्ग (एप्रोच) कालोपत्रेसमेत भइसकेको छ,’ डिई खकुरेलले समस्या सुनाए, ‘बाँकी पुलको काम पनि धमाधम सकिने चरणमा पुगेको छ। तर भुक्तानी गर्ने बजेट छँदै छैन।’  

चालु वर्ष आयोजनालाई २४ करोड बजेट दिएकामा ६ महिनाअघि नै भुक्तानी भइसकेको छ। ठेक्का लागिसकेको हुनाले कामको भुक्तानी दिन कर लाग्ने तर बजेट अभावले यस्तो समस्या भएको उनी बताउँछन्। कार्यालयका लेखापाल नवीन राईले बजेट अभावका कारण निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी नदिँदा भइरहेको काम प्रभावित हुने खतरा बढेको बताए। काम धमाधम सक्ने चरणमा पुगेको र ३-४ महिनादेखि बिल पेस भइरहे पनि भुक्तानी गर्न पैसा नहुँदा हैरान हुनुपरेको राईले बताए। समयमा भुक्तानी गर्न नसक्दा भनेजस्तो छिटो र राम्रो काम गर्न कार्यालयले निर्देशन दिन पनि गाह्रो भइरहेको छ। बेलैमा भुक्तानी दिन सके काम राम्रो र छिटो गर्न नैतिक दबाब रहने भए पनि बजेट नभएपछि बोल्ने ठाउँ नै नरहने कार्यालयको बाध्यता छ।  

आयोजनाका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले चालु वर्ष थोरै बजेट भएको र आर्थिक वर्ष सुरुको ६ महिनाभित्रै सकिएकाले थप बजेटको माग भइरहेको बताए। विनियोजित बजेटभन्दा ३ गुणा बढीको काम भइसकेको तर बजेट अभावमा भुक्तानी गर्न नसकेर हैरानी बेहोर्नु परेको उनको भनाइ छ। निर्माण सम्पन्न उन्मुख आयोजना भएकाले राज्यले पर्याप्त बजेट दिनुपर्नेमा विभिन्न कारण देखाएर धेरै कम बजेट दिएकाले काम प्रभावित हुने हो कि भन्ने आशंका बढेको इन्जिनियर राईले बताए। ‘गत वर्षमै लागेको ठेक्काको सम्झौता अवधि चालु वर्षकै असार मसान्त भएकाले पनि सबै काम सकिने चरणमा पुगेको छ,’सूचना अधिकारी राईले भने।

इन्जिनियर राईका अनुसार डिई खकुरेलले अहिले पनि थप बजेट माग गरेको फाइल लिएर विभाग र मन्त्रालय धाउने क्रम जारी राखेका छन्। लिखित पत्र लिएर विभाग र मन्त्रालय धाएको धेरै पटक भइसकेको र अहिले पनि काठमाडौंमै रहेर फाइल पछ्याउने काम गरिरहेको खकुरेलले बताए। ‘लिखित पत्राचार त पहिल्यै गरेको हो, तर त्यतिले मात्र नपुग्ने भएकाले आफैं धाएर विभाग र मन्त्रालयका अधिकारीसँग निरन्तर फलोअपमा छु,’ खकुरेलले भने, ‘पैसा नलिईकन फक्र्यो भने त पार्टीले बस्दै देलान् जस्तो छैन त्यसैले धाइरहेको छु।’ डिई खकुरेलका अनुसार कम्तीमा ३०-३५ करोड बजेट थपिदिए मात्र सबैको भुक्तानी गर्नसके काम पनि लगभग फत्ते हुने अवस्था छ।  

लोकमार्गको उदयपुर खण्डमा चौदण्डीगढी–४ बसाहादेखि गाईघाट, कटारी हुँदै सिन्धुलीसम्म १२ मध्ये एउटाबाहेक सबै पुल निर्माण सकिन लागेको छ। २०७७ जेठ १५ गते सम्झौता भई ३ वर्षभित्र अर्थात् २०८० जेठ १४ भित्र सक्ने सम्झौता अनुसार कटारी–७ को धप्पर खहरेबाहेक सबै पुलको स्ल्याब ढलान र रेलिङ बेस काम सकेर एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको छ।  

 

 

 

लोकमार्गको उदयपुर खण्डमा चौदण्डीगढी–४ बसाहादेखि गाईघाट, कटारी हुँदै सिन्धुलीसम्मका १२ मध्ये एउटाबाहेक सबै पुलका निर्माण कार्य सकिन लागेको छ। २०७७ जेठ १५ गते सम्झौता भई ३ वर्षभित्र अर्थात् २०८० जेठ १४ भित्र सक्ने सम्झौता अनुसार कटारी–७ को धप्पर खहरेबाहेक सबै पुलको स्ल्याब ढलान र रेलिङ बेस काम सकेर एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको छ।

प्रकाशित: ६ जेष्ठ २०८० ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App