काठमाडौं- पाँच वर्षअघि साउदी अरेबियाको दमाम मेडिकलमा निधन भएका रामेछाप, हिलदेबी–५ का बमबहादुर तामाङको शव बुधबार नेपाल आइपुग्यो। आशा मारेर काजकिरियासमेत गरिसकेको बेला शव प्राप्त गर्दा घरपरिवार कम्ती खुसी थिएन। तर, साउदीमा अझै १२ वटा शव नेपाल आउने प्रक्रियामा रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ।
२५ वर्षीय छोरा राजकुमारले साउदीसम्म पुग्ने र आर्थिक व्यवस्थापन जुटाउने हैसियत नहुँदा पिताको शव नेपाल आउने आशा मारिसकेको बताए। सन् २००६ मा साउदी गएका बमबहादुर २०११ मा पक्राउ परेको र सन् २०१२ को अगस्ट ९ मा निधन भएको परिवारलाई थाहा थियो। उनको मृत्यपछि परिवारले पटकपटक शव झिकाउन काठमाडौंमा रहेका सरोकारवाला कार्यालय र साउदीस्थित दूतावासमा पहल गरे पनि कुनै निकायबाट सहयोग नपाउँदा हार मान्दै काजकिरियाको काम सकेको थियो।
बाँके, उढरापुर–२ शान्तिनगरका ६६ वर्षीय सेते बस्नेतले पनि कमाउन साउदी अरब गएको छोरा नरबहादुरको शव निकै लामो पहलपपछि मात्र प्राप्त गरे। अघिल्लो वर्षको जेठ २८ गते साउदीको मुसा नामक कम्पनीमा काम गर्दै गर्दा २४ वर्षीय नरबहादुरको 'हर्ट अट्याक' बाट मृत्यु भएको खबर पाएका सेतेले छोराको शव झिकाइदिन कसैलाई पनि भन्न बाँकी राखेनन्। नरबहादुरका मितभाइ हस्तबहादुर बिकका अनुसार अघिल्लो वर्षको जेठ २८ गते निधन भएका नरबहादुरको शव जिल्लादेखि केन्द्रसम्मका राजनीतिक दलका नेतासमेको पहलमा भदौ अन्तिम साता मात्र नेपाल ल्याउन सकिएको हो।
जसरी पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढ्दो छ। त्योसँगै विदेशमा ज्यान गुमाउनेहरूको संख्या पनि बढिरहेको छ। विदेशमा कमाउन गएका युवायुवतीको उतै निधन हुँदा सरकारले समयमै शव ल्याउने संयन्त्रको विकास गर्न नसक्दा कतिपयको लाश महिनौंसम्म विदेशमै रहने गरेको छ। जसले गर्दा मृतकका परिवार लामो समयसम्म शव पर्खंर्दै तनावमा रहनु पर्ने अवस्था कायमै छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार नेपालीहरूको प्रमुख गन्तव्यमध्ये एक साउदीबाट शव ल्याउन सधैँ समस्या हुने गरेको छ। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, 'साउदीको श्रम कानुनले नै रोजगारीको लागि त्यहाँ पुगेका व्यक्तिको निधन भएका ६० दिनसम्म राख्न सक्ने छुट दिएकाले शव झिकाउन ढिलाइ हुने गरेको हो।' काम गर्न पुगेका व्यक्तिको निधन हुँदा महिनौंसम्म शव नेपाल ल्याउन नसक्दा पीडित परिवार छटपटिमा पर्ने गरेपछि अब नेपाल सरकारले शव छिटो पठाउन साउदी सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने आवाज उठेको छ।
'हामीले मृतक रहेका मुलुकका दुतावासलाई लाश झिकाइदिन सहयोग माग्ने हो,' काफ्लेले भने, 'अन्य देशको तुलनामा साउदीबाट शव झिकाउन अलि धेरै समय लाग्ने गरेको छ।' कतिपय अधिकारीहरू भने साउदीले कामदार लैजाने बेला देखाएको उत्सकुता नेपाली कामदार समस्यामा पर्दा र शव फर्काउने बेला नदेखाउने गरेको बताउँछन्। बोर्डका एक कर्मचारी भन्छन्, 'साउदीका रोजगारदाता कम्पनीलाई नेपालका श्रमिकलाई जे गरे पनि हुन्छ भन्ने अहम् छ कि जस्तो लाग्न थालेको छ।'
बोर्डका अनुसार साउदीबाहेक अन्य कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको शव बढीमा एक महिनासम्म नेपाल आइपुग्ने गर्छ। तर, साउदीबाट शव नेपाल आइपुग्न भने तीन महिनाभन्दा बढी लाग्ने गरेको छ। वैदेशिक रोजगार ऐन २०६४ अनुसार रोजगारीमा रहेका व्यक्तिको मृत्यु भएको खण्डमा शव घरसम्म पुर्याउने पहिलो दायित्व काम दिने रोजगारदाताको हो। कतिपय रोजगारदाताले शव पठाउँदा खर्च हुने भएकाले त्यस्तो खर्च बचाउने लोभले आलटाल गर्ने गरेको व्यवसायी बताउँछन्।
मेनपावर व्यवसायीका अनुसार साउदीले मनोमानी गरिरहनुको मुख्य कारण श्रम तथा रोजगार मन्त्रालयको लोसेपनले गर्दा नै हो। 'श्रम सम्झौता गर्दा नै नेपाली पक्ष दरिलो रूपमा प्रस्तुत हुने हो भने रोजगारदातालाई केही दवाव हुन्थ्यो,' एक व्यवसायीले भने, 'रोजगारदाताले जे भन्छन्, त्यही मान्दा नेपाली कामदार र तिनका परिवारलाई समस्या भइरहेको छ।' वैदिशक रोजगारीमा जानु पर्ने बाध्यता नेपालीलाई मात्र नभई रोजगारदातालाई पनि कामदार चाहिएकाले हो भन्नेबारेमा बुझ्नु पर्ने पीडितहरूको भनाइ छ। घरेलु कामदारका रूपमा गएका नेपाली महिलालाई यौन शोषण तथा शारीरिक र मानसिक यातना दिने क्रम बढेपछि नेपाल सरकारले दुई वर्ष अघि साउदीमा महिला कामदार पठाउन रोक लगाएको थियो। साउदीका कतिपय कम्पनीले नेपाल सरकारले महिला कामदार रोकेको रिस पुरुष कामदारमाथि फेर्न थालेको हो कि भन्ने संकेत देखिएको कतिपय पीडितको भनाइ छ। मेनपावर व्यवसायी पछिल्लो समयमा साउदीले नेपालबाट महिला कामदार माग गरिरहेको र महिला कामदार नपठाए पूरै श्रम बजार नै रोक्न सक्ने चेतावनी दिइरहेको बताउँछन्।
बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा २०६४ सालयता ४ हजार ४ सय १ को मृत्यु भएको छ। अहिलेसम्म सबभन्दा बढी मलेसियामा पन्ध्र सय ९२ नेपालीको मृत्यु भएको छ। कामदार बढी मृत्यु हुने अर्को देश साउदी अरब हो । जहाँ एघार सय ८० नेपालीले ज्यान गुमाएका छन्। साउदीस्थित नेपाली राजदूतावासका श्रम सहचारी सन्तोषकुमार अधिकारीका अनुसार पछिल्ला दिनमा सरदर दैनिक एउटा शव नेपाल फिर्ता गर्नु परिरहेको बताउँछन्। उनका अनुसार अहिलेसम्मको सबभन्दा पुरानो शव तामाङकै हो। तामाङसँगै डिपोर्टेसन सेन्टर (घरफिर्ती केन्द्र) मा परेका धनबहादुरले उनको सबै कागजपत्र ल्याएपछि शव चिन्न कठिनाइ हुँदा ढिलाइ भएको दूतावासका कर्मचारी बताउँछन्। अधिकारीका अनुसार बिहीबारसम्म १२ वटा शव नेपाल पठाउन बाँकी छ। प्रक्रिया पूरा भएपछि ती शव चाँडै नेपाल पठाइने उनले बताए।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु भएको खण्डमा बोर्डले पीडित परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराउँछ। वैदैशिक रोजगारीमा गएका विभिन्न मृत्युका घटना केलाउँदा सबभन्दा बढी मुटुजन्य समस्याका कारण नेपालीहरूको मृत्यु हुने गरेको पाइएको छ। आर्थिक वर्ष २०७२/७३ मा रोजगारीको क्रममा विभिन्न देशमा पुगेका १००७ जनाको निधन भएको थियो। माघ महिनामा मात्र ५५ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डले जनाएको छ। माघमा सबभन्दा बढी नेपाली २२ जना मलेसिया र त्यसपछि साउदीमा २० जनाको मृत्यु भयो। जसमध्ये १५ जनाको प्राकृतिक रूपमा निधन भएको थियो भने १२ जना सडक दुर्घटनामा र १२ जनाले आत्यहत्या गरे।
कोरियाबाट शव झिकाउन सबभन्दा खर्चिलो
रोजगारीका लागि साउदी पुगेको अवस्थामा निधन भएकाको शव झिकाउन सबभन्दा बढी समय लागेजस्तै शव झिकाउन सबभन्दा खर्चिलो भने दक्षिण कोरिया हुन पुगेको छ।
दक्षिण कोरियामा निधन भएका कामदारको शव नेपाल पठाउन त्यहाँका रोजगारदाताले नमानेपछि बोर्डको रकमबाट शव नेपाल झिकाउने गरिन्छ। कोरियाबाहेक अन्य देशबाट शव झिकाउँदा भने बोर्डले अवैध हुन पुगेका कामदारका लागि मात्र रकम उपलब्ध गराउँछ भने कोरियामा मृत्यु हुनेमा भने सबैको शव झिकाउँदा लाग्ने शुल्क बोर्डले नै उपलब्ध गराउँछ। अघिल्लो वर्ष विदेशबाट शव झिकाउँदा करिब पौने दुई करोड रुपैयाँ खर्च गरेको बोर्डले कोरियाबाट शव झिकाउनका लागि मात्रै ८० लाख रुपैयाँ खर्च गरेको जनाएको छ। सरकारले रोजगार अनुमति प्रणाली अन्तर्गत कामदार पठाउँदा नै शव झिकाउने दायित्व आफैँले बोकेका कारण ठूलो रकम खेर गइरहेको बताइन्छ।
प्रकाशित: ८ फाल्गुन २०७३ ०५:५८ आइतबार