२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ। चितवन उद्योग संघको आयोजनामा संघकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो।

उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसिया लगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।

उनका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कक्ष रहनेछन्। औद्योगिक मेसिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिने छन्।

कक्ष बुकिङ लगायत तयारीको काम अन्तिम चरणमा पुगेको बताइएको छ। विभिन्न राष्ट्रका आधुनिक प्रविधि र उत्पादन, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा व्यावसायिक उत्पादक प्रदर्शनीको अवलोकनकर्ताका रूपमा रहने अध्यक्ष कँडेलले बताए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रदर्शनीको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर तथा नेपाल उद्योग परिसंघका तर्फबाट ‘मेक इन नेपाल’ स्वदेशी अभियान विषयमा गोष्ठी तथा सेमिनार आयोजना गर्न लागिएको छ।

आधुनिक प्रविधिको अनुशरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। अध्यक्ष कँडेलले उद्यमी जन्माउन प्रदर्शनी गर्न लागिएको बताए।

प्रकाशित: २० वैशाख २०८० ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App