८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन दबाब

इलाम– पहाडी जिल्लामा भएर पनि बर्सेनि लक्ष्यभन्दा राजस्वदर बढाइरहेको पूर्वी भारतीय सीमाको पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन जिल्लाबासीले दबाब दिएका छन्। स्थानीय नेपाली तथा भारतीय सर्वसाधारणले समेत यो नाका खुलाउन नागरिकस्तरबाट प्रभावकारी पहल थाल्ने अठोट गरेका हुन्।

पशुपतिनगर नाका पूर्वी पहाडी जिल्लाको भारतसँग जोडिएको एक मात्र नाका हो । यहाँ मुख्य भन्सार कार्यालय रहेपनि अवैध रूपमा आयात र निर्यात हुने वस्तु नियन्त्रणबाहेक अन्य अधिकारविहीन भएर बसेको छ । कार्यालयले भन्सार खुलाउँदा आवश्यक पर्ने भौतिक पूर्वाधारसमेत करिब तयार गरिसकेको छ । तर, स्थानीय व्यवसायी र सर्वसाधारणले समेत पटक–पटक यो नाका खुलाउन माग गरेपनि उनीहरूका मागको सुनुवाई हुन नसकेको स्थानीय व्यवसायी मिलन क्षेत्रीले बताए । ‘यहाँ भन्सार नखुल्दा पूर्वी पहाडी जिल्लाका बासिन्दालाई ठूलो असर पुगेको छ,’ उनले भने, ‘राजस्व तिरेरसमेत स्थानीयले कुनै सामान ल्याउन–लैजान पाएका छैनन् ।’

पशुपतिनगर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले भन्सार नखुल्दा व्यवसायी र उपभोक्ताले दुःख खेप्नुपरेको भन्दै नागरिकस्तरबाट समेत यसका लागि पहल थाल्नु आवश्यक रहेको बताए । उनले भने, ‘हामीले पटक–पटक यो भन्सार खुलोस् भनेर माग ग¥यौं तर कहिल्यै सुनुवाई भएन । यो भन्सार नखुल्दाको पीडा यहीं बस्ने नागरिकबाहेक अन्यले महसुस नै गरेनन् ।’

यहाँ भन्सार र अध्यागमन खुलाउन नेपाली मात्र होइन, सीमावर्ती क्षेत्रका भारतीयले समेत पहलको प्रतिबद्धता गरेका छन् । विश्व भन्सार दिवस अवसरमा बिहीबार पशुपतिनगरमा आयोजित कार्यक्रममा नजिकै रहेको भारतको रामग्राम ग्रामपञ्चायतका पूर्वअध्यक्ष बुद्ध तामाङले पशुपतिनगरमा भन्सार नखुल्दा दुवै देशका स्थानीयले सास्ती खेप्नुपरेको बताए । उनले भारत र नेपालपट्टिकै भन्सार खुलाउन स्थानीय नागरिकसहित जिल्ला र राष्ट्रियस्तरबाट पहल जरुरी रहेको बताए ।     

भन्सारको राजस्वदर बर्सेनि बढिरहेको छ । चालू आर्थिक वर्षको पुससम्ममा पनि लक्ष्यभन्दा १ सय २५ प्रतिशत बढी राजस्व संकलन गरिसकेको छ । गतवर्षको यो अवधिमा कार्यालयले १ सय १४ प्रतिशत प्रगति हासिल गरेको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा १ करोड ८ लाख ७४ हजार रुपैयाँ लक्ष्य रहेकामा १ करोड २० लाख ८३ हजार रुपैयाँ संकलन गरेको थियो ।  यहाँको भन्सार प्रगति राम्रो भएकैले भन्सार विभागले आव ०७२÷०७३ मा कार्यालयलाई सम्मान गरेको थियो । विभागले भर्खरै कार्यालय प्रमुख प्रकाश पोख्रेल र कर्मचारी धरणीप्रसाद भट्टराईलाई उत्कृष्ट काम गरेवापत् पुरस्कृतसमेत गरेको छ ।

भन्सार प्रमुख पोख्रेलले इलामलगायत पहाडी जिल्लाका अधिकतर व्यवसायीले पशुपतिनगर नाका भएरै अलैंची, अदुवा, कुचोलगायत सामान निर्यात गर्न माग गरेको बताए । उनले नाका खुल्दा आवश्यक पर्ने भवनलगायत भौतिक पूर्वाधारसमेत पुग्दो नै हुने जनाए । ‘व्यापारीले बताएअनुसार इलामबाट भारतको सिलिगुडीसम्म १ ट्रक सामान लैजाँदा करिब १ हजार ७ सय रुपैयाँ सस्तो पर्नेरहेछ,’ उनले भने, ‘तर, हामीलाई त्यसरी सामान पठाउने अधिकार छैन, न त भारततिर लिने अधिकार नै छ ।’ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि पशुपतिनगरमा नाका र अध्यागमन खुलाउनेबारे जिल्लास्तरबाट प्रयास गर्ने आश्वासन दिए । उनले आफू सहभागी हुने विभागको बैठकमा यहाँको अध्यागमन समस्याबारे जानकारी दिने जनाए ।

पहाडी जिल्लाको ‘सबैभन्दा सुरक्षित’ मानिने पशुपतिनगर नाका खुल्दा पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुनेछन् । पूर्व र पश्चिम नेपाल जोड्ने मध्यपहाडी लोकमार्गको फिदिम खण्ड पुग्न यो नाकाबाट नजिक पर्ने भएकाले पश्चिमी जिल्लालाई पनि यसबाट फाइदा पुग्छ । यो नाका आसपासबाट बर्सेनि लाखौं रुपैयाँ बराबरको सामग्री अवैध रूपमा आयात भइरहेको सशस्त्र प्रहरी र भन्सारकै तथ्यांक छ । जिल्लाका सीमावर्ती मानेभञ्ज्याङ, छिरुवा, छब्बीसे र तुम्लिङमा छोटी भन्सार कार्यालय छन् ।  

सीमावर्ती फाटकस्ति भारतीय मेन कस्टमका इन्स्पेक्टर नवराज थापाले यहाँ भन्सार र अध्यागमन नहुँदा भारतपट्टिका बासिन्दालाई पनि समस्या भएको भन्दै आफ्नोतर्फबाट पहल गर्ने बताए । ‘नेपाल र भारत दुवैतिरका निकायले माथिल्लो तहमा पहल गरी भन्सार र अध्यागमन खुलाएर नागरिकलाई सहज बनाउनु आवश्यक छ,’ उनले भने ।
    
यसअघि गत असारमा अध्यागमन कार्यालय स्थापनाको प्रयासका लागि दुवै देशका अधिकारीबीच बैठक भएको थियो । भारतको दार्जिलिङस्थित सुकियापोखरीमा सम्पन्न बैठकले अध्यागमन र भन्सार कार्यालयको सेवालगायतबारे विभिन्न ३ बुँदे सहमतिसमेत गरेको थियो । त्यतिबेला पशुपतिनगर भन्सार प्रमुख प्रकाश पोख्रेल र सुकियापोखरी ल्यान्ड कस्टम प्रमुख श्यामसन प्रदीप शर्मा नेतृत्वको टोली बैठकमा सहभागी थियो ।

यहाँ अध्यागमन कार्यालय स्थापना भए ठूलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पूर्वी पहाडका पर्यटकीय जिल्ला भ्रमण गर्न पाउनेछन् । इलाम पर्यटकीय जिल्ला भएपनि तेस्रो मुलुकका पर्यटक अत्यन्त कम आउनुको एक प्रमुख कारण पशुपतिनगरमा अध्यागमन कार्यालय नहुनु नै रहेको पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीको भनाइ छ । यहाँ अध्यागमन कार्यालय नहुँदा भारत भएर आउने तेस्रो मुलुकका पर्यटकले झापाको काँकडभिट्टा नाका प्रयोग गर्छन् । तर, त्यहाँबाट भित्रिने अधिकतर पर्यटक इलाम नघुमी काठमाडौं वा पोखरातिर लाग्ने गरेका छन् । पशुपतिनगरभन्दा करिब ५० किलोमिटरमा रहेको दार्जिलिङ बर्सेनि हजारौं पर्यटकले खचाखच रहन्छ । त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरछेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन् ।

झापा–इलाम सीमा जोरकलसस्थित पर्यटन सूचना केन्द्रका अनुसार बर्सेनि १६ हजारभन्दा धेरै पर्यटक इलाम घुम्न आउँछन् । मेची पहाडी पर्यटन क्षेत्र पूर्वाधार तथा विकास समितिले दार्जिलिङ आएका ५ प्रतिशत पर्यटकमात्र नेपाल ल्याउन सके इलामको आर्थिक विकासमा टेवा पुग्ने बताएको छ । समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने, ‘तेस्रो मुलुकका ती पर्यटक इलाम भिœयाउने नाका चाहिँ पशुपतिनगर नै हुँदा धेरै सहज हुन्छ ।’

प्रकाशित: १४ माघ २०७३ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App