२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

अस्ट्रेलियामा नेपाल महोत्सव

प्रवासमा नेपालीहरूले आफ्नो नेपाली संस्कार  संस्कृतिअनुसार चाडपर्वसँगै यहाँका स्थानीय पर्वहरू मनाउँदै आएका छन्।  

सन् २००६ बाट सिड्नीमा सुरु भएको प्रत्येक दुई दुई वर्षमा हुने नेपाल महोत्सव यो वर्ष अस्ट्रेलियाका आठ वटै राज्यमा सम्पन्न भएका छन्। यस्ता महोत्सव नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यले आयोजना गरिएको आयोजक एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ बताउँछन्। नेपालीको उपस्थिति बढेसँगै नेपालको कला र संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटनको प्रवर्धन गर्ने मुख्य लक्ष्य भएको गुरुङ बताउँछन्। गत मार्च १८ मा दक्षिण अस्ट्रेलियाको एडिलेडमा सुरु भएको महोत्सवमा सहभागी अस्ट्रेलियन नागरिक अमेलिया जोन्स नेपाली खाना मम खान मेलामा आएको बताइन्। उनले बिस्तारै नेपालबारे बुझ्न थालेको तर विगतमा नेपाल भनेको भारतको एउटा सहर भन्ने बुझाइ रहेको बताउँदै आगामी केही वर्षभित्र काठमाडौं जाने इच्छा पोखिन्। आफ्ना दुई बच्चासहित महोत्सवमा आएका जेम्स स्मिथले नेपाल भ्रमण गरेको बताउँदै आफ्ना बच्चाहरूलाई पनि हिमाल देखाउन लाने बताए।

सन् २०२१ को जनगणनामा नेपालीको संख्या १ लाख २२ हजार ५०६ देखिएको थियो तर अहिले २ लाखभन्दा बढी नेपाली अस्ट्रेलियामा रहेको अनुमान गरिन्छ। महोत्सवहरूमा साना सहरहरूमा गैरनेपालीको उपस्थिति राम्रो हुने गरेको एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल बताउँछन्। उनी ठुला सहरमा नेपालीहरूको मेला जस्तो भए पनि साना सहर एडिलेड, होवार्ट, पर्थ, डार्बिनमा गैरनेपालीको पनि उपस्थिति तुलनात्मक रूपमा राम्रो रहेको बताउँछन्। कार्यक्रममा स्थानीय राजनीतिक नेतृत्वका हिसाबले पनि सहभागिता बढ्दै गएको छ। कुइन्सल्यान्डमा डेपुटी प्रिमियर स्टिवन माइल, पश्चिम अस्ट्रेलियामा डेपुटी प्रिमियर रोजरकुक, तास्मानियामा मन्त्री एल्सी आर्चर उपस्थित भएका थिए भने दक्षिण अस्ट्रेलियामा प्रिमियर पिटर मालिनौस्कस उपस्थित हुने तयारी गरे पनि अन्तिममा बेलायतमा सुरक्षा सम्बन्धी कार्यक्रममा जानु परेपछि भिडियो सन्देश पठाएका थिए। महोत्सवमा पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटिसन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलका विपक्षी दलका उपनेता जिङ ली, संसद् सदस्यहरू, विभिन्न नगरका मेयरहरूको उपस्थिति रहेको थियो।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा फेब्रुअरी ११ मा भएको महोत्सवमा पन्ध्रभन्दा बढी देशका राजदूत उपस्थिति थिए। अस्ट्रेलियाका लागि नेपाली दूतावासका डेपुटी चिफ मिसन कुलबहादुर मगर नेपाल महोत्सव नेपाल प्रवर्धनका लागि निकै महत्वपूर्ण रहेको बताउँछन्। उनले सीमित स्रोतसाधनका कारण दूतावासले धेरै सहयोग गर्न खोजे पनि नसकेको बताउँदै क्यानबेराको महोत्सवमा राजदूतहरूलाई उपस्थितिको पहल कदमी लिएको जसले पर्यटनका लागि महत्वपूर्ण हुने अपेक्षा गरेको बताउँछन्।  

एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र ओली नेपाल महोत्सव सुरु गर्दाका दिनमा नेपालको पर्यटनसहित काष्ठकला हस्तकलासहितको व्यापारसमेत प्रवर्धन गर्ने सोचबाट सुरु गरिएको बताउँछन्। उनले २००९ मा दुई दिने कार्यक्रम गर्ने सोच बनाएर तत्कालीन उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश जोशी हुँदा व्यापार मेलाजस्तो कार्यक्रम बनाए पनि नेपालबाट अपेक्षाकृत सहयोग नभएकाले एक दिनमा सीमित गर्दै लगेको बताउँछन्।

अस्ट्रेलियाका लागि नेपाली दूतावासका डेपुटी चिफ मिसन कुलबहादुर मगर नेपाल महोत्सव नेपाल प्रवर्धनका लागि निकै महत्वपूर्ण रहेको बताउँछन्। उनले सीमित स्रोतसाधनका कारण दूतावासले धेरै सहयोग गर्न खोजे पनि नसकेको बताउँदै क्यानबेराको महोत्सवमा राजदूतहरूलाई उपस्थितिको पहल कदमी लिएको जसले पर्यटनका लागि महत्वपूर्ण हुने अपेक्षा गरेको बताउँछन्। 

२००६ मा सिड्नीबाट सुरु गरेर दुई दुई वर्षको अन्तरालमा हुने नेपाल महोत्सव यस वर्ष तास्मानिया र राजधानी क्यानबेरामा समेत थप सुरु गरिएसँगै आठवटै राज्यमा सम्पन्न भएको छ। जसमा २०२२ जुन ४ नर्दन टेरोटेरीको डार्बिन, सेप्टेम्बर १० भिक्टोरियाको मेलबर्न, नोभेम्बर ६ तास्मानियाको होबार्ट, नोभेम्बर १४ कुइन्सल्यान्डको ब्रिसबेन, नोभेम्बर १९ न्यु साउथ वेल्सको सिड्नी, नोभेम्बर २६ पश्चिम अस्ट्रेलियाको पर्थ, २०२३ फेब्रअरी ११ राजधानी क्यानबेरा र मार्च १८ दक्षिण अस्ट्रेलियाको एडिलेड रहेका छन्। एनआरएनए अस्ट्रेलियाको वर्तमान कार्यसमितिको कार्यकालमा आठवटा सहरमा भएका महोत्सवमा नेपाली रकम १० करोडभन्दा बढी खर्च भएको कोषाध्यक्ष पोखरेल बताउँछन्। उनी महोत्सव धेरै हुनुमा नेपाली व्यवसायीहरूको आर्थिक क्षमता बढ्नु पनि कारण रहेको बताउँछन्। उनले खर्चको ८० प्रतिशतमा नेपाली व्यवसायीको सहयोग भएको बताउँछन्। नेपालीहरूको संख्या बढेसँगै विभिन्न राज्य सरकार र स्थानीय निकायहरूले पनि आर्थिक सहयोग गर्न थालेका छन्। नर्दन टेरोटेरी सरकारले प्रत्येक वर्ष गर्ने गरी तीन वर्षका लागि नब्बे हजार अस्ट्रेलियन डलर नै छुट्टाएको थियो भने हालै सम्पन्न साउथ अस्ट्रेलियाको महोत्सवका लागि ४२ हजार अस्ट्रेलियन डलर सहयोग गरेको थियो। अन्य राज्यमा पनि सरकारी सहयोग रहेको थियो। नेपाल महोत्सव, डार्बिनलाई त्यहाँको सरकारले वर्षको उत्कृष्ट कार्यक्रम भनेर अस्ट्रेलिया डेमा सम्मानितसमेत गरेको थियो।

कार्यक्रममा राजनीतिक नेतृत्वको उपस्थिति र आर्थिक सहयोगले नेपाली समुदायप्रति यहाँ चासो बढेको देखाउने अध्यक्ष गुरुङ बताउँछन्।

अध्यक्ष गुरुङ थप्छन्, ‘नेपालमा सबै जात्रा हेर्न वर्षभरि कुर्नुपर्छ। यहाँ एकै ठाउँमा सबै जात्रा हेर्न पाउँछांै। यसले अस्ट्रेलियामा हुर्केको नयाँ पुस्ता मात्र होइन, नेपालमा कक्षा १२ सकेर आएका कतिपय युवाका लागि पनि नौलो हुने सामग्री प्रदर्शनीमा राखिएको बताए। सबै सहरमा नेपाल हाउस नाम दिएर नेपालका महत्वपूर्ण सम्पदा पशुपति, धरोहरा, स्वयम्भूदेखि कुमारी, लाखेसम्म प्रदर्शनमा राखिएका थिए। नेपाली परम्परागत बाजादेखि विभिन्न सांस्कृतिक वेशभूषालगायतका डमीहरूको प्रदर्शन गरिएको थियो।  

प्रकाशित: २ वैशाख २०८० ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App