१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सेयरबजार तताउन‘बुलरेस’

काठमाडौं-सेयरबजार निरन्तर ‘बियरिस लय’ मा ओरालो लागेका बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भने बुलरेस आयोजनामा जुटेको छ।

बजार घट्दो लयमा रहेकै बेला लगानीकर्तालाई सकारात्मक सन्देश दिन नेप्सेले बुलरेस आयोजना गर्न लागेको हो।

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से लगातार घटेर मंगलबार १५ सयभन्दा तल आएको छ। पाँच महिना अन्तरालमा नेप्से करिब ३८५ बिन्दुले घटेको छ तर नेप्सेले भने तेस्रो नेप्से कर्पोरेट बुलरेसको आयोजना गर्दै छ।

सेयर लगानीकर्ता ‘बुल’ कै प्रतीक्षामा हुने भएकाले बुलरेस आयोजना गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रबन्धक सीताराम थपलियाले मंगलबार नागरिकलाई बताए ।

‘खेल माध्यमबाट सर्वसाधारणलाई सेयरबजारप्रति आकर्षित गर्न बुलरेस आयोजना गरिएको हो,’ उनले भने, ‘तीन वर्षदेखि यस्तो खेल आयोजना गर्दै आएका छौं ।’

नेप्सेले २३ गते बुलरेस आयोेजना गर्न लागेको जानकारी पनि महाप्रबन्धक थपलियाले दिए । ‘पुँजीबजारमा लगानी गर्नेको चाहना बजार बुलरेसमा नै जाओस् भन्ने हुन्छ,’ उनले भने, ‘लगानीकर्ताको आकर्षक र कर्णप्रिय शब्द भएकाले पनि खेलको नाम बुलरेस राखिएको हो ।’

सर्वसाधारणलाई खेलका माध्यमबाट सेयरबजारप्रति चेतना जगाउन सकिन्छ कि भन्ने आशयले बुलरेस आयोजना गरिएको महाप्रबन्धक थपलियाले बताए । ‘बजार घटेको अर्थ दिने बियरिस शब्दले नकारात्मक अर्थ दिलाउने भएकाले पनि सकारात्मक शब्द बुलरेस राखिएको हो,’ उनले भने, ‘बुल लगानीकर्ताको चाहना बुझाउने शब्द भएकाले पनि यस्तो नाम राखिएको हो ।’

अहिले सेयरबजार घट्नुपर्ने ठोस कारण नभएको विश्लेषकको भनाइ छ । ५ सय र हजार दरका भारु नोटको प्रतिबन्धका कारण पनि सेयरबजार ओरालो लागेको उनीहरुको तर्क छ ।

अस्थिर राजनीतिक कारण पनि सेयर बजार घट्नमा प्रमुख भूमिका खेलेको लगानीकर्ताको भनाइ छ । सेयरबजारको पैसा घरजग्गामा गएकाले बजार घटेको अनुमान पनि गरिएको छ ।

बजारमा सेयरमूल्य घट्नुुमा माग र आपूर्तिले काम गरेको भिजन सेक्युरिटिज प्रालिका अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । ‘लगानीकर्ताले सेयरको माग कम गरेको र आपूर्ति बढी भएकाले बजार घट्न पुगेको हो,’ उनले भने, ‘बैंकको चुक्ता पुँजी बढाउन उनीहरुले बोनस र हकप्रद सेयर जारी गर्न पुगे । त्यसरी पुँजी वृद्धि गर्दा सेयर आपूर्ति बढी भयो र माग कम हुन पुग्यो जसले गर्दा सेयरको भाउ घट्न पुग्यो ।’

बजार निरन्तर ओरालो लाग्दा साना र नवप्रवेशी लगानीकर्ताको मनोबल कमजोर पारेको एक लगानीकर्ताले बताए । ‘बजारमा अहिले बियरिस मनोविज्ञान हाबी भएको छ,’ उनले भने, ‘केही दिन मनोविज्ञान कमजोर भएर बजार ओरालो लागेको हो तर धेरै समय यो टिक्छजस्तो लाग्दैन । बजार पुनः उकालो लाग्छ ।’

सेयर परिसूचक मात्र होइन, अहिले कारोबार रकममा समेत कमी आएको छ । केही महिनाअघिसम्म सरदर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेकोमा अहिले सेयर कारोबार दैनिक ५० करोड हाराहारी मात्र भइरहेको छ ।

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको एक विश्लेषकले बताए । ‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण बजार ओरालो लागेको हो,’ उनले भने, ‘अहिले सेयरबजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ ।’ बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) कमी हुँदा ब्याज बढ्ने गर्छ ।

ब्याजदर र सेयरबजार एकअर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन् । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ ।

ब्याजदर बढेकाले सेयरबजारमा गिरावट आएको भनाइ कतिपयको छ । यसअघि ब्याजदर कम थियो । सेयरको भाउ पनि बढेको थियो । अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा सिथिलता आउन थालेको छ ।

बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पु¥याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ ।

सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ । अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नु प¥यो र ? भन्ने जस्ता कुरा लगानीकर्ताले गर्न थालेका छन् । यसले गर्दा पनि सेयर बजार घट्न पुगेको ती विश्लेषकले बताए ।

बजारमा संस्थागत र ठूला लगानीकर्ता अझै ‘पर्ख र हेर’ अवस्थामा छन् । सेयरबजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ताले अत्तालिएर सेयर बिक्री गर्न थालेका छन् । बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ ।

बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ । यसले पनि पनि बजार घटाउनै मद्दत गरेको छ ।

सेयरबजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ ।

नेप्से १९ अंकले घट्यो

लगातार घट्दो क्रममा रहेको सेयरबजार मापक नेप्से मंगलबार पनि दोहोरो अंकले गि¥यो । अघिल्लो दिन साढे १६ अंकले घटेको नेप्से मंगलबार झन्डै १९ बिन्दुले ओरालो लाग्दा नेप्से सूचक १५ सय बिन्दुभन्दा तल झरेको छ ।  मंगलबार नेप्से १८.८९ बिन्दुले घटेर १४९५.९९ मा पुगेको छ। कारोबारमा आएका अन्य बाहेक सबै समूहका सूचक झरेपछि बजार दोहोरो अंकले ओरालो लाग्न पुग्यो।

सबैभन्दा धेरै बिमा समूहको १११ बिन्दुले झरेको छ र यस्तै जलविद्युतको ५२, उत्पादन ३०, होटल २०, वाणिज्य बैंक १९.६१, विकास बैंक १४ तथा वित्त ८ बिन्दुले ओरालो लागेका छन् र अन्य समूह भने २.६ बिन्दुले उकालो लागेको छ ।

१३७ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा भने १२ करोड बढीले उकालो लागेको छ।

 

 

 

 

 

 

प्रकाशित: ६ पुस २०७३ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App