१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था हुनुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थाअनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छैटौं प्रदेशसभाको उद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने ‘अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरू सकारात्मक देखिएका छन्। रेमिट्यान्स बढेको छ। विदेशी पर्यटकको संख्या बढेको छ। बैंकमा तरलता पनि बढेको छ। त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ।’

उनले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरूका लागि चुनौतीपूर्ण रहेको बताए।

उनले कोरोना भाइरसपछि मुलुकको आन्तरिक नीति र रसिया युक्रेन युद्धको कारणले देशको अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै व्याज बढायो भने तरलता समस्या समाधान हुने र आयात रोक्यो भने अहिलेको संकट पार लगाउन सकिन्छ भन्ने नीतिका कारण अहिलेको समस्या आएको बताएका छन्।

साथै उनले ती सबै नीतिहरू निष्प्रभावित रहेको र अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिएको बताएका छन्। ‘यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ। छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ,’ उनले भने।

उनले अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।

प्रकाशित: ८ चैत्र २०७९ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App