११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

गहुँ र गहुजन्य बस्तुको मूल्य दोब्बरले वृद्धि

भारतीय बजारबाट गहुँको आपूर्तिमा रोक लागेसँगै नेपाली बजारमा गहुँ र गहुँजन्य सामग्रीको भाउ ह्वात्तै बढेको छ। रुस–युक्रेन युद्धको कारण देखाउँदै गहुँ निकासीमा भारतले रोक लगाएको बहानामा नेपाली अर्थबजारमा गहुँको र गहुजन्नय उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको हो।

१५ दिनको अवधिमा उदयपुृरका बजारहरुमा गहुँ र गहुँजन्य सामग्रीको मूल्य अस्वभाविक रुपमा बढेको छ। दुईसाताको बीचमा गहुँको मूल्य डेढीदेखि दोब्बरसम्म वृद्धि भएको उपभोक्ताको गुनासो छ। १५ दिनअघि सदरमुकाम गाईघाटका बजारहरुमा प्रतिकिलो ४५ रुपैयाँमा पाइने गहुँ सातादिनअघि ६० रुपैयाँ प्रतिकिलो पुगेको थियो। सोमबारसम्म आइपुग्दा त्यही गहुँको मूल्य ठाउँ हेरी किलोको ७५ देखि ८५ रुपैँयासम्ममा किनबेच भइरहेको गाईघाटकी उपभोक्ता शर्मिला राईले बताइन्।

दुईसाताको अवधिमै डेढीदेखि दोब्बरसम्म मूल्य बढेको गहुँजस्तै गहुँबाट बनेका मैदा, आँटा र पिठो तथा चोकर (गाई, भैँसी र सुँगुर, बाख्रालाई खुवाइने) को भाउ पनि त्यही रफ्तारमा बढेको छ। अर्की उपभोक्ता पबित्रा चौधरीले सदरमुकाममा डेढीभन्दा बढी मूल्य वृद्धि भएको असर गाउँ र दिहातक्षेत्रका बजारमा थप चर्को हुन पुगेको बताइन्। गाईघाट बजारकै होलसेल पसलबाट खरिद गरेर बेच्न लाने भएकाले सदरमुकाम बाहिरका खुद्रा बजारमा गहुँ र गहुजन्य सामग्रीको मूल्य ठ्याक्कै दोब्बरसम्म बढेको उनले बताइन्।

स्थानीय उपभोक्ताहरुका अनुसार सरदर सबैखाले बस्तुको मूल्य वृद्धि हुँदै आएको भए पनि गहुँ र गहुजन्य सामग्रीको मूल्य भने अकल्पनीय बढेको हो। कोभिडकालदेखि नै उपभोग्य सामग्रीको मूल्य दिनदिनै बढ्दै आएको हो तर, गतवर्ष व्याज र यो वर्ष गहुँको मूल्य भने अत्याधिक बढ्दा उपभोक्ताले मार खानु परेको छ। गतवर्ष भरातले निकासा रोक्दा प्याजको मूल्य तेब्बर बढीसम्म वृद्धि भएको थियो। तर, प्याजको साईड इफेक्ट खासै नभएकोमा गहुँको त सर्वत्र असर परेको उपभोक्ताहरु बताउँछन्।

गहुँबाट बन्ने चोकर, मैदा, आँटा र पिठोजन्य सामग्रीहरु धेरैखालका उत्पादनहरु ह्ुने भएकाले यसको असर धेरैतिर मूल्य बढ्न गएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका पूर्व उपाध्यक्ष भरत चामलिङले बताए। गाईघाटमै बिके किराना सप्लायर्सका सञ्चालक रहेका चामलिङका अनुसार १५ दिनको अवधिमा गहुँ र गहुजन्य उपभोग्य सामग्रीको मूल्य दोब्बरसम्म वृद्धि भएको छ। भारतले गहुँ निर्यातमा गर्न रोक लगाउनुका साथै स्थानीय किसानले उत्पादन नगर्ने गरेका कारण ह्वात्तै मूल्य बढ्दा पनि सहनै पर्ने बाध्यता उपभोक्तालाई रहेको उनको भनाइ छ। १५ दिनको तुलनामा सातादिनअघि डेढी बढेको मूल्य अहिले दोब्बर पुगेको उनले बताए।

‘मैले दुईसाताअघि गहुँ प्रतिकिलो ४५/५५ ले बेच्थेँ, उताबाटै बढेर आएपछि सातादिनअघि ७०/७५ मा बेच्न थालियो’ उनले पछिल्लो मूल्य वृद्धिबारे भने ‘भर्खर आएको गहुँको मूल्य अनुसार हिजोदेखि किलोको ८०/८५ सम्म लिनु पर्ने अवस्था आएको छ।’ उनका अनुसार आँटा र मैदाको पनि दोब्बरसम्म मूल्य बढेको छ। १५ दिनअघि प्रति किलो ६० रुपैयाँ प्रतिकिलो पर्ने मैदा हिजोआज ९५ रुपैयाँ पर्न थालेको उनले बताए। त्यस्तै २ किलोको आँटा १५ दिनअघिसम्म १ सय ६० मा बेच्दै आएकोमा अहिले १ सय ९० पुग्ने गरी बढेको उनी बताउँछन्।

अर्का व्यापारी चन्द्रदेव साहले गहुँसँगै चामल र मसलाजन्य सामग्रीको पनि उत्तिकै मूल्य बढेको बताए। उनका अनुसार सातादिनअघि प्रतिकिलो ६० को मनसुली चामलको भाउ अहिले ७०–७५ पुगेको छ। त्यस्तै त्यसबेला ७०–७५ रुपैयाँ किलोको जिरा मनसुली चामलको मूल्य अहिले ९५/१०० सम्म पुगेको साहको भनाइ छ।

त्यसैगरी बजारमा मसलाको मूल्य पनि अस्वाभाविक बढेको व्यापारीहरु बताउँछन्। जिरा, धनिया, मरिचलगायत मसलाको भाउ पनि बढेकै अवस्था छ। १५ दिनअघि प्रतिकिलो ५ सय ५० प्रतिकिलोमा बिक्री बितरण भएको जिरा मसला अहिले ७ सय बढी पुगेको छ। व्यापारीहरुले बजारमा गहुँको मात्र मूल्य बढेको देखेको तर, समग्रमा सबै उपभोग्य सामग्रीको भाउ निरन्तर बढ्दै आएको गुनासो गरेका छन्। हरेक सातादिनमा खरिद मूल्य बढेर आउने गरेपछि बिक्री मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ।

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले भारतीय बजारको भर पर्नुपर्दा गहुँको अभावमा नेपाली बजारले मूल्य बृद्धिको मार खेप्नु परेको बताए। उनका अनु्सार उदयपुरमा गहुँ उत्पादन हुने भए पनि नगन्य मात्रामा खेती हुने भएकाले सबै बजारलाई बाह्य बजारकै भर पर्नुपर्ने अवस्था रहेको छ। उदयपुरमा गहुँ उत्पादन राम्रो हुने जमिन भए पनि कसैले व्यवसायिक खेती गर्ने गरेको नपाइएको अध्यक्ष रसाईली बताउँछन्।

‘उदयपुरमा धान, मकै, कोदोजस्तै गहुँ पनि राम्रो उत्पादन हुने जमिन छ’ अध्यक्ष रसाईलीले भने ‘तर, यहाँका किसानले कहिकतै व्यवसायिक गहुँ खेती लगाएको देखिदैन। धानपछि दोस्रो बढी उपभोग हुने अन्न भए पनि गहुँको खेती नगरेकै कारण यहाँका उपभोक्ता बाह्य आयातमा भर पर्नु पर्ने अवस्था हुँदा यस्तो अचाक्ली भाउ बढ्दा पनि सहनु परेको हो।’ उदयपुरमा धान र मकैको उत्पादन गणनायोग्य रुपमा हुने गरे पनि गहुँको उत्पादन गणनायोग्य नभईसकेको व्यापारीहरुको भनाइ छ।  

प्रकाशित: २३ माघ २०७९ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App