१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री

सिन्धुलीको कमलामाई नगरपालिका ३ का किसान जुनार टिप्दै। तस्बिर: अनिल भण्डारी/ नागरिक

सिन्धुलीमा यस वर्ष उत्पादन भएको जुनार हालसम्म ६० प्रतिशत बिक्रि भइसकेको छ। जुनारको मुख्य उत्पादन हुने सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित तिनकन्या बाहेक अन्य क्षेत्रका बगैचा रित्तिन थालिसकेको जुनार किसान बताउँछन्।

मंसिरको दोस्रो हप्तादेखि बजारमा आएको जुनार एक महिनामै झन्डै आधा बढी बिक्रिभएको थियो। यस वर्ष विगतको तुलनामा जुनार उत्पादन वृद्धि भएको र माघ अन्तिमसम्ममा जुनार बिक्रि भइसक्ने किसानहरु बताउँछन्। किसानले बोटबाटै ७० रुपैया प्रतिकेजीमा जुनार बिक्रि गरिहेका छन्। यस वर्ष ६० प्रतिशत बढी जुनार बिक्रि भइसकेको छ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार जोन कार्यालयका प्रमुख रमेश हुमागाईले भने, 'तिन कन्याको माझ कुभिण्डे क्षेत्रमा अझै जुनार बाँकी छ अन्य क्षेत्रका जुनार बिक्रिको अन्तिम चरणमा पुगेको छ।' किसानहरुले पछिल्लो समय रोपेका विरुवाले फल दिन थालेपछि यस वर्ष जुनार उत्पादनमा वृद्धि भएको हो। एक हजार मेट्रिक्टन जुनार नयाँ विरुवाले नै दिन थालेपछि जुनार उत्पादन बढेको कार्यालय प्रमुख हुमागाईले जानकारी दिए।

विपी राजमार्ग निर्माणभएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमाजाने सडक खुलेपछि जुनार किसानको राम्रो आम्दानीको स्रोत बनेको छ। व्यवसायीक रुपमा खेतीगर्दै आएका किसानले प्रत्येक वर्ष दश देखि २० लाख सम्म एकै किसानले आम्दानी लिदै आएका छन्।  तिन कन्याबाट दैनिक दश गाडी जुनार बजारमा आइरहेको छ, हुमागाईले नागरिकसँग भने, 'माघभरीमा सबै जुनार बिक्रि भइसक्ने अनुमान छ। बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराईसहित काठमाडौं लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजनको सुरुवातमै जुनारको कारोवार राम्रो हुन थालेको छ।'

कोदो मकैको तुलनामा जुनार खेतीबाट निकै राम्रो आम्दानी हुन्छ, कमलामाई नगरपालिका ३ का जुनार किसान जुद्ध राईले भने, 'वर्षको करिब १० देखि १२ लाख सम्म आम्दानी लिदै आएको छु।' सोही स्थानकी लक्ष्मी राई जुनारको आम्दानीले आयस्रोत बढ्दै गएको बताउँछिन् । 'जुनार बेचेर छोराछोरी पढाउन सहज भएको छ, दैनिक घरखर्च अन्य आम्दानी नहुँदा पनि सहजै चलेको छ', उनले भनिन्, 'सुरुवाती चरणमा थोरै लगाएका थियौ तर आम्दानी राम्रो हुने देखिएपछि जुनार विरुवा थपेर अहिले बगैचामा पाँच सय बढी बोटले फल दिन थालेको छ।'

उनले दैनिक ठूला बोरामा ६ बोरा जुनार बगैचाबाट बजारमा पठाउने गरेको बताइन्। उनले बगैचामा पहेलपुर जुनार देख्दा बगैचामा गएर काम गर्न समेत जागर चल्ने बताइन्। सडकको पहुच जुनार बगैचासम्मै पुगेकाले बजारको अभाव नभएपछि किसानले सोझै बोटबाटै महंगो मुल्यमा बिक्रि गर्न थालेका छन्। जुनार कृषकले यस वर्ष बोटबाटै राम्रो मुल्य पाएका छन्। बजारमा जुनार ८० देखि एक सय रुपैयाँसम्म प्रतिकेजीमा बिक्रि हुदै आएको छ।

यसवर्ष सिन्धुलीमा जुनार बिक्रिबाट झन्डै ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। जिल्लामा एक हजार ४५ हेक्टर जमिनमा जुनारको व्यवसायीक खेती हुँदै आएको छ। यस वर्ष सिन्धुलीमा १० हजार पाच सय मेट्रिक्टन जुनार फल्ने र जसमध्ये ७ हजार बढी मेट्रिक्टन जुनार बजार बिक्रि हुने अनुमान गरिएको छ। अन्य जुनार कोसेली पठाउने तथा किसान आफैले खाने भएकाले सातह जार मेट्रिक्टन मात्रै जुनार बजारमा पुग्ने भएको हो।  

प्रकाशित: ८ माघ २०७९ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App