६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्‍यो

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको छ। गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो।  

चालु आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ भने ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ।  

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ। प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२.०५ प्रतिशत छ। गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो।  

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुुनु ठूलो उपलब्धि भएको बताए । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले बताए।

‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो’, घिसिङले भने ‘हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन, र फिडर लाइनहरूको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा हो।’  

जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए।  

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोग गर्न प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो। गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ।  

सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरू मध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको मंसिरसम्ममा समग्र विद्युत् चुहावट १२.८० प्रतिशत छ। अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो। सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४३.८२ प्रतिशत थियो।

प्रकाशित: ६ माघ २०७९ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App