५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

अमरसिंहचौरमा पोखरा महोत्सव शुरु

यहाँस्थित अमरसिंहचौरमा बुधबारदेखि पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा महोत्सवको एघारौं संस्करण शुरु भएको हो। माघ ९ गतेसम्म जारी रहने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे।

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले कोरोनापछि थलिएको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए। ‘स्थानिय उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउँछ,’ उनले भने, ‘अनि कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न पनि यस्तो महोत्सवले महत्वपूर्ण योगदान दिन्छ।’

 तेह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेका छन्। महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघसंस्थाको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी लगायतका स्टल राखिएका छन्। यसैगरी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती सँगै कृषिका गतिविधि पनि महोत्सव स्थलका स्टलमा रहनेछन्।

महोत्सवमा दिउँसो लोकदोहोरी, साँझमा लाईभ कन्सर्ट आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ। महोत्सवको मुख्य आकर्षणका रुपमा घोड सवार र टिकटक प्रतियोगिता आयोजना हुने क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए। त्यसका अलावा लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था, ‘भिआर नाइन डी’ लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु पनि महोत्सवमा विशेष आकर्षणका रुपमा रहने उनले बताए। 

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने महोत्सवको उद्देश्य रहेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। त्यस्तै, अर्थतन्त्र चलायमान गराउँदै रोजगार सिर्जना गर्ने, क्षेत्रगत विकासमा टेवा पु¥याउने, उद्योगको प्रवद्र्धन गर्ने, कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सघाउनेपनि महोत्सवको उद्देश्य रहेको उनले बताए।

प्रकाशित: २७ पुस २०७९ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App