मुम्बई- भारतका वायुसेवा कम्पनीहरूलाई आगामी दुई दशकभित्र थप १ हजार ८ सय ५० थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरिएको छ। अमेरिकी जहाज निर्माता कम्पनी अमेरिकाको बोइङले गरेको बजार अध्ययन (२०१६–२०३५) ले यस्तो प्रक्षेपण देखाएको हो। बोइङले २० वर्षभित्र भारतलाई आवश्यक जहाजको कूल मूल्य २ खर्ब ६५ अर्ब अमेरिकी डलरबराबर हुने जनाएको छ।
'भारतले एउटा बलियो व्यापारिक उड्डयन बजारलाई निरन्तरता दिँदै आएको छ र संसारकै सबैभन्दा धेरै आन्तरिक हवाई यात्रु चाप हुने ठाउँ पनि यही हो,' बोइङको एसिया प्रशान्त तथा भारत हेर्ने वरिष्ठ उपाध्यक्ष दिनेश केसकरले भने, 'भारतले हालै लागू गरेको नयाँ हवाई नीतिबाट हामीले यहाँका वायुसेवा कम्पनी र बजारमा अझै वृहत अवसर र विश्वास कायम रहेको देखिरहेका छौं।'
भारतजस्ता ग्राहकको आवश्यकता सम्बोधन गर्न बोइङले इन्धन किफायती जहाज उत्पादन विकासमा जोड दिएको उनले बताए। 'भारतीय आन्तरिक यात्रु चाप पनि पछिल्लो पाँच वर्ष उच्च दरले बढेको छ र सँगसँगै इन्धन मूल्य र विनिमय दरका कारण वायुसेवा कम्पनीका सञ्चालन लागत र नाफा बढिरहेको छ,' उनले भने।
केसकरका अनुसार न्यून इन्धन मूल्य र यात्रु चाप उड्डयन उद्योग पुनरुत्थानका प्रमुख योगदानकर्ता हुन्। यसैका कारण भारतीय आन्तरिक उड्डयन बजार नाफातिर फर्किरहेको छ। तै पनि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ सन् २०१४ मध्यबाट केही कमजोर भएकाले 'डराउनुपर्ने' अवस्था भने छ।
'बढ्दो यात्रु चाप, सञ्चालन लागतमा गिरावट र स्वस्थ प्रतिस्पर्धाले भारतीय उड्डयन क्षेत्रलाई नाफाउन्मुख गराउने छ,' केसकरले भने, 'यसको प्रत्यक्ष प्रभाव आन्तरिक उड्डयन बजारमा देखिन थालिसकेको छ।'
बोइङको प्रक्षेपणअनुसार दुई दशकभित्र १ हजार ५ सय ६० जहाज 'सिंगल एस्ले' (न्यारो बडी) हुने र बाँकी हिस्सा ठूलो आकार (वाइड बडी) ले ओगट्ने छ। घट्दो इन्धन मूल्य, हवाई यात्रा गर्ने भारतीयको संख्या वृद्धि र विमानस्थल पूर्वाधारमा सुधारका कारण थप जहाज आवश्यक पर्ने भएको हो।
भारतीय नागरिक उड्डयन कार्यालयका अनुसार सन् २०१५ मा हवाई यात्रु चाप वृद्धि दर ८ दशमलव ६ प्रतिशत थियो। यो भनेको संसारकै सबैभन्दा धेरै वृद्धि दर हो। त्यस्तै आन्तरिक हवाई यात्रु २०१५ यता २१ प्रतिशतले बढेका छन्। सम्पूर्ण उडानको ६० प्रतिशतभन्दा बढी हिस्सा सस्तोमा उडान गर्ने बजेट एयरलाइन्सले ओगटेका छन्।
बोइङका अनुसार २० वर्षभित्र भारतलाई ९० र त्यसभन्दा कम सिट भएका क्षेत्रीय जहाज (रिजनल जेट) १० थान चाहिने छ। यसको मूल्य १ अर्ब डलरबराबर हुने छ। त्यस्तै ९० देखि २ सय ३० सिटसम्मका सिंगल–एस्ले जहाज १ हजार ५ सय ६० थान आवश्यक पर्ने छ। यसको कूल मूल्य १ खर्ब ८० अर्ब डलरबराबर हुने छ। त्यसैगरी २ सयभन्दा बढी सिट क्षमतामा जहाज २ सय ८० थान चाहिने छ जसको मूल्य ८५ अर्ब डलरबराबर हुने छ।
केसकरका अनुसार २०१३ अक्टोबरदेखि हवाई इन्धनको मूल्यमा ५३ प्रतिशतले गिरावटा आए पनि भारतीय वायुुसेवा कम्पनीले अमेरिकी वायुुसेवा कम्पनीको भन्दा अहिले पनि इन्धनमा ५० प्रतिशतभन्दा बढी मूल्य चुक्ता गरिरहेका छन्। सञ्चालन लागतमा इन्धनको हिस्सा २०१३ जनवरीको ४९ प्रतिशतबाट २०१६ को फेब्रुअरीमा आइपुग्दा २३ प्रतिशतमा झरिसकेको छ।
भारतमा ल्यान्डिङ र नेभिगेसन शुुल्क भने सञ्चालन लागतको अनुपातमा विस्तारै वृद्धि भइरहेको छ। भारतमा ल्यान्डिङ (अवतरण) शुल्क युरोपमा भन्दा सस्तो भए पनि उत्तर अेमेरिका तथा ल्याटिन अमेरिकाको दाँजोमा भने उच्च रहेको केसकरले जानकारी दिए।
प्रकाशित: १६ श्रावण २०७३ ०५:२७ आइतबार