२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सुप्रिम सहकारी संकटग्रस्त

बचतकर्ताबाट उठाएको रकम अपचलन गर्दै आएको सुप्रिम सहकारी संकटग्रस्त बनेको छ। बुटवलको राजमार्ग चौराहमा रहेको सहकारीले गैरसदस्यलाई विनाधितो ऋण प्रवाह गरी मापदण्ड विपरीत आर्थिक कारोबार गर्दा संकटग्रस्त बनेको हो।

सहकारी संकटग्रस्त बनेपछि बचतकर्ता आत्तिएका छन्। अहिले सहकारीमा दैनिक सयौं बचतकर्ता पैसा फिर्ता लिन लाइन लागेका देखिन्छन्। सहकारीले लाखौं रकम बचत गरेका सदस्यलाई दश, पन्ध्र हजारको चेक दिएर टारिरहेको छ। मापदण्ड विपरीत बचतकर्ताबाट संकलन गरेको बचत बिना धितो मिटर ब्याजीलाई लगानी गर्दा सहकारी संकटमा फसेको श्रोतको दाबी छ।

सहकारी ऐनबमोजिम सहकारीहरूले आफना सदस्यलाई मात्रै ऋण प्रवाह गर्न पाउँछन्। सुप्रिमले भने काठमाडौ शैलीको नाम दिएर सदस्य नै नरहेका र कार्यक्षेत्रभन्दा बाहिर काठमाडौका व्यक्तिहरूलाई समेत बिना धितो लगानी गर्ने गरेको बताइएको छ।

सहकारीका सञ्चालकहरू पनि बिना धितो ऋण प्रवाह गर्दा संकटग्रस्त बनेको स्वीकार गर्छन्। सहकारीका अध्यक्ष ओम गुरुङले ऋण लगानी नउठेपछि बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या भइरहेको बताए।

गुरुङले घुमाउरो पाराले बिना धितो ऋण प्रवाह भएको स्वीकार गर्दै भने ‘ऋणीलाई दिएको रकममा २५ प्रतिशतको मात्रै जोखीमयुक्त (बिना धितो)को लगानी गरिएको हो सबै होइन’। गुरुङले एक, डेढ साता भित्रै ऋणीबाट ५/६ करोडको सम्पत्ती लिलाम गरेर पैसा असुल्ने तयारी भइरहेको पनि नागरिकलाई बताए।

सुप्रिमले रूपन्देही र कपिलवस्तुका ५०/६० जना कर्मचारी (संकलक) परिचालन गरी मुख्य शहर र ग्रामीण क्षेत्रबाट दैनिक बचत संकलन गर्दै आएको थियो। रूपन्देही र कपिलवस्तुबाट जम्मा गरिएको ठूलो रकम काठमाडौका गैर सदस्यलाई विना धितो लगानी गरेको श्रोतको दाबी छ।

बचत रकम काठमाडौंका कतिपय मिटरब्याजीलाई समेत लगानी गरिएको पनि बताइन्छ। अध्यक्ष गुरुङले भने काठमाडौंका व्यवसायी वा मिटरब्याजीलाई लगानी नगरेको दाबी गरे। सहकारीले यहाँका बचतकर्तासँग जम्मा गरेको पैसा गैरसदस्यलाई काठमाडौंमा लगानी गरेको साँचो हो? भन्ने प्रश्नको जवाफमा उनले सुप्रिमको चेक काठमाडौंका केही सहकारीमा चल्ने र काठमाडौंका केही सहकारीका चेक सुप्रिमको बुटवल कार्यालयले चलाइदिने गरेको अनौठौ जवाफ फर्काए।

बुटवल कार्यालय खोलिए पनि सुप्रिमको मूल तालाचावि काठमाडौंमा रहेको दाबी सहकारीकै केही सदस्य बताउँछन्। सहकारीले सदस्यहरूलाई पालैपालो रकम फिर्ता दिने भन्दै टोकन बाँडेर मिति तोकी दिएको छ तर टोकन सिष्टममा पैसा फिर्ता दिए पनि उसले लाखौं बचत गरेका सदस्यहरूलाई दश, पन्ध्र हजार दिएर थुमथुम्याउने गरेको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्रामका एक जना बचतकर्ताले दैनिक २ हजारका दरले ४४४ दिन बचत गरेको ४ लाख ७८ हजार ब्याजसहित फिर्ता हुनुपर्नेमा एक रूपैँया नपाएको बताए।

खाता म्याचुअर्ड भएपछि व्याजसहित पाउनुपर्ने रकम माग्न जाँदा रित्तै फर्कनु परेको बुटवलको एक स्कुलमा शिक्षक रहेका ती बचतकर्ताले बताए। सहकारीका सञ्चालकले माघसम्म पैसा फिर्ता दिने आश्वासन दिएर टार्ने गरेको उनले बताए। त्यसो त उनका छिमेकीको ३७ लाख रूपैयाँ सो सहकारीमा फसेको पनि उनले बताए।

बुटवल ८ सुक्खानगरका प्रेम पंगेनीले आफ्नी छोरी र श्रीमतीको नाममा गरेको दैनिक बचत रकमबाट गत मंसिरमा एक लाख रूपैयाँ झिक्न जाँदा रित्तै फर्काइदिएको गुनासो गरे। आफ्नो पैसा सहकारीले अलपत्र पारीदिएपछि पसलमा सामान थप्न अरूसँग हात फैलाउनु पर्ने अवस्था आएको दुखेसो गरे।

सहकारीका अध्यक्षले टोकन बाँडेर पालैपालो पैसा फिर्ता दिइरहेको बताए पनि पैसा लिन जाँदा कहिले कार्यालय बन्द हुने कहिले सिष्टम बिग्रेको भनेर रित्तै फर्काउने गरेको गुनासो बचतकर्ताहरूले गरेका छन्।

बचतकर्ताहरूका अनुसार अहिले दैनिक ५ देखि २५ हजारका दरले दैनिक दुई/अढाई लाख रूपैयाँ पैसा फिर्ता दिइएको छ तर अध्यक्ष गुरुङले भने दैनिक ५/६ लाखको दरले बचतकर्ताको रकम फिर्ता गरिरहेको दाबी गरे।

यो सहकारीका संस्थापक अध्यक्ष जीवी राई हुन्। उनी हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायमा संलग्न थिए। अहिले उनी सहकारीको संरक्षक छन्। नियामक निकायद्वारा नियमन, अनुगमन हुन नसक्दा पछिल्लो समय सहकारीहरूमा बेथिति बढ्दो छ। 

प्रकाशित: २५ पुस २०७९ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App